काबुल । तालिबानी समूहले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै पूरा विश्व त्यसविरुद्ध उभिएको छ । तालिबानी समूहले मुलुकमा अराजकता सिर्जना गर्नसक्ने भन्दै विभिन्न मुलुकहरुले आफ्ना नागरिकहरुलाई फिर्ता लैजाने क्रम सुरु गरिसकेको छ । तालिबानी समूहले राजधानी काबुलमा कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छोडेका छन् । उनले देश छोडेलगत्तै तालिबानी समूहले राष्ट्रपति भवन नियन्त्रणमा लिएका हुन् ।
करिब २० वर्षदेखि अफगान शान्ति र तालिबानी आतंकवादी समूहलाई परास्त गर्न लागेको संयुक्त राज्य अमेरिकाको विरासतमा ठूलो धक्का लागेको छ । तर, यही समयमा चीनले भने तालिबानी समूहको सत्ता कब्जाको प्रयासमार्फत फाइदा लिन खोजीरहेको छ । जुलाई २८, २०२१ मा तालिबानी समूहका नौ सदस्यहरुले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका थिए । चीनको तिन्जियानमा तालिबानी समूहका नेता मुल्ला अब्दुल घानी बरादरसहित नौ सदस्यीय टोलीले चिनियाँ विदेशमन्त्रीलाई भेट गरेका थिए । चीनसँग तालिबानी समूहको यसअघि पनि पटक पटक भेटघाट भएका कारण कुनै आश्चार्यजनक थिएन । तर, चीनले त्यसलाई आश्चार्यजनकरुपमा प्रचार गर्यो ।
चिनियाँ विदेशमन्त्री यीले तालिबानी समूहलाई अफगानिस्तानको महत्वपूर्ण सैन्य दस्ता र राजनीतिक शक्ति भएको रुपमा चित्रण गरे । उनले अफगानिस्तानको शान्ति, स्थायीत्व, मेलमिलाप र पुननिर्माण प्रक्रियामा तालिबान महत्वपूर्ण भूमिका खेल्नसक्ने बताएका थिए । चिनियाँ विदेशमन्त्रीको उक्त अभिव्यक्तिको १८ दिनपछि तालिबानी समूहले अफगानिस्तान कब्जा गरेको हो । चीनको उक्त अभिव्यक्तिले तालिबानी समूहलाई अन्तर्राष्ट्रिय मञ्चमा वैधानकिता प्रदान गरेको रुपमा लिइएको छ । तर पनि तालिबानी समूहलाई अधिकांश मुलुकहरुले भने आतंकवादी समूहको रुपमा पहिचान गरेका छन् ।
तालिबानी समूहसँग भेट हुनुभन्दा करिब १२ दिनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले अफगानी राष्ट्रपति असरफ घानीसँग टेलिफोन संवाद गर्दै चीनले अफगानिस्तानको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि सहयोग गर्ने भएको छ । तर, चीनको यो दाहोरो चरित्रका कारण अफगानिस्तानप्रति उसको इमान्दारिताप्रति प्रश्न उठेका छन् । चीनको समर्थनकै कारण अफगानिस्तानमा शान्ति स्थापना गर्ने पश्चिमा मुलुकहरुको २० वर्षको सैन्य अप्रेशन र सहयोग खेर गएको छ । चीनले तालिबानी समूहलाई पूर्ण समर्थन गरेको पाइएको छ ।