×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शीतभण्डारको पर्खाइमा किसान, लागतभन्दा कममा उत्पादन बिक्रि गर्न बाध्य

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शीतभण्डारको पर्खाइमा किसान, लागतभन्दा कममा उत्पादन बिक्रि गर्न बाध्य

Artha Sarokar

५ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँका रामबहादुर चौधरी व्यावसायिक तरकारी खेती गर्छन् । उनले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आए पनि बजारीकरणको समस्याका कारण मौसमी तरकारीबाट राम्रो आम्दानी लिन सकेका छैनन् । उनले एक याममा १०० क्विन्टलभन्दा बढी आलु उत्पादन गर्छन् । त्यो समयमा सबैसँग आलुको उत्पादन भएका कारण उनले रु. २० प्रतिकिलो बिक्री गर्नुपर्ने बाध्यता छ ।

“उत्पादन नभएर किसान मर्कामा छैनन् । किसान बजारीकरणको समस्याका कारण मर्कामा छन् । हिजो हामीले रु. २० प्रतिकिलो बिक्री गरेको आलु आज बजारमा रु. ६० मा आफैँले खरिद गरेर खानुपर्ने अवस्था छ ।” रामबहादुरले भने, “यदि उत्पादन गरेको तरकारीलाई भण्डारण गर्ने व्यवस्था भएको भए हामीले लागतभन्दा कममा आफ्नो उत्पादन बिक्री गर्नुपर्ने अवस्था आउने थिएन ।”

टीकापुरकै अरुण चौधरी पनि व्यावसायिक तरकारी खेती गर्छन् । उनले बेमौसमीभन्दा बढी मौसमी तरकारी खेती गर्छन् । ‘सिजन’मा सबैले तरकारी खेती गर्ने भएका कारण अरुणले उत्पादन भएको वस्तुबाट चाहेजस्तो फाइदा लिन सकेका छैनन् । “बजारीकरण वा भण्डारणको राम्रो व्यवस्था भए उत्पादन भएको वस्तुलाई राम्रो मूल्यमा बिक्री गर्न सकिन्थ्यो” अरुणले भने, “रानीजमरा कुलरिया सिँचाइ आयोजनाले कृषिमा राम्रो सहयोग गर्दै आएको छ त्यसलाई बजारीकरण र भण्डारणको लागि व्यवस्था गर्न सकेको भए किसानलाई राहत हुने थियो ।”

कार्यान्वयन एकाइले निर्माण गर्ने भनिएको शीतभण्डारलाई लक्षित गर्दै किसानले गुनासो बढी गर्ने गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा नै शीतभण्डार निर्माणको लागि बजेट विनियोजन गरेको थियो । तीन वर्षदेखि निर्माणको प्रक्रियामा रहेको शीतभण्डार निर्माणको काम चालु आर्थिक वर्षमा सुरु हुने भएको छ । राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन एकाइको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लागत रहने गरि निर्माण हुने भनिएको शीतभण्डारको काम चालु आवमा सुरु हुने भएको हो ।

तीन वर्षदेखि कुलो समितिले उठाउनुपर्ने रकम सङ्कलन हुन नसक्दा बजेट कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो । तीन कुलो समितिको हुन आउने रकमको रु. ८५ लाख जम्मा गरेर बाँकी रु. एक करोड १५ लाख टीकापुर नगरपालिकाले उपलब्ध गराउने भएपछि कार्यान्वयन एकाइले शीतभण्डारको काम अगाडि बढाएको कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीले बताएका छन् ।

“हाम्रा पनि केही प्राविधिक समस्या थिए । त्यसैमा कुलो समितिले उठाउनुपर्ने २५ प्रतिशत रकम जम्मा गर्न नसक्नु, जग्गाक टुङ्गो नलाग्नु र कार्यालयका तर्फबाट त्यसको सम्भाव्यता अध्ययनको रिपोर्ट ढिला आउनुले पनि काममा ढिलाइ भएको हो ।” कार्यान्वयन एकाइका प्रमुख जोशीले भने, “कुलो समितिले उठाउनुपर्ने रकम पनि जम्मा भएको छ । हामीले असोज÷कात्तिकबाटै शीतभण्डार निर्माणको कामलाई अगाडि बढाउने गरी प्रक्रियामा लागिसकेका छौँ ।”

विगत तीन आवमा रु. तीन करोड बजेट विनियोजन गर्दै क्रमागत आयोजनाका रुपमा लिने योजना बनाएको कार्यान्वयन एकाइले चालु आवमा भने एकै वर्षमा काम सम्पन्न गर्ने गरी रु. छ करोड बजेट विनियोजन गरेको छ । कार्यान्वयन एकाइले आलु भण्डारलाई विशेष प्राथमिकतामा राखेर शीतभण्डार निर्माण गर्न लागेको प्रमुख जोशी बताउँछन् । “हाम्रो कार्यक्रममा पनि आलुखेती विस्तार तथा आलु पकेट क्षेत्र घोषणा समावेश गरिएको छ । त्यसैअनुसार आलुलाई विशेष महत्वका साथ लिएका छौँ ।” प्रमुख जोशीले भने, “शीतभण्डार निर्माण भएपछि यस क्षेत्रका १६ हजार किसानलाई प्रत्यक्ष लाभ मिल्ने छ ।”

टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले शीतभण्डार निर्माण भएपछि स्थानीय उत्पादनलाई भण्डारण गरेर बजारीकरणमा सहज हुने बताउँदै यसले भारतीय तरकारीलाई विस्थापित गर्ने विश्वास व्यक्त गरेका छन् । करिब रु. सात करोड लागत अनुमान गरिएको एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएपछि टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्किचुहा नगरपालिकाका केही वडाका किसानले प्रत्यक्ष लाभ लिनसक्ने छन् । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी