काठमाडौँ- रोशन न्यौपाने अर्थात साखा र एटिएम सञ्जालका हिसावले निजी क्षेत्रको सबैभन्दा ठूलो बन्न सफल भएको बैंकका कामु सीईओ । शंकरदेव क्याम्पसमा बिबिएस सकेर नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा चार्टड एकाउन्टेन्सी पढ्न भर्ना हुँदा उनीसँग पास भएपछि अडिट फर्म खोल्ने सोच थियो । सिएको दोश्रो तह पास गरेपछि सीएससीमा ‘आर्टिकलशिप’ (सिएको पढाइमा गर्नुपर्ने इन्ट्रनशिप- पंजीकृत प्रशिक्षण) गर्दा होस्, वा त्यसपछी एसआर पाण्डेको अडिट फर्ममा काम गर्दा होस्, उनीसँग सिए फर्म खोल्ने र अडिटर हुने ‘भिजन’ थियो । तर समयले उनलाई बैंकर बनायो । उनी बैंकिङ जागिरमा प्रवेश गरे । इन्टरनल अडिटरको रुपमा जुनियर अफिसर भएर बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनले त्यसपछि विभिन्न विभागको प्रमुख भएर जिम्मेवारी सम्हाल्न पाए । छोटो समयमा नै उनी नाम कहलिने बैंकर भए ।
बैंक अफ एसिया र एनआइसी बैंक बैंक ‘मर्ज’ भएर एनआइसी एसिया बैंक भएपछि उनको करियरको रफ्तार झन् अगाडी बढ्यो । २००६ सालमा सिए पास गरेका उनी २०१८ सम्म आइपुग्दा नेपालको नीजी क्षेत्रको सबैभन्दा ठूलो बैंकको कामु सीईओ भइसकेका छन् । यो १२ बर्षको करियरमा उनले जुन रफ्तारले प्रगति गरेका छन्, त्यो धेरैका लागि प्रेरणाको स्रोत त पक्कै छ नै, उनलाई आदर्श मान्नेहरुको भीड पनि सानो छैन । मिझासिलो व्यवहार, ‘फिट एण्ड फाइन’ जिउडाल, मिठो र प्रष्ट बोली भएका उनै रोशन न्यौपानेसँग आजको अंकमा हामीले उनको करियरका कुराकानी समेटेका छौं । यो कुराकानीमा हामीले एनआइसी एसिया बैंकका बारेमा त जरुर कुरा गरेका छौं नै, उनको पढाइदेखिको बैंकको कामु सीईओसम्मको यात्रालाई पनि समेट्ने प्रयास गरेका छौं । प्रस्तुत छ अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले एनआइसी एसिया बैंकका कामु सीईओ चार्टड एकाउन्टेन्ट रोशन न्यौपानेसँग गरेको कुराकानी ।
१. ‘रोशन न्यौपानेसँग अडिट फर्मको निकै राम्रो भिजन थियो’ भनेर तपाईंका साथीहरुले सुनाउँछन्, चार्टड एकाउन्टेन्सी उतिर्ण भएपछी बैंकिङमा करियर बनाउँछु भन्ने सोच कसरी आयो ?
खासमा मेरो सोच अडिट फर्म खोल्छु नै भन्ने थियो । राम्रो अडिटर बन्छु भन्ने नै थियो । तर अडिट फर्ममा काम गर्दा गर्दै बैंकको पनि अनुभव लिउँ जस्तो लाग्यो । यहि सोचले बैंकको जागिरे भएँ । मैले इन्टरनल अडिटरको रुपमा बैंकको जागिरको सुरुवात गरेको हुँ । जुनियर अफिसर पद थियो । त्यसपछी त बैंकमै रमाईयो । बैंकमै राम्रो काम गर्ने उत्साह बढ्यो । करियरमा त्यहि अनुसारको ‘ग्रोथ’ पनि भयो । त्यसपछी सिए फर्म खोल्न भन्दा पनि बैंकिङमै मन बस्यो । तर के चाहिं हो भने सिए पढ्दा देखि नै मेरो सोच राम्रो अडिटर बन्ने नै थियो ।
२. सिए पास भएको १२ बर्षमै एनआइसी एसियाजस्तो ठूलो बैंकको कामु सीईओ भइसक्नुभएको छ । कामु सीईओ हुन अलि चाँडो भएन र ?
मैले यसलाई समयको माग भन्छु । ढिलो चाँडो भन्दा पनि सायद यो आवश्यकता थियो । बैंकिङ करियरको सुरुदेखि आजसम्म आइपुग्दा मैले सानो मेहेनत गरेको छैन । सायद त्यसैको प्रतिफल हुनुपर्छ यो । चाँडो भएकोचाहिं होइन । तर जुन-जुन बैंकमा चार्टड एकाउन्टेन्टहरु सीईओ हुनुभएको छ, म कान्छो चाहिं हुँ । त्यहि भएर पनि धेरैले ‘अलि चाँडो’ भयो भन्नुभएको होला । तर मलाई त यो समयको स्वाभाविक कुरा लागेको छ ।
३. तपाईं बैंकको सीईओ हुँदा तर तपाईंका समकालीन साथीहरु तपाईंको बैंकको ‘अडिट’ माग्नसमेत हैसियत राख्दैनन् भन्ने चर्चा छ नि बजारमा ?
त्यस्तो होइन । अहँ मलाइ त्यस्तो लाग्दैन । मेरा समकालीन साथीहरुले धेरै राम्रो गर्नुभएको छ । उहाँहरु अहिले धेरै राम्रो राम्रो ठाउँमा उच्च अहोदामा हुनुहुन्छ । फर्म खोलेर बस्ने साथीहरुले पनि धेरै राम्रो गर्नुभएको छ । मेरा समकालीन साथीहरुसँग मेरो कुरा भइरहन्छ । उहाँहरुले धेरै राम्रो गर्नुभएको छ । सबै सेटल भएका छन् । काम गर्ने एरिया फरक होला, तर सबैले राम्रो गर्नुभएको छ ।
४. तपाईं कान्छो भएकै कारणले अरु बैंकमा सीईओ भएका सिएहरुले अलि पेल्न खोज्ने गरेका छन् भन्ने सुनिएको छ नि ! केहि समय अगाडी बैंकर्स संघका अध्यक्षले पनि त्यहि गर्नुभयो भन्ने चर्चा बाहिर आयो । कुरा के हो ?
हामी केहि फरक हिसावले बजारमा आयौं । आजको दिनमा हाम्रो ‘ग्रोथ’को रेसियो अरु बैंकको भन्दा निकै राम्रो छ । हामी हरेक कुरामा अब्बल हुँदै गएका छौं । साखा र एटिएम सञ्जालमा त हामी निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक भइसकेका छौं । डिपोजिटको मामलामा होस् वा बिजनेश ग्रोथका हिसावमा हामी अब्बल छौं । बजारको ठुलो हिस्सामा हाम्रो पक्कड छ । ‘एफ्टर अल’ यो ‘कम्पिटिसन’को मार्केट हो । त्यसो भएका हुनाले केहि स्वाभाविक ‘रिएक्सन’हरु आएका होलान् । त्यसलाई मैले स्वाभाविक रुपमा नै लिएको छु ।
५. तर एनआइसी एसिया बैंकले त अरु बैंकको डिपोजिट, लोन, स्टाफ केहि पनि तान्न छोडेन भन्ने आरोप अरु बैंकका सीईओहरुको छ नि ! यसलाई कसरी लिनुहुन्छ ?
राम्रो क्लाइन्ट, राम्रो डिपोजिट, राम्रो स्टाफ अन्त जाँदा आउने स्वाभाविक प्रतिक्रिया हो यो पनि । ‘तर एउटा क्लाइन्ट किन एउटा बैंक छोडेर अर्कोमा जान्छ ? डिपोजिट किन एउटा ग्राहकले एनआइसी एसिया बैंकमा राख्छ वा राम्रो स्टाफ किन हामीकहाँ आइरहेको छ ?’ भन्ने कुराचाहिं बुझ्न जरुरी छ । हामीले केहि पनि कुरा जवरजस्त गरेका छैनौं । यो स्वोभाविक बिजनेशको प्रक्रिया हो ।
६. तपाईंहरुले ब्रान्डीङको मामलामा होस् वा साखा सञ्जालको मामलामा, केहि फरक अभ्यास गर्नुभयो । अहिले प्राय अरु बैंकले पनि त्यहि बाटोमा लागेको देख्दा कस्तो लाग्छ ?
यो हाम्रो अर्थतन्त्रका लागि निकै सकारात्कम कुरा हो । जनताको विश्वास जित्न ब्राण्डको महत्वपूर्ण भूमिका हुन्छ । दुर दराजमा बैंकको साखा पुग्नु अर्को सकारात्मक कुरा हो । सबै नागरिकको पहुँचमा बैंक पुग्नु झन् राम्रो कुरा हो । हामीले धेरै त्यस्ता ठाउँहरुमा पनि साखा विस्तार गरेका छौं, जहाँ कमर्सियल बैंकको उपस्थिति नै थिएन । अहिले हामीले धेरै ग्राहकको माया पाएका छौं । हामीले सबै बर्गमा बैंकिङ पहुँच पुर्याउन सक्दो मेहेनत गरिरहेका छौं । सबैको भलो गर्न हामीले सकेसम्म कोसिस गरिरहेका छौं । यहि कोशिसले हामीलाई ‘बैंक अफ मास’ बनाएको छ । हामीलाई विश्वास गर्नेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
७. तर तपाईंले यसो भन्दै गर्दा बिकट ठाउँहरुमा खोलिएका कतिपय साखाहरु त औपचारिकताका लागि मात्र छन् भन्ने चर्चा छ नि बजारमा ? राष्ट्र बैंकको नीतिका कारण पनि यस्तो भएको छ भन्ने गरिन्छ, तपाईंको यसमा प्रतिक्रिया के छ ?
यस विषयमा अरु बैंकको बारेमा मलाइ खास आइडिया छैन, तर हाम्रो व्यापारको ठूलो हिस्सा मोफसलमा छ । हाम्रो कुल बिजनेशमध्ये सानो हिस्सामात्र काठमाडौँ उपत्यकाभित्र छ । त्यसैले हामीले त झन् मोफसललाई ‘फोकस’ गरिरहेका छौं । एउटा धनी मान्छे झन् धनी हुनुभन्दा एउटा गरिव मान्छे कम गरिव हुनु सकारात्मक कुरा हो । यो प्रक्रिया मोफसलमा बढी छ । बैंक काठमाडौँ भन्दा पनि दुरदराजमा जान झन् जरुरी छ । त्यहाँ बिजनेश छैन भन्ने कुरा म मान्दिन । त्यहाँ निकै ठूलो बिजनेश एरिया छ । एनआइसी एसिया बैंकको हकमा भन्नुहुन्छ भने हामी बैंकनै नभएको ठाउँमा पनि पुगेका छौं । त्यहाँ पनि बिजनेश छ ।
८. अहिलेको बैंकिङ बजारमा एनआइसी एसिया बैंकको स्ट्याटस के हो ?
हामी धेरै कुरामा अब्बल भइसकेका छौं । हामी ‘स्ट्र्याटिजिक’ प्लान बनाएर अघि बढेका छौं । हाम्रो ग्रोथ रोकिएको छैन । हामी धेरै कुरामा नम्बर वान पनि भइसकेका छौं । केहि समयको अन्तरालमा हामी ११-१२ स्थानबाट उत्कृष्ट पाँचभित्र परिसकेका छौं । अहिले बैंकलाई धेरैले माया गरिदिनुभएको छ । विश्वास गरिदिनुभएको छ ।
९. अवको १० बर्षमा चाहिं एनआइसी एसिया बैंकको यो स्ट्याटस कहाँ पुग्छ ?
१० बर्ष लाग्दैन । अवको केहि बर्षमा हामी नेपालको नम्बर वान बैंक बन्न अब केहि कुराले पनि रोक्न सक्दैन । १० बर्ष भनेको त धेरै लामो समय हो । अव झन्डै ५ बर्ष वा त्यो भन्दा पनि कम समयमा हामी हरेक हिसावले नेपालको नम्बर वान बैंक बन्नेछौं । हामी सोहि अनुसार काम गरिरहेका छौं ।
१०. सबै कुरामा अब्बल भएको एनआइसी एसिया बैंक नाफामा किन अब्बल हुन सकेन त ?
यो बेला धेरै साखाहरु खुले । त्यसको ठुलो ‘कष्ट’ छ । यहि कारण हामी नाफामा सर्वोत्कृष्ट बन्न नसकेका हौँ । तर साखा खोल्दा हुने ठुलो ‘कष्ट’ सधैं हुने होइन । त्यहि भएका कारण अवको केहि बर्षमा हामी नाफा वितरणमा पनि पहिलो नम्बरमा आउंछौं भन्ने कुरामा कुनै शंका नै छैन ।
११.बैंकमा केहि समय अगाडी स्वीफ्ट प्रकरण भयो । बीचमा बैंकर्स संघले पनि हस्तक्षेपकारी भूमिका खेल्यो । यो कुराले बैंकलाई कस्तो असर गर्यो ? बैंकर्स संघ सँगको ‘रिलेशनशिप स्ट्याटस’ के छ ?
स्वीफ्ट प्रकरणले खास त्यस्तो असर गरेन । त्यो एउटा दुर्घटना थियो । सत्य-तथ्य बाहिर आइसकेको छ । त्यसले हाम्रा ग्राहकहरुको मानोबिज्ञानमा खास असर गरेन । बैंकर्स संघको कुरा पनि एउटा ‘इभेन्ट’ थियो, त्यो अहिले सबै राम्रो बन्दै गएको छ । अहिले नियामक राष्ट्र बैंक, बैंकर्स संघ र अरु स्टेकहोल्डरसँग पनि हाम्रो निकै राम्रो सम्बन्ध छ ।
१२. जुन हिसावले तपाईंहरु एग्रेसिभ भएर आउनु भएको छ सबै कुराहरुमा, यसमा कतै न कतै ठुलो ‘रिस्क’ देख्नुहुन्न ?
हामी कर्पोरेट गभर्नेन्सको कुरामा एकदम बलियो छौं । सजग पनि छौं । हामी जसरी काठमाडौँदेखि दुरदराजका ठाउँमा बैंकिङ पहुँच पुग्नुपर्छ भनेर लागेका छौं, त्यसले रिस्क बढेको होइन घटेको छ । हामीले सुरु गरेका कतिपय कुराहरुलाई अहिले अरु बैंकहरुले पनि अनुसरण गर्नुभएको छ । यो सकारात्मक कुरा हो । बैंकहरुबीच जति स्वस्थ्य प्रतिष्पर्धा हुन्छ, त्यति नै अर्थतन्त्रका लागि राम्रो कुरा हो । ग्राहकका लागि राम्रो कुरा हो ।
१३. एनआइसी एसिया बैंकले अव ‘Full-सीइओ’ कहिले पाउँछ ? यसमा तपाईंको सम्भावना कति छ ?
सीईओ छान्ने प्रक्रिया अगाडी बढिरहेको छ । क्यान्डीडेटहरु छान्ने काम भईरहेको छ । मेरो सम्भावना पनि छ । बैंकको समग्र निर्णय पर्खनुबाहेक अहिले केहि भन्न सकिंदैन ।