सशस्त्र युद्धको पृष्ठभूमिबाट शान्ति प्रक्रियामार्फत खुला राजनीतिमा प्रवेश गरेका माओवादी नेताहरू आआफ्नै ढंगले दसैं मनाउने तयारीमा छन् । धर्मनिपरेक्षतालाई मूल आधार मान्ने माओवादी नेताहरू कोही आमाबुबाको हातबाट टीका लगाउँदै छन् भने कोही टीका नलगाउने तर शुभकामना आदानप्रदान गरेर दसैं मनाउने सोचमा छन् ।
दसैंतिहार लगत्तै प्रदेश र संघको निर्वाचन मिति तोकिएकाले धेरै माओवादी नेता आफू निर्वाचन लड्ने क्षेत्रमा नै गएर शुभकामना आदानप्रदान गरेर चाडपर्व मनाउने तयारीमा छन् । माओवादी नेताहरू टीका लगाउनेलगायत धुमधाम भन्दा पनि सामान्य तरिकाले परिवारसँग भेटघाट गरेर दसैं मनाउने बताउँछन् ।पार्टी अध्यक्ष पुष्पकमल दाहालले दसैंमा टीका लगाउनेछैनन् । दसैंमा काठमाडौंमै रहने उनले परिवार तथा नेता कार्यकर्तासँग भेटघाट गर्ने तथा शुभकामना आदानप्रदान गरेर दसैं मनाउने सोच बनाएका छन् ।
‘उहाँले टीका लगाउनुहुन्न, मैले थाहा पाएदेखि लगाउनुभएको छैन,’ उनका छोरा प्रकाशले राजधानीसँग भने, ‘उहाँ दसैंमा काठमाडौंमा नै रहनुहुन्छ, परिवारसँग भेटघाट गर्ने तथा शुभकामना आदानप्रदान गरेर सामान्य तरिकाले दसैं मनाउनुहुन्छ ।’माओवादी केन्द्रका अध्यक्ष दाहाल मात्र होइन, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पनि दसैंमा टीका नलगाउने तर सामान्य रूपमा शुभकामना आदानप्रदान गरेर मनाउने तयारी गरेका छन् ।
माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले यो वर्षको दसैं जनतासँगै मनाउने योजना बनाएका छन् । पार्टीले उनलाई गोरखा–२ का लागि उम्मेदवारमा सिफारिस गरेपछि उनी दसैंमा गोरखा नै पुगेर शुभकामना आदानप्रदान गर्ने तथा जनतासँगै मनाउने सोच बनाएका छन् ।
‘दसैं विशेष ढंगले मनाउने गरिँदैन । बुबाआमा हुँदा अनुकूल मिल्दा टीका लगाउने गरिन्थ्यो, त्यो पनि गर्न पाइएन,’ नेता श्रेष्ठले भने, ‘गोरखाका जनतासँग शुभकामना आदानप्रदानमै यसपटकको दसैं बित्छ ।’माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल काठमाडौंको ललितपुरमा परिवारसँग शुभकामना आदानप्रदान गरेर दसैं मनाउने बताउँछिन् । ‘सामान्य तरिकाले दसैं मनाइन्छ, परिवारका सदस्य भेट गर्नेे, शुभकामना आदानप्रदान गरेर मनाउँछौं,’ उनले भनिन् ।
पार्टी सचिवालय सदस्य गोपाल किरातीले कहिल्यै पनि दसैंमा टीका जमारा लगाएका छैनन् । उनी भने यो वर्षको दसैं उम्मेदवार चयन गर्नमै बित्ने बताउँछन् । माओवादी सचिवालय सदस्य मणि थापा भने दसैं मनाउन गृह जिल्ला प्युठान पुग्नेछन् । ‘परिवार साथीभाइसँग शुभकामना आदानप्रदान गर्ने, संघ र प्रदेशको निर्वाचनका लागि पनि केन्द्रित हुने योजना छ,’ उनले भने, ‘ममी हुनुहुन्छ, उहाँको हातबाट टीका पनि लगाइन्छ ।’माओवादी नेताहरू युद्धकालमा आफूहरूले चाडपर्व मनाउन हुन्न नभनेको र त्यसको विरोध पनि नगरेको बताउँछन् । उनीहरू जनयुद्धकालमा टीका, जमरा लगाउने परिस्थिति नै नहुने र सन्दर्भ समेत नभएकाले आफूहरूले नमनाए पनि जनताले मनाएकामा कहिल्यै विरोध नगरेको बताउँछन् ।
‘त्यो समयमा टीका लगाउने, खुसियाली साटासाट गर्ने सन्दर्भ नै हुन्न थियो,’ थापा भन्छन् , ‘कहिलेकहीँ त दसैं आएको नआएको समेत थाहा हुन्नथ्यो ।’नेता किराती आफू भौतिकवादी निरपेक्ष दृष्टिकोण राख्ने भएकाले बुहधार्मिक, बहु सांस्कृतिक मूल्यमान्यताको सम्मान गर्ने बताउँछन् । माओवादी नेताहरूले दसैंमा टीका, जमरा लगाएर धुमधाम नमनाए पनि हिन्दूहरूको महान् पव दसैंलाई कुनै न कुनै रूपले ग्रहण गर्न थालेका छन् । विविध संस्कृति, धर्म, रीतिरिवाज तथा चाडपर्व राष्ट्रको गहना मानिए पनि पछिल्लोपटक भने भड्किलोपनातर्फ समेत उन्मुख छ ।
‘बहुधार्मिक, बहुसांस्कृतिक मुलुक भएको र विविध जातजातको बसोबास भएको मुलुकले विविध चाडपर्व, रहनसहन, रीतिरिवाज हुनु र एकले अर्कोलाई सम्मान गर्नु राम्रो विषय हो, नेता थापा भन्छन्, ‘तर हाम्रा चाडपर्वलाई सामान्य रूपमा मनाउन सक्नुपर्छ । उत्ताउलो, भड्किलो बन्न दिन हुन्न ।’ – राजधानी दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्