गलेश्वर । धेरै मानिसको रहर काठमाडौंमा घर बनाउने, त्यहीँ बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्नका लागि कैयौँ व्यक्ति विदेश जान्छन् । गाउँको जायजेथा बेचेरै भए पनि दुई–तीन आनाको टुक्रे जग्गा किनेर काठमाडौंमा घर बनाउँछन् तर म्याग्दीका एक व्यक्ति कोरिया र काठमाडौं छोडेर गाउँमा स्थानीय जातका कुखुरापालन र १४ रोपनी क्षेत्रफलको धान फल्ने खेतमा केराखेती गरेर गाउँमा नै रमाएर बस्नुभएको छ । काठमाडौंको गोङ्गबुमा रहेको आफ्नो पाँचतले घर अरूलाई भाडामा दिएर गाउँ फर्किनुभएको बेनी नगरपालिका-२ बगरफाँटका दुर्गाबहादुर थापाको दैनिकी कुखुरा र केराखेतीको स्याहारसुसारमा बित्ने गर्छ । करिब २० वर्ष कोरिया बसेर फर्किनुभएका थापा काठमाडौंमा घर बनाएर एक दशकसम्म होटेल व्यवसायमा पनि लाग्नुभयो । आफ्नै घरमा सञ्चालन गरेको सपना गेष्ट हाउस अहिले अर्कैलाई भाडामा दिनुभएको उहाँले बताउनुभयो ।
बिहान उठेदेखि राति नसुतुन्जेलसम्म उहाँ कुखुराको खोर र केराबारीमा नै व्यस्त रहनुहुन्छ । काठमाडौँको बसाइलाई बिट मारेर गाउँ फर्किनुभएका ५४ वर्षीय थापाले गाउँमा रहरलाग्दो गरी कुखुरापालन र केराखेती गर्नुभएको छ । रु आठ लाखको लगानीमा उहाँले स्थानीय जातका कुखुरापालन गर्नुभएको छ । “खोर बनाउन र कुखुराका चल्ला खरिद गर्न रु आठ लाख लगानी भइसकेको छ,” थापाले भन्नुभयो, “काठमाडौँको एकाङ्की जीवनभन्दा यही आनन्द छ । आफ्नै माटोमा रमाउनुको मज्जै बेग्लै हुँदो रहेछ । मनमा शान्ति छ, शरीरमा स्फुर्ती छ, यहाँभन्दा बढी के चाहियो र ?”
दुई वर्षअघि कोभिड-१९ को सङ्क्रमण सुरु हुने बित्तिकै श्रीमती, छोरा र बुहारीसहित गाउँ फर्किनुभएका थापाले कोरोना सङ्क्रमणको पहिलो लहर सुरु हुने बित्तिकै आठ रोपनी जग्गामा करिब एक हजार केराका बिरुवा लगाएर कृषि कर्मको शुभारम्भ गर्नुभयो । “यो खेतमा पहिला धान फल्थ्यो, धान खेती गर्न लागत बढी लाग्ने, उत्पादन कम हुने, झन्झटिलो हुने र कृषि मजदुरको पनि अभाव हुने भएकाले मैले धान फल्ने खेतमा केराखेती गरेको हुँ,” घर पछाडिको केरा बारीलाई देखाउँदै थापाले भन्नुभयो, “दुई वर्ष भयो, अब आउँदो वर्षदेखि केरा बिक्री गरेर वार्षिक रु चार लाखभन्दा बढी कमाई गर्ने लक्ष्य लिएको छु ।” थापालाई उहाँकी श्रीमती र छोराले पनि सघाउने गर्नुभएको छ ।
त्यसैगरी थापाले यस क्षेत्रमा नै पहिलोपटक व्यावसायिक रुपमा स्थानीय जातका कुखुरापालन गर्नुभएको छ । उहाँको खोरमा अहिले ६०० भन्दा बढी स्थानीय जातका कुखुरा बिक्री गर्नका लागि योग्य भएका छन् । प्रतिकुखुरा करिब तीन किलोग्राम बराबरका छन् । प्रतिगोडा रु दुई हजारका दरले बिक्री गर्न सुरु गर्नुभएको छ । दसैँमा विशेष छुटका साथ कुखुरा बिक्री गर्ने थापाले बताउनुभयो । “मैले रहरले गरेको व्यवसाय हो, एकै पटक धेरै नाफा कमाउने उद्देश्यले मैले व्यवसाय गरेको होइन, ग्राहाकलाई खुसी बनाएर पठाउने र सन्तुष्टि दिलाउने मेरो प्रयास हुनेछ,” उहाँले भन्नुभयो ।
घर वरिपरि रहेको १४ रोपनी जग्गामध्ये आठ रोपनीमा केराखेती र बाँकी ६ रोपनीमा फलफूल, तरकारी खेती गर्नाका साथै कुखुराको खोर बनाउनुभएको छ । सानाठूला गरी तीनवटा खोरमा उहाँले स्थानीय जातका कुखुरा पाल्नुभएको छ । एउटा खोरमा कालिज प्रजातिको ‘कक्कड’ नामक कालो कुखुरा पनि बिक्रीयोग्य भएका छन् ।“जीवनमा धेरै दुःख गरियो, धेरै थोरै कमाइयो पनि,” उहाँले भन्नुभयो, “तर, कहीँ पनि मन रमाउन सकेन, यसैले आफ्नै गाउँ फर्कियौँ ।”-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्