- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- काठमाडौँमा यात्रु मजदुरका समस्या थोरै छैनन् । मजदुरकै नजरबाट हेर्ने हो भने ट्याक्सी चालकदेखि बस चालक वा संचालकसम्मका दु:ख उस्तै छन् । समय-समयमा गाडी जाँचपास गर्दा होस् वा ट्राफिकको किचकिच सुन्नुपर्दा उनीहरुलाई समस्या नै समस्या छ । सानो गल्ती गर्दा पनि जरिवानाको भागीदार हुनुपर्छ उनीहरु । लाखौँको लगानी छ । तर यस्तो कडा कानुन भएको यातायात क्षेत्रमा टुटललाई न कानुन लागिरहेको छ न उसले कुनै सरकारी प्रक्रिया नै पूरा गरिरहेको छ । न उसले समय-समयमा गाडी जाँचपास गर्नुपरेको छ न राजश्वको झन्झट नै । अरुलाई सहयोग गर्ने बहानामा कानुन मिचेर बस् ‘लुट’ मच्चाईरहेको छ टुटलले । यसअघिको समाचारमा हामीले टुटल कसरी गैरकानुनी भयो भन्ने तथ्य सार्वजनिक गरेका थियौं । आज हामी केहि नियमहरु बारे चर्चा गर्दैछौं, जो भाडामा प्रयोग हुने यातायात सबैमा लाग्नु हुनुपर्ने हो, तर सोझा मजदुरलाई यो कानुन लाग्दा टुटल बस् दादागिरी देखाईरहेको छ ।
१. सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई निजी सवारी भनिने र उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ । यसको अर्थ कुनै पनि नीजी सवारी भाडाका लागि कुनै पनि हिसावमा प्रयोग गरिनु हुँदैन । तर टुटलले यो गैरकानुनी काम गरिरहेको छ ।
२. टुटललाई ठिक भन्नेहरुले टुटल सहयोग गर्ने माध्यम हो भन्ने गरेका छन् । तर टुटलले यात्रुले सवारीसाधन प्रयोग गरे वापत कमिसन लिन्छ । त्यो भनेको कम्पनीको आय हो । एउटा प्राइभेट लिमिटेड कम्पनीले कसरी भाडामा कमिसन लिन पाउँछ र ? कुनै पनि कानुनले कसैलाई पनि त्यो छुट दिएको छैन । अर्कोतर्फ कसैले निजी सवारीलाई आयस्रोतका रुपमा लिन्छ भने त्यो गैरकानुनी हो । यस्तो काम सरासर गलत हो भन्ने स्पष्ट कानुन छ नेपालमा ।
३. कतिपयले बंगलादेशमा उवर नामक एपचाहिं कानुनी हुने नेपालमा टुटल कसरी गैरकानुनी हुने भनेर पनि प्रश्न गरेका छन् । तर बंगलादेशकै उदाहरण लिने हो भने बंगलादेशको कानुनले उवरलाई बैधानिकता दिएको छ । तर यातायात व्यवस्था विभागकै सूचना अधिकारीको भनाइ सुन्ने हो भने टुटलले जे गरिरहेको छ त्यो सरासर गैरकानुनी छ ।
४. भाडाका ट्याक्सी ठिक छ कि छैन भनेर समय समयमा जाँचपास गराउनुपर्छ । ट्याक्सीका हकमा यो अवधि ६ महिनाको छ । तर व्यक्तिगत सवारी प्रयोग गर्दा त्यसको जोखिम कसले लिने ? काठमाडौँमा दुर्घटना बढिरहेका बेला टुटलले गरेको काम अवैधमात्र होइन रिस्की पनि छ ।
५. भाडाको नम्बरप्लेट लिन सानो सास्ती भोग्नु पर्दैन । तर टुटलले गैरकानुनी काम गर्दा कतिपयले निजी मोटरसाइकललाई कमाउ धन्दामा लगाएका छन् । यो कानुन अनुसार सरासर गलत हो ।
६. नेपालको प्रचलित कानुन अनुसार भाडादर तोक्ने काम यातायात व्यवस्था विभागले मात्र गर्न पाउँछ । तर टुटलले कहाँ जाँदा सवारी मालिकले कति पैसा पाउने र टुटलले कति कमिसन पाउने भन्ने कुरा आफैं निर्धारण गरेको छ । यो पनि सरासर गैरकानुनी छ ।
७. कुरा कानुनको हो । कि कानुन संसोधन गरेर टुटललाइ बैधानिकता दिनुपर्यो, होइन भने प्रचलित कानुन मान्नु पर्यो । टुटलले धेरै सार्वजनिक सवारीलाई अहिले अफ्ट्यारो पारीरहेको छ । राजश्व तिरेर कानुन मान्नेचाहिं हेपिनुपर्ने अनि कानुन नमान्ने टुटलले चाहिं जे गरे पनि पाउने ?
८. टुटल संचालक कम्पनी हाइपरलुप प्रालि नामक कम्पनी नाफामुलक कम्पनी हो । यो कम्पनीले कति पैसा आय गर्यो भनेर हेर्ने निकाय को छ ? उसले बुझाउने विवरण पारदर्शी छ कि छैन भनेर हेर्ने निकाय कहाँ छ ? उसले कमाएको पैसामा कति कर तिर्छ र तिरेको कर कानुनअनुसार ठिक छ भनेर कसले हेर्छ ? यो विषय अर्को विषय हो । टुटलेले विभिन्न शिर्षकमा भाडाका सवारी साधनले सरकारलाई दिने राजश्व पनि आफैं खाने गरेको छ । उसले कतै पनि यातायातका नाममा राजश्व तिर्दैन ।
र यात्रुहरु र सवारीसाधनहरु होसियार !
टुटल प्रयोगकर्ताहरुले जानेर वा नजानेर गैरकानुनी काम गरिरहेको कुरामा कुनै शंका अव भएन । देशको राजश्व लुट्ने, सरकारलाई ठग्ने, कानुन मिच्ने काम ठिक होइन । एउटा असल नागरिकले यस्तो काम गर्दै गर्दैन । अर्कोतर्फ यातायात व्यवस्था विभागले कुनै पनि बेला टुटलमा छापा हानेर प्रयोग भएका मोटरसाइकलहरुको विवरण लिएर कारवाही प्रक्रिया थाल्न सक्छ । यस विषयमा विभिन्न निकायमा उजुरी गर्ने र टुटल संचालक कम्पनीलाई ठगी मुद्धा लगाउने तयारी भइरहेको पनि बुझिएको छ । त्यसैले समयमा सबैजना सजग बन्दा रार्मो । बाँकी त तपाईंहरुकै इक्षा ।
यो पनि पढ्नुहोस् :
टुटलका नाममा यसरी हुँदैछ ‘गैरकानुनी धन्दा’ : कानुनको धज्जी उडाइदा पनि किन मौन छ नियामक निकाय ?