- बिष्णुप्रसाद बस्याल
इन्साइडर ट्रेडिङ नेपाल मात्र नभएर विश्वभरिको समस्या हो । यसलाई पूर्णरूपमा रोक्न सक्ने तरिका आजसम्म कुनै पनि नियमनकारी निकायले ‘इजाद’ गरेका छैनन् । तर यसलाई अनुसन्धान नै गर्न नसक्ने भने पक्कै होइन । विश्वभरि कैयौं नियमनकारी निकायहरुले धेरै कम्पनीका प्रमुख कार्यकारी, अधिकृत वा सञ्चालक समितिका पदाधिकारीलाई आर्थिक, जेल तथा निश्चित समयका लागी सेयर बजारमा कारोवार गर्न नपाउने खालको कारवाही गरेको प्रशस्त उदाहरणहरु देख्न सकिन्छ । तर नेपालमा भने अहिलेसम्म त्यस्तो कुनै पनि कारवाही गरेको उदाहरण पाइएको छैन । यस्तो न हुनुमा सायद प्रष्ट कानूनी व्यवस्था नभएर हुन सक्छ वा त्यस्तो किसिमको कारोवारलाई अनुसन्धान गर्ने खालको प्रविधि नभएर पनि हुन सक्छ ।
के हो त इन्साइडर ट्रेडिङ ?
इन्साइडर ट्रेडिङ तब गैरकानुनी मानिन्छ जब कम्पनीका कर्मचारी वा प्रतिनिधिहरूले आफ्ना साथीहरू, परिवार, वा कोष प्रबन्धकहरूलाई कम्पनीको सेयर मूल्यमा प्रभाव पार्न सक्ने सूचना दिने गर्दछन् ।
सेबोनले इन्साइडर ट्रेडिङ केही हदसम्म रोक्नका लागि के-के सतर्कता अपनाउन सक्छ?
ट्रेडिङ गतिविधि निगरानी गर्ने:
नियमनकारी निकायले मार्केटमा ट्रेडिङ गतिविधि अनुगमन गरेर इनसाइडर ट्रेडिङलाई रोक्न र पत्ता लगाउन कोशिस गर्न सक्छ । SEBON ले ट्रेडिङ गतिविधिलाई मोनिटर गर्ने, विशेष गरी महत्त्वपूर्ण घटनाहरूजस्ता आय घोषणाहरू, हकप्रद निष्कासनको घोषणा, अधिग्रहणहरू, र अन्य सूचना जसले कम्पनीको मूल्यमा प्रभाव पार्न सक्छ । यदि कम्पनीका कर्मचारी वा प्रतिनिधिहरूले आफ्ना साथीहरू, परिवार, वा कोष प्रबन्धकहरूलाई यस्तो सूचना प्रदान गर्दछ र यस्तो खालको सूचनाले त्यो कम्पनीकाे सेयर मुल्यमा सकारात्मक वा नकारात्मक प्रभाव परेको देखिएको हकमा त्यस्तो प्रकृतिको ट्रेडिङलाई पत्ता लगाई सम्बन्धित व्यक्ति वा संस्थालाई कारवाही गर्न सक्छ । यस्तो प्रकृतिको ट्रेडिङ पत्ता लगाउनका लागि धितोपत्र बोर्डले आर्टिफिसियल ईन्टेलिजेन्ट सहितको ट्रेड सेरबिलियेन्स सिस्टमको बिकास गर्न सक्छ।
इन्साइडर ट्रेडिङलाई कम गर्नको लागी एउटा छुट्टै इन्साइडर ट्रेडिङ अनुगमन विभागको निर्माण गर्नु अति आवश्यक देखिन्छ । यदी इन्साइडर ट्रेडिङ अपराध सम्बन्धी कानुन बनेको छैन भने सो सम्बन्धी कानुन बनाउन सरकारलाई सहयोग गर्न पनि अति आवश्यक देखिन्छ । इन्साइडर ट्रेडिङकाे सुचना दिने व्यक्तिहरूलाई प्रोत्साहन दिने व्यवस्था गरी इन्साइडर ट्रेडिङ गरे बापत आएको निश्चित रकमको १०% देखि ३०% सम्मको रकमलाई सो व्यक्तिलाई प्रोत्साहन राशि दिने व्यवस्था गर्ने तथा सो व्यक्तिको परिचय गुप्त राख्ने ग्यारेन्टी गर्ने ।
कसरी कम्पनीहरूले इन्साइडर ट्रेडिङ रोक्न सक्छन ?
ब्ल्याक आउट अवधि:
कम्पनीहरूले इन्साइडर ट्रेडिङ रोक्नकाे लागी उनीहरूको धितोमा खासगरी कम्पनी काे बजार मुल्यमा प्रभाव पार्न सक्ने महत्वपूर्ण घटना तथा निर्णयको आसपास ब्ल्याक आउट अवधिकाे घोषणा गरेर सो अवधिमा कम्पनीका अधिकारीहरू, निर्देशकहरू, र अन्य नियुक्त व्यक्तिहरू कम्पनीको धितोहरू खरीद वा बिक्री गर्नबाट प्रतिबन्धित गर्ने । साथै कुनै कम्पनीका अधिकारीहरू, निर्देशकहरू र अन्यलाई त्यस कम्पनीकाे सेयर खरीद वा बिक्री गर्नुअघि सो कम्पनीको मुख्य कानुनी सलाहकारसंग सलाह लिएर मात्र ट्रेडिङ गर्न पाउने व्यवस्था मिलाउन पर्ने देखिन्छ ।
उपरोक्त लिखित सुझावलाई पालना गर्न सकियो भने इन्साइडर ट्रेडिङलाई केही हदसम्म रोक्न त सकिन्छ तर यस्तो प्रकृतिको कारोवारलाई पुर्ण रुपमा बिराम लगाउन भने सम्भव छैन ।
इन्साइडर ट्रेडिङलाई कम गर्नको लागी नियामक निकायले कडा कानूनी प्रावधान गर्ने तथा कम्पनीहरु आफैले इन्साइडर ट्रेडिङ हुनबाट रोक्नकाे स्वयम् नीति निर्माण गर्नु पर्ने आवस्यक देखिन्छ । साथै लगानीकर्ताहरु आँफै पनि सचेत हुनु जरुरी देखिन्छ । नेपालका लगानीकर्ता हरुपनि कुनैपनि कम्पनीले राइट र बोनस शेयरकाे घोषणा गर्यो भने त्यो घोषणाले के साँच्चिकै त्यो कम्पनीको कमाईमा सकारात्मक असर गर्न सक्छं वा सक्दैन भनेर नसोची, त्यो कम्पनीको सेयर किन्न जसरी लालायित हुने गर्दछन्, त्यो आफैंमा एउटा भेडचाल हो भनेर बुझ्नु पनि जरुरी छ।
नेपालको बजारमा कुनैपनि शेयरको मूल्य जथाभावी बढोत्तरी भएकाे खण्डमा त्यो शेयरको मूल्यलाई उचित तहसम्म ल्याउनका लागि ‘सर्ट सेलीङ’ जस्तो वित्तीय उपकरण न हुनुले पनी इन्साइडर ट्रेडिङलाई प्रोत्साहन गरेको प्रष्ट देख्न सकिन्छ । तसर्थ यस्तो किसिमको कारोबारलाई दुरुत्साहित गर्नका लागि पनि ‘सर्ट सेलिङ’ जस्तो वित्तीय औजारकाे आवश्यकता अपरिहार्य छ।