भजनी । जानकी गाउँपालिका-८ का लालवीरे कामीले दशैँको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाउनुभयो । प्रतिव्यक्ति रु ५०० का दरले उहाँले ज्याला व्यापत रु चार हजार तिर्नुपर्यो । उहाँले धान कटाए पनि भित्र्याउन भने पाउनुभएन । ‘गत वर्षको भन्दा धान राम्रो थियो । यस वर्ष उत्पादन राम्रो हुन्छ भन्ने अपेक्षा थियो’, उहाँले भन्नुभयो, ‘खेतमा लगाएको एक दाना धान पनि भित्र्याउन पाइएन । सबै बाढीले बगायो । अब के खुवाएर परिवार पाल्ने ? आफूले के खाने ?’ टीकापुर नगरपालिका-३ शङ्करपुरका लक्ष्मण बस्यालले आकाशको पानी पर्दा थोरै भए पनि आशा जीवित रहेको जनाउँदै जमरा कुलोको बाढी खेतमा पसेपछि धानको एक मुठ्ठा पनि खेतमा नबचेको बताउनुभएको छ ।
उहाँले जमरा कुलोमा लगाइएको बाँधका कारण पनि शङ्करपुर क्षेत्र बढी डुबानमा परेको जनाउँदै सम्झँदा आँखा रसाउने गरेको गुनासो गर्नुहुन्छ । ‘वर्षभरि खाने धान पूरै बगाएर लगिसक्यो अब हामीले के खाने ? किनेर खानसक्ने क्षमता छैन । हामी दिनभरि मजदुरी गरेर खाने मान्छे त्यसमाथिको अहिलेको महङ्गाइमा’, उहाँले भन्नुभयो, ‘खेत रोप्दा लागेको ऋृण पनि तिर्न सकेको छैन । कसरी ऋृण तिर्ने कसरी परिवार पाल्ने ? अहिलेको समयले निकै चुनौती दिएर गएको छ ।’
टीकापुरकै आशिष जनालाले पनि दशैँको पछिल्लो दिन तीन बिघा क्षेत्रफलको धान कामदार लगाएरै काट्नुभयो । परिवारसँग दशैँको बेला रमाइलो गरेको उहाँका लागि अर्को दिनसम्म टिकेन । कोरोनाका कारण भारतमा मजदुरी गरेर परिवार पाल्ने उहाँ आफ्नै गाउँमा केही गर्नुपर्छ भनेर गाउँ फर्किएको बताउनुहुन्छ । उहाँले आफ्नो र आफ्ना अन्य परिवारको सबै जग्गामा खेती सुरु गरेको पहिलो वर्षमै समयले निकै ठूलो चुनौती दिएर गएको छ । ‘कोरोनाले परदेशबाट लखेट्यो । स्वदेशमा बदलिँदो मौसमले लखेट्दै छ’, उहाँले भन्नुभयो, ‘अब कता जाने ? कतै ठाउँ नै छैन । लागेको ऋण र परिवारलाई कसरी पाल्ने ? निकै अप्ठ्यारो मोडमा पुगिएको छ ।’
कर्णाली नदीले कटान गरेर बाढी गाउँमा पस्दा नगरपालिकाको सूर्यपुर, वसन्ता, बटनपुर, फाँटा, सत्ती, कर्मीडाँडा, सिमरेनी, अरुणाफाँटालगायतका गाउँमा बढी असर पारेको छ । सो क्षेत्रमा बढी मात्रामा खेती हुने गर्छ । केही वर्ष पहिले बाढीले निकै प्रभावित हुने सो क्षेत्रमा सात वर्षयता बाढी देख्नुपरेको थिएन । आकाशको पानी पर्दासम्म पराल नभए पनि धान बचाउन सकिन्छ कि भन्ने आशा किसानमा थियो । तर त्यो आशा पूर्णरूपमा निराशामा परिणत भयो । कर्णालीको उर्लँदो भेल खेतमा पसेपछि आफूहरु मुकदर्शक बन्नुबाहेक केही नभएको किसान सीताराम चौधरी बताउनुहुन्छ ।
‘हामीले चाहेर रोक्न पनि नसकिने । पानीमा तैरिरहेको धानलाई सङ्कलन गर्न पनि नसकिने’, उहाँले भन्नुभयो, ‘एकाएक बाढी खेतमा पसेपछि पानीमा तैरेको धान कर्णालीमै मिसियो । अब चिन्ता बढ्न थालेको छ । के खाने ? परिवारलाई के खुवाउने र पशु चौपायालाई के खुवाएर पाल्ने ?’ जग्गा भाडामा लिएर कुखुरा फार्म सञ्चालन गर्दै आउनुभएका लक्ष्मीप्रसाद अधिकारीको फार्ममा रहेका करिब ५०० कुखुरा बाढीले बगायो । आफ्नै देशमा केही गर्नुपर्छ भनेर लाग्नुभएका उहाँको सपना बाढीले पूरा हुन दिएन ।
‘सँगैका साथीहरु विदेश जानुपर्छ भनेर सधैँ कर गर्थे । मैले आफ्नै देशमा केही गर्नुपर्छ भनेर सम्झाए पनि सबै साथीहरु विदेशमा राम्रो कमाउँदैछन् । आफूले ऋण जोहो गरेर जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेँ त्यो पनि बाढीले बगायो’, उहाँले भन्नुभयो, ‘अब आफ्नो लगानी त टाढाको कुरा भयो जग्गा भाडा पनि कताबाट तिर्ने भन्ने चिन्ता छ ।’ टीकापुर र जानकी मात्रै हजारौँ बिघा क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा नष्ट भएको छ । बाढी कटानले हुलाकी राजमार्गअन्तर्गत सत्ती नजिक झण्डै २०० मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्धसमेत भत्काएको छ । कर्णालीले पनि ठाउँठाउँमा तटबन्ध भत्काएर बाढी बस्तीमा पसेको हो ।