बझाङ । यहाँका १६ वर्षीय लोकेश सिंह १० कक्षामा पढ्छन् । उनका भाइ अविशेक अहिले १३ वर्षका भए उनी ६ कक्षामा अध्ययनरत छन् । जेठको पहिलो हप्ताबाट उनीहरूकोे विद्यालय चलिरहे पनि उनीहरूलाई भने विद्यालय र पढाइभन्दा खेतीपाती लगाउने कामको चिन्ता र चटारो छ । “बिहान ५ बजे उठेर विद्यालय जान्छौँ, १ बजे दिउँसो विद्यालय बन्द हुन्छ, घरमा दिउँसो १ बजे खाना खाएर साँझ ६ बजेसम्म खेतमा काम गर्न जान्छौँ”, आफ्नो दैनिकी विस्तार गर्दै लोकेशले भने, “सबैका खेत जोतिसके, हाम्रो मात्र बाँकी छ, विद्यालय गएका बेला पनि कामकै चिन्ता लाग्छ ।”
लोकेशका बाबु लखन छ महिनाअघि कामको खोजीमा भारत हिँडेपछि उनीहरूमाथि खेतीपातीलगायत घरको कामको सम्पूर्ण जिम्मा थोपरिएको हो । अहिले उनको घरमा आमा र दुई भाइमात्र छन् । महिलाले हलो जोत्नेलगायतका खेतीपातीका काम गर्ने चलन नभएका कारण उनीहरुलाई कामको बोझ आइलागेको हो । उनी मात्र नभएर उनका गाउँका अधिकांस बालबालिकाको दैनिकी यस्तै छ । लोकेशको गाउँ कैलासबाट मात्र ५०० भन्दा बढी पुरुष कामको खोजीमा भारतमा छन् । जिल्लाभरबाट कति मानिस भारत गएका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि यस वर्ष मात्र बझाङबाट १० हजारभन्दा बढी भारत गएको अनुमान छ ।
घरको कामधन्दा चलाउने र खेतीपाती लगाउने मानिस घर नफर्केपछि जिल्लाका हजारौँ बालबालिकामाथि कठोर शारीरिक श्रम गरेर घरपरिवार चलाउने जिम्मेवारी परेको छ । कार्यबोझका कारण पढाइप्रति ध्यान दिने समय नपाउँदा पठनपाठन प्रभावित भएको बालबालिका बताउँछन् । छ महिनाअघि श्रीमान् विदेश गएपछि आफ्ना जुम्ल्याहा नौ वर्षका दुई छोराले सबै खेतीपातीको काम धानिरहेको बताउने पिमिकी लालदेवी सिंहले भने, “उब्जनी नभए पनि खेती ठूलो छ, यिनीहरू नभए त मेरो बिचल्ली हुने थियो, कसैलाई सहयोग मागौँ भने पनि गाउँमा मान्छे नै छैनन्, धन्न मेरा छोराले खेती धानिरहेका छन् ।”
बालबालिकामाथि कामको बोझ थपिएपछि पढाइमा पनि कमजोर हुने गरेको नारायण माध्यमिक विद्यालय कैलासका शिक्षक लोकेन्द्रबहादुर सिंहले बताए । “खेतीपाती लगाउने समय छ, घरमा काम गर्ने मानिस नभएका कारण विद्यार्थी त्यतैतिर बढी व्यस्त हुने गरेका छन्, स्कुल त नियमित आउन पाउँदैनन्, गृहकार्य पनि सधैँजसो गरेको पाइँदैन”, गाउँको अवस्था जानकारी दिँदै सिंहले भने, “अभिभावक घरमा हुनेभन्दा विदेश गएका मानिसका बालबालिका पढाइमा निकै कमजोर देखिएका छन ।” घरमा काम गर्ने मानिस नभएकाले बालबालिका पनि पढाइभन्दा घरको कामप्रति नै बढी चिन्तित हुने गरेको उनको भनाइ छ । “कतिपयका त आमाबुवा नै भारत गएका छन्”, जयपृथ्वी नगरपालिका–३ पडेसका दीपेन्द्र खड्काले भने, “सारा घरको जिम्मा केटाकेटीमाथि नै परेका कारण पढाइको बारेमा त सोच्ने फुर्सद नै पाएका छैनन् ।” सानो उमेरमै बोझिलो कामको मारले थिचिएका बालबालिकाको मानसिक र शारीरिक विकासमा गम्भीर असर परेको उनले बताए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्