×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आन अध्यक्ष ‘शशि’सँग ‘बिज्ञापन-बहस’ : ‘एजेन्सीहरुले बजारबाट काम भइसकेको डेढ अर्व रुपैयाँ उठाउँन बाँकी छ’

नेपाल बिज्ञापन संघ (आन) नेपालका बिज्ञापन एजेन्सीहरुको छाता संगठन हो । बिज्ञापन एजेन्सीहरुको हक, हित संरक्षण र सम्बर्द्धनका लागि खुलेको यो संघले हरेक बर्ष बिज्ञापन एजेन्सीहरुलाई अवार्ड दिने कार्यक्रम, ‘कृति अवार्ड’समेत आयोजना गर्छ । पछिल्लो समय नेपालमा बिज्ञापनको बजार घटेको चर्चा चलिरहेका बेला र बिज्ञापन बजारमा विकृति बढेको भन्ने चर्चा चलिरहेका बेला नेपाल बिज्ञापन एजेन्सी संघ (आन) ले यसलाई कसरी हेरिरहेको छ त ? आजको अंकमा हामीले नेपाली बिज्ञापन बजारका समस्या, बिज्ञापन बजारमा देखिएका विकृति, र त्यसका समाधानको उपाय बारे नेपाल बिज्ञापन एजेन्सी संघका अध्यक्ष रविन्द्र कुमार रिजाल ‘शशि’सँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग अर्थ सरोकार सहकर्मी सुरज प्याकुरेलले गरेको कुराकानी:
१. नेपाल बिज्ञापन एजेन्सी संघ (आन) ले कृति अवार्ड गरिरहेको छ । यसमा समग्र बजारको प्रतिक्रिया कस्तो छ ?
कृति अवार्डमा बजारको प्रतिक्रिया निकै राम्रो छ । क्लाइन्टहरु खुसी हुनुहुन्छ । मिडियाहरुले पनि निकै ठूलो सहयोग गरिरहनुभएको छ । कृति अवार्ड एउटा कार्यक्रम भन्दा बढी मेलाजस्तो भएको छ । आर्थिक पाटोमा हामीलाई क्लाइन्टको राम्रो सहयोग छ । हाम्रो अवार्डमा प्रायोजन गर्दा उहाँहरुले पाउने माइलेज पनि निकै राम्रो छ । मिडियामा पनि कृति अवार्डको बिज्ञापन आउन थालेपछि हामीलाई प्रायोजन गरेको ब्राण्डका प्रतिष्पर्धी ब्राण्डहरुले पनि बिज्ञापन संख्या बढाएका छन् । यो अवार्ड अझ प्रतिष्ठासँग पनि जोडिएको छ । त्यसैले सबैतिरबाट निकै राम्रो प्रतिक्रिया आएको छ । कृति अवार्डकै कारण बिज्ञापन बजारको साइज पनि केहि बढेको विश्लेषण पनि भइरहेको छ । 
२. बिगतका अवार्डहरुमा एउटा विषय खुब उठ्यो, ‘चोरीका बिज्ञापनहरुलाई आनले अवार्ड दियो’ भनेर । हामीले एउटा सानो रिसर्च गर्दा झन्डै ८ वटा अवार्ड पाएका बिज्ञापनहरु चोरीका छन् । यसलाई कसरी हेर्नुभएको छ ?
सुरुमा त तपाईंको प्रश्नले बिज्ञापन एजेन्सी संघ कतै न कतै चुकेको महसुस गराएको छ । हामी बिज्ञापन एजेन्सीहरु जुरीमा बस्दैनौं । जुरीले बिज्ञापन हेरेर हरेक हिसावले त्यसलाई अंक दिएर अवार्ड पाउने बिज्ञापन छान्नुहुन्छ । उहाँहरुलाई पनि १००% बिज्ञापन यहिकै काम हो, कहींबाट चोरिएको छैन भन्ने पत्ता लगाउन गाह्रो छ । यो निकै ‘टफ’ काम हो । त्यसैले यदाकदा यस्ता समस्या देखिएका छन् । तर यो विषय कुनै न कुनै बेला बाहिर आउँछ नै ! तपाईंहरुले नै पनि यो कुरा उठाईरहनुभएको छ । अव कुनै न कुनै बेला आफ्नो बेइज्जत हुन्छ भन्ने थाहा पाउँदा-पाउँदै कोहि आउनुहुन्छ भने हामी के भन्न सक्छौं र ? तर यो काम सरासर गलत हो । झट्ट सुन्दा सानो कुरा भएपनि यसको छुट्टै महत्व हुन्छ । यसमा सबैजना सजग हुन जरुरी छ । यसपालीको अवार्डमा त्यस्तो छ भन्ने कसैलाई थाहा भयो खबर गर्न अनुरोध गर्दछु । त्यस्ता गलत कामलाई हामी बहिष्कार गर्छौं ।
३. आजकल त बिज्ञापन एजेन्सीहरुले अरुका क्लाइन्ट चोर्न, एजेन्सी कमिसन कम लिने वा लिंदै नलिने गरेको पनि पाइएको छ । यो त सार्है अस्वस्थ प्रतिष्पर्धा भएन र ?
यो समस्या बजारमा भएको पक्कै हो । तर कुरा के हो भने हामी अधिकांस बिज्ञापन बजारमा रहेका एजेन्सीहरु व्यापारीहरुले चलाएका छैनन् । यहाँ व्यापार गर्नेहरु भन्दा प्रतिष्पर्धा गर्ने एजेन्सीहरु बढी भए । अस्वस्थ प्रतिष्पर्धा हुन थालेपछी एकातर्फ मिडियाले खेलिदियो भने अर्कोतर्फ क्लाइन्टले पेलिदियो । हामी त पुलमात्र न हौँ । यस्तो गलत अभ्यासले हाम्रो बजार खुम्चाएको पक्कै हो । अर्कोतर्फ मिडियाले पनि एउटा एजेन्सीलाई एउटा रेट, अर्को एजेन्सीलाई अर्को रेट र क्लाइन्टलाई अर्कै रेट लगाईदिएका कारण पनि यस्तो समस्या आएको हो ।
४. हामीले भोगेको एउटा तीतो अनुभव । कुनै क्लाइन्टको केहि गलत न्यूज छ भने अर्को एजेन्सीका मान्छे समाचार नै बोकेर न्यूज डेस्कसम्म आउन थाले । त्यस्तो काम गर्नेहरुमा आनकै पदाधिकारीहरु पनि छन् । तपाईंले यसलाई कसरी हेर्नुभएको छ ?
तपाईंले मेरा लागि त नयाँ कुरा गर्नुभयो । तर हिजोको दिनमा पनि विभिन्न मिडियाहरुलाई भनेका हौँ, ‘तपाईंहरुले बिजनेश लुज गरिरहनुभएको छ ।’ मिडियाहरुले कर्पोरेट क्लाइन्टहरुलाई ‘ठोकेर’ लेख्न थाल्दा समग्र बिज्ञापन बजारको साइज घटेको छ । जनतालाई सुसुचित गराउने कुरा निकै राम्रो हो । गलत कुरा बाहिर आउनु पनि पर्छ । तर यो वा त्यो बहानामा नभएका कुराहरु पनि बाहिर आएका छन् । यो गलत हो । अझ एउटा बिज्ञापन एजेन्सीको क्लाइन्टका बारेमा समाचार लिएर अर्को बिज्ञापन एजेन्सीको मान्छे कुनै सञ्चार गृहको डेस्कसम्म पुग्छ भने त्यो त सरासर गलत नै हो ।
५. कतिपय बिज्ञापन एजेन्सीहरुले क्लाइन्टले काम दिएन भनेर आफैं मिडियामा गलत समाचार दिने र आफैं कुरा मिलाईदिने समेत गरेको देखिन्छ । आफैं बोक्सी आफैं झाँक्री बन्ने यस्ता ‘दले’ एजेन्सीहरुलाई के भन्नुहुन्छ ?
यो त सरासर पाप हो । यो एकदम गलत काम हो । समग्र बजारलाई टिकाएको क्लाइन्टलाई यस्तो गर्नु भनेको कुनै अर्थमा पनि सहि होइन । कुनै न कुनै दिन यो कुरा उजागर हुन्छ नै । त्यतिबेला त्यो एजेन्सीको हालत के हुन्छ ? यसमा सबैजना सचेत हुन जरुरी छ । ‘शर्ट-टर्म’ फाइदा हेरेर जसले यस्तो गलत काम गरेको छ, त्यो बजारमा एक दिन पक्कै पतन हुन्छ ।
६. केहि समय अगाडी बिज्ञापन एजेन्सीको लेटरहेड दुरुपयोग भएर मिडियामाथि लान्छना लगाउने काम भयो । आफु गलत गर्ने अनि आनलाई टेकेर आफ्नो स्वार्थ्य पूरा गर्ने काम भयो । स्क्यान गरेको हस्ताक्षर राखेर चिठी पठाइयो, त्यो पनि चलानी नम्बर र पत्र नम्बर समेत नराखी । यसले आनको इज्जत निकै गिरायो । यसलाई कसरी लिनुभएको छ ? (उनलाई यसविषयमा थाहा रहेनछ । संघका कार्यकारी निर्देशकसँग यस विषयमा बुझेर, कागजातहरु अध्ययन गरेर उनले दिएको जवाफ:-) 
सुरुमा त यसका लागि म आनको तर्फबाट माफी चाहान्छु । तपाईंले उठाउनुभएको कुरामा आनको तर्फबाट केहि प्रक्रियागत गल्ती भएकै हो । आउँदा दिनहरुमा त्यस्तो नहुने प्रतिबद्धता पनि व्यक्त गर्न चाहान्छु । मिडिया र बिज्ञापन एजेन्सीको सम्बन्ध भनेको नङ र मासु जस्तो हुनुपर्छ । केहि समस्या भयो भने पनि त्यसलाई घरभित्रै समाधान गर्नुपर्छ । समाधान निस्किंदै निस्केन भने समाधान निकाल्ने वा न्याय खोज्ने निकायहरु पनि छन् । तर तपाईंले जुन घटनाको कुरा गर्नुभएको हो, आनका तर्फबाट कतै न कतै गल्ती भएकै हो । उक्त काम आनले सच्याउनेछ । र आगामी दिनमा मिडिया, क्लाइन्ट र बिज्ञापन एजेन्सीबीचको सम्बन्धलाई निकै सुमुधुर बनाउन भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहान्छु । 
७. आनले टिआरपी रेटिङ गर्ने योजना बनाएको छ भन्ने कुरा के हो ?
तपाईंले सुन्नु भएको कुरा सत्य हो । हामीले फुटप्रिन्ट र एउटा अन्तराष्ट्रिय संस्थासँग मिलेर हामीले आफैं टिआरपी रेटीङ गर्दैछौं । अहिले हामी टेलिभिजन र प्रिन्ट मिडियाको रेटीङ गर्ने काम गर्ने तयारीमा छौं । विस्तारै रेडियो र अनलाइनको रेटीङ पनि गर्ने योजना छ । यो काम सबैको सहकार्यबाट नै हुनेछ । सञ्चार मन्त्रालयसँग हामीले निकै राम्रो सहकार्यको कामलाई अगाडी बढाएका छौं । सरकारले बिज्ञापनसम्बन्धि नियमनकारी निकाय र बिज्ञापन बोर्ड नै गठन गर्दैछ । आगामी दिनमा यसले समग्र बजारमा राम्रो काम गर्छ भन्ने कुरामा म विश्वस्त छु ।
८. धेरै मिडियाको आरोप छ, ‘बिज्ञापन एजेन्सीहरुले पैसा होल्ड गर्छन्, समयमा पेमेन्ट गर्दैनन्’ तपाईं यस विषयमा के भन्नुहुन्छ ?
तपाईंले के कुरा बुझ्नुपर्यो भने हाम्रो क्षेत्रको पछिल्लो तथ्यांक हेर्ने हो भने मिडियाको २० करोड देखि २५ करोडसम्म एजेन्सीसँग लिन बाँकी छ । तर एजेन्सीले क्लाइन्टसँग लिन बाँकी पैसा झन्डै डेढ अर्व छ । विभिन्न कारणले थुप्रै बिल पेण्डीङ छ । यो समस्यालाई मध्यनजर गर्दै हामीले एउटा सहकारीसँग पनि सकार्य गरेका छौं । हामीले विभिन्न एजेन्सीहरुलाई ग्यारेन्टी बनाउने काम पनि सुरु गर्दैछौं । हिजोको दिनसम्ममा धेरै कुरा म्यानुअल थिए । त्यसले पनि समस्या भएको हो । अव त डिजिटलाईजेसनको जमाना आइसकेको छ । यस्ता समस्याहरु विस्तारै समाधान हुँदै जान्छन् । पहिला पहिला कतिपय अवस्थामा बोलेकै भरमा पनि बिज्ञापन छाप्ने गरिन्थ्यो । त्यस्तो कुरालाई पन्छ्याएर हामीले नयाँ तरिकाबाट काम गरिरहेका छौं । आशा गरौं आउँदा दिनहरुमा त्यस्तो समस्या पर्ने छैन ।
९. तपाईंहरुले सुरुमा ३५५०० रुपैयाँ सदस्य शुल्क लिईरहनुभएको छ । बार्षिक रुपमा १० हजार रुपैयाँ नवीकरण शुल्क पनि लिनुहुन्छ ? तपाईंहरुले एजेन्सीको हक हितका लागिचाहिं के गरिरहनुभएको छ ?
हाम्रो संघको निश्चित खर्छ छ । त्यसलाई ‘मेन्टेन’ गर्न हामीले उठाउने शुल्क भनेकै एजेन्सीहरुबाट उठाएको रकम नै हो । हामी कमाएर जोगाउने व्यापारी भन्दा पनि कमाएर खर्च गर्ने व्यापारी परेकाले हामीले मनोरन्जनात्मक काय्रक्रमहरु पनि गरिरहेका हुन्छौं । बेला बेलामा ‘फुट्सल’ गर्छौं, अन्य कार्यक्रमहरु पनि गर्छौं । एजेन्सीको हक हितका लागि पनि सक्दो काम गरिरहेका छौं । आनको विश्वशानीयता बढेसंगै खर्च पनि बढीरहेको छ । त्यसैले सबै कुरालाई समन्वय गर्दै अगाडी बढ्नुपर्ने आजको आवश्यकता देखिएको छ । यसलाई मध्यनजर गर्दै हामी अगाडी बढीरहेका छौं ।
१०. कतिपय बिज्ञापन एजेन्सीहरुले क्लाइन्टहरुलाई भाँड्ने गरेको समेत पाइएको छ ? कतिपय मिडियाहरु त एजेन्सी पीडीत पनि बनेका छन् । कतिपय एजेन्सीहरुले थर्काएर क्लाइन्टहरुबाट काम लिने गरेको समेत यदाकदा सुनिएको छ ? उनीहरुले के गर्ने ?
त्यसका लागि लिखित रुपमा आनमा उजुरी गर्ने । कसैले लिखित रुपमा उजुरी नगरेसम्म हामी केहि पनि गर्न सक्दैनौं । तर उजुरी परेपछि हामी त्यसउपर के गर्नुपर्ने हो कामकारवाही अगाडी बढाउँछौं । तर फेरी पनि हामी मिडिया क्लाइन्ट र बिज्ञापन एजेन्सीहरु बीचको सम्बन्ध निकै सुमधुर हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छौं । यदाकदा समस्या देखिन सक्छन् । तर ती सस्मयालाई तुरुन्त समाधान गर्नुपर्छ । हामी नियामक होइनौं । तर बलियो बिज्ञापन बजारका लागि हामीले गर्नुपर्ने काम, हामीले गर्नुपर्ने सहयोग वा हामीले गर्नुपर्ने मध्यस्तकर्ताको काम हामी गर्छौं । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: