कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले व्यावसायिक खेतीका लागि कृषि अनुदान कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । किसानलाई गाउँमै बसेर पनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आत्मननिर्भर बनाउन र उनीहरुको आयआर्जनमा सुधार ल्याउन सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषि औजार, प्लाष्टिकका टनेल निर्माण, सिँचाइ, बीउबिजनलाई समेटिएको छ । नगरपालिकाका ११ वटै वडाका किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी अनुदानमूलक कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका कृषि शाखाप्रमुख लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार किसानलाई अनुदानमा कृषि औजार वितरणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले रु २७ लाख बजेट विनियोजन गरेको छ । “मागका आधारमा ५० प्रतिशत अनुदानमा कृषि औजार वितरणका लागि कार्यक्रम अगाडि बढाएका छौँ उनले भने “व्यावसायिक खेतीमा संलग्नलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।”
किसानले प्रति टनेलमा पनि ५० प्रतिशत अनुदान पाउने व्यवस्था गरिएको छ । टनेल निर्माणका लागि नगरपालिकाले प्लाष्टिक उपलब्ध गराउने उनले बताए । यस कार्यक्रमअन्तर्गत प्लाष्टिकको टनेलमा निर्माणका लागि रु तीन लाख तथा फलाम ट्रष्टसहित प्लाष्टिक टनेल निर्माणका लागि रु चार लाख ५० हजार वजेट विनियोजन गरिएको उनले बताए । त्यस्तै तरकारी, केरा लगायतको खेतीलाई अगाडि बढाउँदै आएका किसानलाई ५० प्रतिशत अनुदानमा नगरपालिकाको कृषि शाखाले सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटर वितरण गर्नका लागि रु १२ लाख वजेट विनियोजन गरिएको शाखाप्रमुख धामीको भनाइ छ । किसानलाई सुपरग्रिन ब्यागसमेत अनुदानमा उपलब्ध गराइने उनले बताए । “तीन लेयरको ब्यागमा राखेको अनाजमा घुन, पुत्ला तथा किरा नलाग्ने भएकाले अन्न सञ्चित राख्नका लागि प्रयोग हुने यस्ता ब्याग किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँछौं”, उनले भने , “यसका लागि रु तीन लाख वजेट विनियोजन भएको छ ।”
शाखाप्रमुख धामीका अनुसार किसानलाई इलेक्ट्रिक स्प्रे ट्याङ्की अनुदानमा उपलब्ध गराउनका लागि समेत रु तीन लाख वजेट विनियोजन गरिएको र अनुदानमा सो ट्याङ्की प्रदान गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यसैगरी, पकेट क्षेत्र विस्तार गर्नका लागि ससर्त अनुदान कार्यक्रमअन्तर्गत १२ लाख विनियोजन गरिएको छ । केरा पकेट क्षेत्र विस्तारका लागि तीनवटा पकेटमा रु चार लाखका दरले र तीनवटा धान पटेक क्षेत्रका लागि रु चार लाखका दरले अनुदान रकम उपलब्ध गराइनेछ । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्