- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- २०७४ असोज ३१ अर्थ सरोकार डटकम अनलाइन पत्रिका संचालक कम्पनी शुभम् मिडिया प्रालिको प्रभु बैंकमा रहेको खातामा स्ट्याण्डर्ड चार्टड बैंकको चेक जम्मा भएको जानकारी एसएमएस अलर्टबाट आयो । उक्त चेक मार्फत १,११,१८७.५८ रुपैयाँ कम्पनीमा जम्मा भएको रहेछ । सोहि दिन कम्पनीले क्लियरिङमा पठाएको १११५० रुपैयाँ र ३३४५० रुपैयाँमध्ये ३३४५० रुपैयाँमात्र खातामा क्रेडिट भएको देखियो । कम्पनीका संचालकले शंका लागि आफ्नो लेखा जांच गरे ।
कम्पनीले क्लियरीङका लागि पठाएको चेकमध्ये कुनै पनि सो रकमको थिएन । पछिल्लो समय जानी जानी अर्काको खातामा पैसा हालिदिने र फलानोले मसँग यस्तो बार्गेन गर्यो भनेर उजुरी गर्ने कतिपय घटना घटेको सुनेका कम्पनीका संचालकले रकम जसको हो त्यसैको खातामा जानुपर्ने उसको अधिकारसमेत सोची त्यसपछि बैंकलाई खबर गरे । नभन्दै उक्त रकम अर्कै खातामा जानु पर्ने, झुक्किएर शुभम् मिडियाको खातामा आएको रहेछ । सिद्धार्थ कटेजले क्लियरिङका लागि पठाएको रकम शुभम मिडिया प्रालिको खातामा जम्मा भएको रहेछ।
किन हुन्छ यस्तो ?
प्रभु बैंक लिमिटेडका कोटेश्वर ब्रान्च मेनेजर गोविन्द नेपालका अनुसार सिष्टममा केहि समस्या भएकाले झुक्किएर यस्तो भएको हो । ‘झुक्किएर सिद्धार्थमा जानु पर्ने रकम शुभम् मिडिया प्रालिको खातामा गएछ, शुभम् मा जानु पर्ने रकम सिद्धार्थमा गएछ ।’ उनले भने । ‘त्यसो भए र क्लियरीङमा पठाएका सम्पूर्ण चेकहरुको विवरण फेरि हेर्नु पर्ने भयो होइन त ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘कहिलेकाही यस्तो हुन्छ । चनाखो रहँदाचाहिं राम्रो हो ।’ उनका अनुसार आफुले क्लियरिङका लागि पठाएको रकम खातामा आयो वा आएन भन्ने विवरण हेर्नु नै बुद्धिमानी हुन्छ ।
‘कहिलेकाहीं सिष्टममा समस्या देखिन्छ । कहिलेकाहीं मानवीय त्रुटीपनि हुन्छ । त्यसैले आफ्नो खाताको विवरण हेर्नु राम्रो हुन्छ ।’ उनले भने । उनले क्लियरीङ हाउसको नभई उक्त गल्ती आफ्नै कर्मचारीबाट भएको स्वीकारे । ‘गल्ती हाम्रैबाट भएको हो । हिजो सिष्टममा पनि समस्या थियो । त्यहि भएर प्रेसरमा काम गर्दा त्रुटी भइहाल्यो ‘
अभ्यासमा के छ ?
अर्काको जानुपर्ने रकम आफ्नो खातामा आएको थाहा नपाउँदा धेरैको रकम धेरै पटक अरुको खातामा जाने र आफ्नो खातामा आउने गरेको तथ्य देखिएको छ । धेरैले यस्ता कुराहरुमा वास्ता पनि गरेका हुँदैनन् । ‘हुन त हामीले आज यस्तो गल्ती भएछ भन्ने पत्ता लगाउँथियौं । तर खातावालाई अनुरोध गर्नुबाहेक हामीसँग विकल्प हुन्न थियो ।’ यसरी आफ्नो खातामा नआउनुपर्ने मोटो रकम झुक्किएर आयो र खातावालाले सो दिन सबै रकम झिकेर लग्यो भने के हुन्छ ? भन्ने हाम्रो प्रश्नमा ब्रान्च मेनेजर नेपाल भन्छन्, ‘त्यो बेला हामीसँग कुनै विकल्प हुँदैन ।’ यसरी झुक्किएर गएको रकम खातावालाले लग्यो भने त्यसलाई ‘क्यास शर्ट वा इरर’ भनी बुक गर्ने अभ्यास छ ।
बैंकले माफी माग्यो तर अनुमति मागेन
यसरी त्रुटी भएको भन्ने तथ्य हामीले बैंकका कर्मचारीलाई थाहा दिएपछि बैंकले माफी माग्दै स्पष्टीकरण पत्र समेत कम्पनीलाई पठाएको छ । तर कम्पनीले झुक्किएर उक्त खातामा क्रेडिट भएको रकम डेबिट गरी अर्को खातामा हाल्दा खातावालाको अनिवार्य अनुमति लिनुपर्ने थियो । तर बैंकले विना अनुमति नै उक्त काम गर्ने बताएको छ । ‘मैले अनुमतिपत्र दिनु पर्ने वा कतै सहि गर्नुपर्ने हुन्न ?’ भन्ने हाम्रो प्रश्नमा बैंकका व्यवस्थापक नेपाल भन्छन्, ‘त्यो हामी मिलाउँछौं ।’ अनुमति बिना नै एउटा खाताको रकम अर्को खातामा कसरी हाल्न मिल्ने हो, त्यो चाहिं उनी मेनेजर साप जानुन् ।’
सचेत रहनुहोस्, क्लियरिङमा पठाएको रकमबारे बुझ्नुहोस्
हुन त बैंक खातामा पठाएको रकम जम्मा भयो वा भएन भन्ने हेर्ने काम कम्पनीमा हुन्छ नै । त्यसमा केहि त्रुटीहरु देखिए ‘रिकन्सीलेसन’ समेत गरिन्छ । तर कतिपय एकल रुपमा चलाइएका कम्पनी वा लेखापाल नै नराखी संचालन भएका कम्पनीको हकमा यस्तो भएको थाहा नहुनपनि सक्छ । नेपालमा रहेका कम्पनीहरुमध्ये धेरै झोलामै अट्ने कम्पनीहरु पनि छन् जसलाई यस्तो भएको बारे थाहा नहुन सक्छ । वा निकै समयपछी थाहा पाउँदा पनि अनेकौं झन्झट त बेहोर्नु पर्छ नै व्याजपनि घाटा लाग्छ । त्यसैले आफैं सचेत हुँदा राम्रो हुन्छ ।