- सुरज प्याकुरेल
आज अप्रिल ३ अर्थात प्रेस स्वतन्त्रता दिवस । साथीहरु फेसबुकमा शुभकामना लिन-दिन व्यस्त छन् । पत्रकार महासंघले विभिन्न कार्यक्रम गरिरहेको छ । प्रेस स्वतन्त्रताका ठूलाठूला कुरा गरिँदैछ । तर छातीमा हात राखेर एक पटक सोचौं त, के स्वतन्त्र छ हाम्रो प्रेस जगत ? के स्वतन्त्र छौं हामी ? के बोल्न र लेख्न सुरक्षित छौं हामी ? के हामीले मनाउने प्रेस स्वतन्त्रता दिवसको औचित्य हाम्रो न्यूज डेक्समा छ त ?
स्वतन्त्र छैन नेपाली प्रेस ! भोको पेटमा कसरी स्वतन्त्र बनोस् ?
हुन त गणतन्त्रको घोषणासँगै नेपाली मिडियाले फड्को मारेको छ । साही शासन कालमाजस्तो मिडियामाथि दमन छैन । राजाले गरेको जस्तो दमन नभएपनि नेपाली प्रेस जगत स्वतन्त्र छ जस्तो मलाई लाग्दैन । शासनमा व्यक्ति फेरिएपनि प्रवृति फेरिएको छैन । अहिलेपनि घरी गुण्डाको नाम जोडेर त घरी राजनीतिक आड लिएर पत्रकारहरुको घांटी निमोठिने क्रम रोकिएको छैन । अझैपनि समाचार लेखिएकै कारण पत्रकारहरु सुरक्षित छैनन् । राजनीतिक अवस्थामा देशले ठूलो फड्को मारेपनि पत्रकारहरुको स्थिति उस्तै उस्तै छ ।
अर्कोतर्फ भोको पेटको सवाल छ । सरकारले न्यूनतम पारिश्रमिक १९५०० तोकेको छ । काठमाडौँको यो महंगीमा एउटा श्रमजीवी कसरी बाँचोस १९५०० मा ? त्यसमाथिपनि ३ देखि ६ महिनामा तलव आएपछि । हामीले देखेकानै छौं, पत्रकारका नेताहरुनै पीडीत छन् यो समस्याबाट ! हामी भुराभुरीहरुको त के कुरा भयो र ? भोको पेटमा कहाँ स्वतन्त्र हुन्छ र प्रेस ? स्वतन्त्र हुन खोज्दा घरी श्रीमतीको फरियाले जिस्काउँछ होला, घरी छोरीको फाटेको जामाले । अनि त उही त हो नि ‘खोक्रो स्वतन्त्रता !’
हामी अझ देशमा यस्तो पत्रकारिताको अभ्यास गरिरहेका छौं कि हामी पत्रकार कम र कुनै पार्टीको अन्धभक्त बढी बनीरहेका छौं । त्यहि पत्रकार महासंघको नेता हुन पनि कुनै पार्टीको झण्डा उचाल्नुको विकल्प छैन । अनि कहाँ छ स्वतन्त्र हाम्रो प्रेस ? कहाँ स्वतन्त्र छौं हामी ?
पिंजडाभित्रको पत्रकारिता !
पत्रकार महासंघले आयोजना गरेको प्रभातफेरीबाट फर्किएर एक पटक न्यूजडेस्कमा गएर सोच्नुहोस्, ‘के तपाईं समाचार लेख्न स्वतन्त्र हुनुहुन्छ ? उदाहरणका लागि, ‘एनसेलले अनेक तरिकाले जनता ठगेको समाचार आइरहेको छ । के यस विषयमा एनसेलले मासिक लाखौँको विज्ञापन दिइरहेको तपाईंको मिडिया मालिकलाई ‘कन्भिन्स’ गर्न सक्नुहुन्छ ? के तपाईंले लेखिएका समाचार तपाईंकै सोच अनुसार प्रकाशित हुन्छन् त ? हुँदैनन्। पक्कै हुँदैनन् । अनि कहाँ स्वतन्त्र हुनुहुन्छ तपाईं !
प्रायोजकका विरुद्ध समाचार लेखेकै कारण मिडिया हाउसहरुबाट निकालिएका पत्रकारहरुको कथाका लिष्ट लामै छन् । आचारसंहिता मिचेर समाचार लेख्न नमानेकै कारण मिडिया हाउसबाट निकालिएका उदाहरण धेरै छन् । समाचार लेखेकै कारण कतिपय आफ्नै साथीहरुसंग बोलचालनै बन्द गर्नुपरेको यथार्थपनि हामीसंगै छन् । एउटा मिडिया हाउसले समाचार लेख्दा अर्को मिडिया हाउसको ‘प्रेसर’ आउने गरेको तथ्यपनि हामी बीच नै छन् । कतै स्वतन्त्रताको गफ नै पिंजडाभित्र बाट दिनुपरेको छ भने कतै स्वतन्त्रताका नाममा मनलाग्दी बढेको हामीले देखेका छौं । ठुलाले जे गरेपनि हुने र साना सधैं मिचाईमा परिरहनेपनि हामीले देख्दै, भोग्दै आएका छौं । अनि कहाँ छौं हामी स्वतन्त्र ?
धम्कीको राजनीतिमा रुमल्लिएको पत्रकारिता
अर्थ सरोकार डटकममा मैले कुनै दिन अपराधमा संलग्न एक महिलाको खबर लेखें । तर आफ्नो गृह जिल्ला इलामकी केटि भएकाले समाचारको विषयलाई लिएर मिडियामालिकलेनै मलाइ धम्काए । इलामको चियावारी एफएमका मालिकसमेत रहेका कांग्रेसी नेता डम्बर खड्काले मलाइ मनपरी बोले । आफु घैंटेको पार्टनर भएकाले जुनसुकै बेला जेपनि हुनसक्ने भन्दै धम्काए ।
एउटा मिडियामालिकले बोल्ने शब्द यहि हो ? कस्ता साहुहरुको बीचमा हामी स्वतन्त्र पत्रकारिताको बहस गर्दैछौं ? त्यो बेला मैले निर्भिक भएर समाचारलाई निरन्तरता दिएँ । तर कांग्रेसका नेता भएकै कारण उनलाई सतर्क बनाउनुको सट्टा मलाइ फकाउने काम भयो । ‘आफ्नै पेशालाई दाउमा राखेर नेताको फुर्ती ललगाएर थर्काउने त्यस्ता कायरले फकाउन सक्ने म बच्चा हो र ?’ अरुको मिडियामा आएको समाचारमा त्यति बढी चासो राख्नेले आफ्नो न्यूज डेस्कमा के स्वतन्त्रता दिएको होला र ?
यस्तै एयरपोर्टमा भएको भ्रष्टाचारबारे मैले समाचार लेख्दा एयरपोर्टका केहि गुण्डाहरुले मलाइ आक्रमणको प्रयास गरे । रातोपाटीमा म काम गर्ने मैले आफ्नै समाचार लेख्नुपर्यो । यहाँ त पत्रकार कुनै राजनीतिक संगठनमा नजोडीइ पत्रकार नै नभईने रहेछ । त्यसविषयमा पनि कोहि बोलेनन् । किन कि धेरैलाई थाहा थियो । किनकि पत्रकारिताका आडमा दलाली गर्ने कोहि ढोंगीहरुले यस विषयमा नबोल्न दानापानी लिइसकेका थिए।
यी त प्रतिनिधि पात्र मात्र हुन् । कुनै कर्पोरेट हाउसबारे समाचार आउँदा समाचार रोकिदिनुपर्यो भनेर पत्रकारकै नेताले फोन गरेका छन् थुप्रै पटक । अनि मलाइ कसैले भनिदिनुहोस त हामी पताकार कहाँ स्वतन्त्र छौं ?’
यी त प्रतिनिधि पात्र मात्र हुन् । कुनै कर्पोरेट हाउसबारे समाचार आउँदा समाचार रोकिदिनुपर्यो भनेर पत्रकारकै नेताले फोन गरेका छन् थुप्रै पटक । अनि मलाइ कसैले भनिदिनुहोस त हामी पताकार कहाँ स्वतन्त्र छौं ?’