×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अझै सुरु हुन सकेन भरतपुरमा अटोल्याण्ड निर्माण, बजार अव्यवस्थित बन्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अझै सुरु हुन सकेन भरतपुरमा अटोल्याण्ड निर्माण, बजार अव्यवस्थित बन्दै

Artha Sarokar

१९ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

भरतपुर । भरतपुरमा अटोल्याण्ड (अटोभिलेज) बनाउने चर्चा चलेको बर्षौँ भए पनि काम भने सुरुवात हुन सकेको छैन । पछिल्लो समय अटोल्याण्ड नहुँदा नारायणगढ बजार अव्यवस्थित बनेको छ । बजारको सौन्दर्यमा ह्रास आउनुका साथै कुरुप बनेको छ । नारायणगढका व्यवसायीहरूले अटोल्याण्ड बनाउन भरतपुर महानगरसँग पटक-पटक माग पनि गर्दै आइरहेका छन् । अटोल्याण्ड निर्माण भए बजारमा अव्यवस्थितरूपमा छरिएर रहेका वर्कशप र ग्यारेज एकत्रित हुनुका साथै बजारको सौन्दर्यकरण पनि बढ्ने व्यवसायीको भनाइ छ ।

भरतपुर महानगरले वडा नं ३ को नारायणी नदी किनार (नगरवन क्षेत्र)मा अटोल्याण्ड बनाउने योजना अघि सारेको छ । महानगरपालिकाका प्रवक्ता एवं अटोल्याण्ड व्यवस्थापन समितिका सदस्य अरुणपीडित भण्डारीले नदी किनार क्षेत्रमा ३५ बिघा जग्गामा अटोल्याण्ड बनाउने गरी विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर) तयार भइसकेको जानकारी दिनुभयो । आठ महिनाअघि डिपिआर बनेको बताउँदै प्रवक्ता भण्डारीले अब छिट्टै काम सुरु गरिने जानकारी दिनुभयो ।

अटोल्याण्ड व्यवस्थापन समितिमा अटोमेकानिक व्यवसायी संघ चितवन र चितवन अटो मोबाइल्सल एशोसिएशनका तर्फबाट प्रतिनिधित्व गर्दै संयोजन गरिरहनुभएका बलराम भण्डारीले अटोल्याण्ड बनाउन इआइएको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । उहाँले करिब दुई अर्ब ८० करोडको लागत अनुमान गरिएको र यसभित्र नारायणी तटबन्धनसमेत रहेको बताउनुभयो ।

“अटोल्याण्ड बनेपछि अटोमोबाइलसम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट उपलब्ध हुने छ । यातायातका सम्पूर्ण सवारीसाधन मर्मत गर्ने वर्कशप एकै ठाउँमा रहेर सेवा प्रदान गर्नेछ”, उहाँले भन्नुभयो । सहरको वातावरण सफा राख्न र जथाभावी खुलेका वर्कशप तथा ग्यारेजलाई एकत्रित गर्न अटोल्याण्डले सहज हुने उहाँले बताउनुभयो ।

नेपाल अटो मेकानिकल्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराईले भरतपुरमा अटोल्याण्डको आवश्यकता महसुस गरेर आफूहरुले विसं २०६४ देखि नै यसको माग गर्दै आएको जानकारीदिनुभयो । उहाँले भरतपुर महानगर बनेपछि बल्ल यसको आवश्यकता महसुस गरेको भए पनि काम अघि बढ्न नसकेको बताउनुभयो । बुटवल, दाङको तुलसीपुर र घोराहीमा अटोभिलेज बनिसकेको उहाँले जानकारी दिनुभयो । अटोभिलेज भएपछि त्यहाँका व्यवसायी र ग्राहकले सुविधा पाएका छन् । “अटोल्याण्ड बनेपछि यातायात व्यावसायीलाई हुने फाइदामा सर्वप्रथम व्यावसायीको स्थायित्व हो । व्यवसाय कहिले कता रु कहिले कता सार्न परेन”, उहाँले भन्नुभयो ।

अव्यवस्थितरूपमा बजारको बीचमा रहेका वर्कशपबाट उत्पादन हुने फोहर र ध्वनि प्रदूषणले बजारलाई कुरुप बनाइरहेकाले त्यो एकै ठाउँमा व्यवस्थित भएपछि यो समस्या हट्ने छ । यदि कसैले आफ्नो जग्गामा व्यवस्थित तवरले वर्कशप चलाउँछ भने उसले जहाँ पनि वर्कशप सञ्चालन गर्न पाउने भट्टराईको भनाइ छ । अरुलाई अप्ठ्यारो हुने गरी सञ्चालनमा रहेका वर्कशपलाई मात्र अटोल्याण्डमा ल्याइने भएकाले सबै नगरवासी र व्यवसायीलाई यस कार्यमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

“नारायणीमा ठूलो तटबन्धन नभई काम छैन । अहिले जहाँ जग्गा दिने भनेको छ । त्यहाँ यस वर्ष बाढी पसेको थियो”, उहाँले भन्नुभयो, “तटबन्धनसहित बाटोघाटो र पानी पु¥याएर महानगरले जग्गा हस्तान्तरण गर्नुपर्छ । त्यसपछि व्यवसायी आफैँले भवन बनाउँछन् ।” अटोल्याण्ड बनेपछि महानगरलाई पनि फाइदैफाइदा हुने उहाँको भनाइ छ । “हामीले जग्गाको भाडा महानगरलाई तिर्छौँ । महानगरलाई फाइदैफाइदा छ । सहर पनि सुन्दर हुन्छ”, उहाँले भन्नुभयो ।

एशोसिएशनका पूर्वअध्यक्ष शिवराज गिरीले भरतपुरमा अटोल्याण्डका आवश्यकता रहेको बताउनुभयो । उहाँले बजार पृथकीकरण सिद्धान्तअनुसार अटोल्याण्डको अवधारणा ल्याइएको बताउनुभयो । उहाँले मर्मत गर्न लामो समय लाग्ने सवारी तथा वर्कशपलाई ल्याण्डमा ल्याउन आवश्यक रहेको बताउनुभयो । सामान्य मर्मत तथा एकै दिनमा सम्पन्न हुने काम भने ठाउँठाउँमा राख्न सकिने उहाँको भनाइ छ ।

“दुई प्राङ्ग्रेबाहेकका सवारी जसको मर्मत गर्न समय पनि लाग्छ र स्थान पनि धेरै चाहिन्छ । उनीहरु ल्याण्डमा आउन आवश्यक छ । यस्तै पेन्टिङका काम गर्ने सवारी पनि ल्याण्डमा आउँछन्”, उहाँले भन्नुभयो, “तत्काल सामान्य मर्मत गर्ने वर्कशप व्यवस्थित तवरले जहाँ पनि हुन्छन् । किनकि उपभोक्ताको दृष्टिकोणबाट पनि ठाउँठाउँमा वर्कशप हुनु राम्रो हो ।” अटोल्याण्डमा स्वस्थ प्रतिस्पर्धा हुने हुँदा उपभोक्ता ठगिनबाट पनि बच्ने उहाँको भनाइ छ । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी