
कञ्चनपुर । लालझाडी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाबीच बिहीबार जैविक तटबन्ध निर्माणका लागि सम्झौता गरिएको छ । प्रकोप सङ्कटापन्नामा रहेका समुदायमा हुन सक्ने सम्भावित क्षतिको मात्रालाई कम गर्न समुदायस्तरमा बायो इञ्जिनीयरिङ (जैविक तटबन्ध) मार्फत विपद् जोखिम न्यूनीकरण क्रियाकलाप सञ्चालन गर्नका लागि सम्झौता गरिएको हो ।
वडा नं १ विनवारी, वडा नं २ कञ्ज, वडा नं ३ नन्दगाउँ र वडा नं ४ खल्ला जाइँको दोदा नदीमा एक हजार ८०० मिटर लम्बाइको जैविक तटबन्ध निर्माणका लागि रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनासँग लागत सहभागितामा सहकार्य गर्ने सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले बताउनुभयो । जैविक तटबन्ध निर्माणका लागि गाउँपालिकाले रु २० लाख र परियोजनाका तर्फबाट रु १० लाख रकम व्यहोर्ने सम्झौता भएको उहाँले बताउनुभयो । विगतमा रेडक्रससँग सहकार्य गरी दोदालगायतका नदीमा निर्माण गरिएका तटबन्ध प्रभावकारी देखिएपछि गाउँपालिकाले सहकार्य गरेको उहाँले जानकारी दिनुभयो । ढुङगा र तारजालीका तटबन्ध निर्माण गर्दा धेरै खर्चिलो हुनाका साथै बढी श्रम लाग्ने भएकाले यसको तुलनामा जैविक तटबन्धमा थोरै रकमले धेरै काम गर्न सकिने र भरपर्दोसमेत हुने भएकाले यसलाई अगाडि बढाइएको उहाँले बताउनुभयो ।
“विगतमा नदीको बाढीले भूक्षय गर्दै आएको जग्गा हाल जैविक तटबन्धका कारण जोगिएको छ”, उहाँले भन्नुभयो, “स्थानीय बासिन्दाको मागलाई मध्यनजर गर्दै जैविक तटबन्ध निर्माणलाई निरन्तरता दिइँदै आएको छ, गाउँपालिकाका अधिकांश बासिन्दा दोदा नदीका कारण विगतमा विस्थापनमा परेका थिए, जैविक तटबन्ध निर्माण हुन थालेपछि विस्थापनको क्रमसमेत रोकिएको छ ।” रेडक्रसले जैविक तटबन्ध निर्माणका लागि विपद् जोखिम न्यूनीकरणसँगै आर्थिक विकास गरी जीविकोपार्जनमा सहज गर्नका लागि समुदायमा सहभागितामूलक विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा गर्ने कामसमेत गर्दै आएको एमरेड परियोजनाका अधिकृत महेश घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्ययोजना तर्जुमा गरेको छ । एमरेड परियोजना सन् २०२० देखि २०२२ सम्म जिल्लाका कृष्णपुर, शुक्लाफाँटा, बेलौरी र पुर्नवास नगरपालिका तथा लालझाडी गाउँपालिकामा गरी ३२ बढी समुदायमा सञ्चालन भइरहेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्