दार्चुला । व्याँस गाउँपालिका–१ तिङ्करका वीरेन्द्र तिङ्करी वैशाख २६ गते भारतीय बाटो हुँदै मतदान गर्न तिङ्कर हिँडे । यही वैशाख २७ गते बेलुकी ७ बजेदेखि सीमा नाका बन्द हुने भएपछि तिङ्करी भारतीय बाटो हुँदै गाउँ पुगेका हुन् । “हामी आफ्नै गाउँपालिकाको वडा कार्यालय पुग्न भारतको अनुमति लिएर जानुपर्छ,” स्थानीय दानसिंह तिङ्करीले भने, “चुनाव हुने दुई बस्तीका गाउँलेहरूले पनि मतदानका लागि भारतकै अनुमति लिएर पुगेका छन् ।”
तिङ्कर र छाङ्गरुवासी छ महिना मात्र गाउँमा बस्छन् । उच्च हिमपात र जाडो छल्नका निम्ति उनीहरू कात्तिकको अन्त्यतिर गाईवस्तुसहित बेँसी झर्छन् । अनि जेठ पहिलो साता उनीहरु पशुचौपायासहित यस पटक पुनः गाउँमा फर्किएका छन् । हाल ती गाउँमा आलु, कोदो र फापरलगायत बाली लगाउने मौसम हो । चुनावका कारण नियमित बस्नेभन्दा बढी मानिस गाउँतर्फ उक्लिएका छन् ।
सरकारले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री गत शनिबार हेलिकप्टरमार्फत त्यसतर्फ पठाएका थिए । तर सामान्य मानिसको ओहोरदोहोर त निकै कष्टकर भएको छ । स्थानीयवासी नरेन्द्रसिंह बोहराले भने, “सानो गाउँ भएको कारण एक दिनमा दुवै गाउँ घुम्न सकिन्छ ।” छाङ्गरुको कैलाशपति आधारभूत विद्यालय मतदान केन्द्रमा ३७५ र तिङ्करको मोती महिला सङ्घ आधारभूत विद्यालयको केन्द्रमा २३१ मतदाता छन् ।
पूर्ववर्ती सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेका थिए । नक्सामा समेटिएको भूगोलभित्र नावी, गुञ्जी र कुटी गाउँ पर्छ । राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा ५०० को हाराहारीमा जनसङ्ख्या रहेको बताइएको छ । तर यस क्षेत्रका नागरिक नेपालको मतदाता नामावलीमा नसमेटिएका कारण यो पटक निर्वाचनमा सहभागी हुने अवस्था नरहेको जिल्ला निर्वाचन अधिकृत प्रदीपसिंह धामीले जानकारी दिए ।
“हामीले छाङ्गरु र तिङ्करका लागि मतदान अधिकृतसहितको कर्मचारी हेलिकप्टरमार्फत पठाइसकेका छौँ,” प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने । भारतसँग सीमा जोडिएको छाङ्गरु र चीनको सीमा नजिकको तिङ्कर गाउँमा यो पटक सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिएका छन् । भौगोलिक रुपमा विकट रहेको यो ठाउँमा यो पटक म्यादी खटाइएको छैन ।
बाटो बनाउनेलाई भोट
वि.सं ०६२/६३ अघिसम्म सदरमुकाम खलङ्गादेखि छाङ्गरु तिङ्कर पुग्न नेपालकै घोरेटो बाटो थिए । व्यासीको गाउँ आउजाउ र बसाइँसराइ ९ कुञ्चा० नेपालकै भूमि भएर हुने गरेका थिए । तर यसपछि बैतडी–दार्चुला–तिङ्कर घोरेटो बाटो पुनर्निर्माण नहुँदा व्यासीलाई थातथलो पुग्न हरेक वर्ष भारतीय बाटोको प्रयोग गर्नुपरेको छ ।
दार्चुला सदरमुकाम खलङ्गादेखि व्याँस–२ दुम्लिङसम्म घोरेटो बाटोको अवस्था सामान्य भए पनि त्यहाँदेखि व्याँस गाउँपालिका–१ छाङरुसम्म क्षतविक्षत छ । सदरमुकामस्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट भारत प्रवेश गरी छाङ्गरुस्थित सीतापुलबाट महाकाली नदी पार गरी उनीहरू गाउँ पुग्ने गरेका छन् ।
भत्केको बाटो मर्मत नहुँदा भारतीय बाटो प्रयोग गर्नु बाध्यता रहेको व्याँस–१ का विमल बोहराले बताउनुभयो । दुम्लिङदेखि छाङ्गरुसम्मको घोरेटो बाटोको दर्जनभन्दा बढी ठाउँमा पहिरो र महाकाली नदी कटानका कारण भत्किएको छ । द्वन्द्वकालमा कुञ्चा सार्न भारतीय बाटो प्रयोग गर्न सुरु गरेका यहाँका स्थानीयवासीलाई अहिले पनि भारतकै बाटोबाट आवतजावत गर्नुपरेको छ ।
गत वर्ष सेनाले ५०० मिटर घोरेटो बाटो पुनर्निर्माण गरे पनि महाकाली नदी कटान, भारतीय सडक निर्माणमा प्रयोग भएको विस्फोटक पदार्थका कारण नेपालतिरको अधिकांश बाटो भत्किएको छ । “यो पटक बाटो बनाउने प्रतिबद्धता गरी आउने उम्मेदवारलाई मात्रै भोट जान्छ,” स्थानीयवासी दानसिंह तिङ्करीले भने, “नेता आउँछन् प्रतिबद्धता केही छैन ।” अहिले स्थानीयवासीले गाउँपालिकाका अध्यक्षका उम्मेदवारलाई पनि घोरेटो बाटोको एजेन्डाका रुपमा अघि सारेका छन् । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्