काठमाडौँ । दीपेन्द्र अग्रवाल नेतृत्वको नेपाल पूँजीबजार संघर्ष समिति र नेपाल धितोपत्र बोर्डबीचको वार्ता सफल भएको छ । आज बसेको सो वार्तामा समितिले ज्ञापनपत्रमा उल्लेख गरेका सबै मागहरु बोर्डको संचालक समितिमा लैजाने र सोहि अनुसार ५ कार्य दिनभित्र काम कारवाही अगाडी बढाई सोको जानकारी दिने उल्लेख छ । सहमतिपत्रमा बोर्डका पदाधिकारीहरु र संघर्ष समितिका अगुवाहरुले हस्ताक्षर गरेका छन् ।
यो समाचार सुन्दा ठुला भनिएका संगठनहरुलाई चस्स कतै बिझ्दो हो । तर लगानीकर्ताहरुलाई पीडा परेका बेला ती लगानीकर्ता संगठन भनिएकाहरु कोठाभित्र नै सिमित रहे ।
नेपालमा एउटा लगानीकर्ता संगठन छ । नाम फोरम, तर जाँडपार्टीमा मात्र पुग्छ कोरम । आम लगानीकर्ताका मागहरुमा सो संगठनलाई कुनै मतलव नै छैन ।
दोश्रो संगठन छ नेपाल पूँजीबजार लगानीकर्ता संघ । यो संघको नेतृत्वले आफु बिरामी भएका कारण आन्दोलनमा आउन नपाएको बताउँदै आएको थियो । तर केहि दिनअघि सो संघकि अध्यक्ष टेलिभिजनको पर्दामा देखिएकि थिइन् । लगानीकर्ताका पक्षमा इन्भेष्टर्स फोरमभन्दा बढी काम गर्ने भएपनि यो आन्दोलनमा सो संघको मौन भनिएको समर्थन बाहेक केहि रहेन ।
लगानीकर्ता दबाब समूह अघोसित संगठन हो । अहिलेको पूँजीबजार संघर्ष समितिजस्तै कुनैबेला सो संगठनमा दम थियो । र अहिले पनि छ । यो आन्दोलनमा सो समूहमा रहेका धेरैले साथ दिएका थिए ।
अर्को एउटा नाममात्रको संगठन छ । जसमा सदस्य एक दुई जनामात्र छन् । हम्मे हम्मे गरी पदाधिकारीहरु जोडजाम गरेका थिए । अहिले सो संगठनको नेतृत्व सामाजिक संजालमा अरुलाई गरेको गालीमा ताली ठोक्ने कम बाहेक केहि गर्दैन ।
तर लगानीकर्ताको मागमा जन्मियो एउटा समूह, जसले गरेर देखाईदिएको छ, गरे के नहुने रहेछ र ? आखिर असम्भव के रहेछ र ?
उनीहरुका माग सम्बोधन हुन्छन् वा हुन्नन्, त्यो फरक कुरा हो । तर जति गरिएको छ त्यो धेरै ठुलो कुरा हो । धितोपत्र बोर्डलाई घुंडा टेकाएर सो संगठनले आफ्नो बलमात्र देखाएको छैन, बरु लगानीकर्ताको एकताको बल पनि देखाएको छ ।
कसैलाई दीपेन्द्र अग्रवाल मन नपर्ने सक्छ । कसैलाई उसको टिम । तर अग्रवालको नेतृत्वमा जे भयो त्यो सराहनीय छ । माग सम्बोधन भएसँगै त्यसको सार्थकता अझ बढ्नेछ ।