श्रीनगर । जम्मू कश्मीर प्रशासनले बुधवार नयाँ औद्योगिक नीतिमा पर्यटन सरोकारवालाहरुका लागि श्रीनगरमा एक कार्यशाला र जागरुकता कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रम पर्यटन विभाग र उद्योग तथा वाणिज्य विभागको संयुक्त लगानीमा आयोजना गरिएको थियो । दुबै विभागका विज्ञहरूले नयाँ औद्योगिक नीति २०२१ देखि २०३० को बारेमा पावरपोइन्ट प्रस्तुतीकरणहरू दिएका थिए ।
कार्यक्रमको क्रममा सहभागीहरूलाई नयाँ औद्योगिक नीतिहरूको महत्त्वबारे फर्म, कार्यालय, होटल, जग्गा आवंटन, बिजुली खर्च, पानीको सुविधा आदिकालगायतका बारे जानकारी दिइएको थियो । एएनआईसँग कुरा गर्दै पर्यटन कश्मीरका निर्देशक डा. जीएन इट्टूले भने, ‘सरकारले पेश गरेको नयाँ औद्योगिक नीतिमा धेरै क्षेत्रलाई धेरै प्रोत्साहन प्रदान गरिएको छ । सेवा क्षेत्रलाई मुख्य ध्यान केन्द्रित गरिएको र जसमा पर्यटन क्षेत्र पनि समावेश छ ।’
उनले यस कार्यक्रमको उद्देश्य सरोकारवालाहरुलाई प्रोत्साहनको फाइदाहरुलाई झन्झटमुक्त रुपमा उपयोग गर्न सक्षम गर्नु रहेको बताइएको छ । आगामी दिनमा पर्यटन क्षेत्रमा एक राम्रो पूर्वाधार उपलब्ध हुने र पर्यटकहरुको संख्यामा बृद्धि गर्ने सकिने जनाइएको छ । मानिसहरूलाई उपलब्ध प्रोत्साहन र उनीहरूले कसरी उपभोग गर्न सक्छन् भन्ने विषयमा कार्यशालामा जानकारी गराइएको छ ।
जम्मू कश्मीरमा पर्यटन उद्योगले प्रत्यक्ष वा अप्रत्यक्ष हजारौं मानिसहरूलाई रोजगारी सिर्जना गर्ने सम्भावना छ । तर भर्खर कोरोना महामारी र त्यसपछिको प्रतिबन्धका कारण उत्पन्न अनिश्चितताले गर्दा यस क्षेत्रका व्यक्तिहरुलाई ठूलो नोक्सान भएको छ । कार्यशालामा सहभागी मुनेर कादिरले भने, ‘सन् २०१९ देखि देखि पर्यटन उद्योगको मेरुदण्ड आर्थिक रूपमा टुक्रिएको छ ।’
उक्त पहलको प्रशंसा गर्दै उनले भने,‘त्यस्ता कार्यक्रमहरूको धेरै महत्त्व छ । यस्ता कार्यक्रमहरु नियमित आधारमा आयोजित गरिनुपर्दछ । यो कार्यशाला हाम्रा समस्याहरू समाधान गर्नका लागि साहसी कदम हो । हामी यस्तो पहललाई स्वागत गर्दछौं । पर्यटनसम्बन्धी सम्बन्धित व्यक्तिहरुलाई सहयोग दिइँदै छ । उनीहरुलाई राम्रोसँग मार्गदर्शन पनि गरिरहेको छ ।’