टीकापुर । कैलालीको जानकी गाउँपालिकाले पालिकामा खाइने तथा खुवाइने नास्तामा स्थानीय परिकारलाई प्राथमिकता दिएको छ । पालिकाले कार्यालयले सञ्चालन गर्ने हरेक कार्यक्रममा नास्ताका रुपमा परम्परागत स्थानीय खानालाई प्राथमिकता दिने गरेको छ ।
पालिकामा नास्ताका रुपमा ढिक्री र सेलरोटी दिन थालिएको हो । पालिकाले स्थानीय खानेकुरालाई प्रवद्र्धन गर्नका लागि स्थानीय परिकार खुवाउने निर्णय गरेको हो । थारु समुदायमा चाडपर्वका रुपमा पकाइने ढिक्री आजभोलि हरेक कार्यक्रममा दिइने नास्तामा प्रयोग गर्न थालिएको छ ।
“पालिकाको कार्यक्रममा ढिक्री नास्ता खान पाइयो, हामी चाडपर्वमा पकाउने, खाने चलन थियो”, स्थानीय सुप्रिया चौधरीले भने, “विगतमा कार्यक्रममा जाँदा मःमः, चाउमिन तथा अन्य परिका खान पाएकी म, ढिक्री खान दिएपछि खुसी लाग्यो, घरमै खाएको जस्तो लाग्यो ।”
थारु समुदायमा चाडपर्व विशेषमा परम्परागतरुपमा बनाइने ढिक्री महत्वपूर्ण र स्वस्थ खानाका रुपमा लिइन्छ । दसैँ, देवारी र माघी पर्वमा थारु गाउँघरमा सबैको घरमा ढिक्री अनिवार्य बनाउने गरिन्छ । योसँगै समय विशेष भोजभतेर अथवा कोही पाहुनालाई स्वागत सत्कार तथा कोसेलीका रुपमा दिनका लागि थारु समुदायमा ढिक्री बनाइन्छ र यसको महत्व त्यहीअनुसार लिने गरेको पाइन्छ ।
पालिकाले यही खाजालाई प्राथमिकता दिएपछि परम्परागतरुपमा बनाइने स्वस्थवद्र्धक खानाका रहने ढिक्री अहिले बजारमा पाउन थालेको छ । चामलको पिठोबाट बनाइने ढिक्रीलाई धेरैले मन पराउने गरेका व्यापारी बताउँछन् । नास्ताका रुपमा राम्रो रहेकाले अहिले पालिकामा मात्र नभइ अन्य नागरिकले समेत ढिक्री खाजाका रुपमा खान थालेका छन् ।
पहिले थारु गाउँघरमा मात्र पाक्ने ढिक्री आजकाल होटल, रेष्टरेन्टमा समेत पाक्न थालेपछि यसको उपभोग गर्नेको सङ्ख्या बढ्न थालेको छ । होटलमा अहिले सोही ढिक्री स्पेशल रुपमा बनाउने गरेको पाइन्छ । पहिले ढिक्री खानका लागि चाडपर्व तथा माग गर्नुपर्ने भए पनि अहिले सहजै जतिबेला पनि खान मिल्ने गरेको स्थानीय हरि चौधरीले बताए ।
“विगतमा चाडपर्वमा मात्र खान पाइन्थ्यो”, उनले भने, “आजभोलि मन लागेको बेला किनेर खान पाइन्छ ।” आजभोलि ढिक्री खानका लागि दैनिक दर्जनौँ नागरिक आउन थालेका दुर्गौलीस्थित अङ्कित एण्ड अनिता होटल सञ्चालक हरिकिसन चौधरीले बताए । “हामीले नपकाएर रहेछ, मःमः, चाउमिन मात्र बिक्छ भन्ने सोच्थ्यौँ”, उनले भने, “आजभोलि ढिक्री पनि बिक्री हुन थालेको छ ।”
ढिक्री बनाउन लागत कम, मेहनत पनि कम लाग्ने हुँदा अझ रुचाउन थालेका उनको भनाइ छ । ढिक्रीलाई विभिन्न बस्तु मिसाइ स्वादिष्ट बनाउन पनि सकिन्छ । बजारमा पाइने अन्य नास्ताभन्दा ढिक्रीमा मिसावट नहुने र कुनै पनि मसालाको प्रयोग नगरेर बनाइने भएकाले उपभोगकर्ताले सस्तोमा स्वाद लिने गरेको उनको भनाइ छ । बजारमा अन्य परिकारका नास्ताको मूल्यसँग तुलनात्मक रुपमा अन्तर रहेकाले अहिले ढिक्रीले बजार पाउन थालेको छ ।
विभिन्न आकृतिका ढिक्रीमध्ये बजारमा लामो आकारको ढिक्री प्रायः बनाउने गरिएको छ । ढिक्री थारुसँगै अरुलेसमेत मन पराउने र ढिक्री परम्परा तथा संस्कार पहिचानसँग जोडिएर आउने गरेको स्थानीय बासिन्दा बताउँछन् । ढिक्रीलाई आधुनिकता र व्यवसायिकतासँगै जोड्ने काम भइरहेकाले यसले पहिचान र जीविकोपार्जनका लागि आर्जनका रुपमा लैजाने माध्यम बन्दै गएको थारु समुदायका अगुवा रामलाल चौधरी बताउँछन् ।
परम्परागत खाना तथा नास्ताका रुपमा गाउँपालिकाले गैर थारु समुदायको लोकल खाना तथा थारुका ढिक्रीलाई प्राथमिकता दिँदा अहिले ढिक्रीको माग र बजारले प्रश्रय पाउँदै गएको छ । गाउँपालिकाका कार्यक्रममा ढिक्री र सँगै सेलरोटीको नास्ता हुने गरेको गाउँपालिकाका अध्यक्ष गणेश चौधरी बताउँछन् ।
“हामीले पालिकामा आउने नास्ता स्थानीय परिकार हुनुपर्छ भनेका छौँ, स्थानीय खाना तथा परिकार प्रवद्र्धन गर्ने उद्देश्य हो”, उनी भन्छन्, “हाम्रो संस्कृति र चाडपर्वसँग जोडिएका खाना खाऔँ भन्ने उद्देश्य हो, अहिले स्थानीय परिकारलाई धेरैले रुचाउन थालेका छन् ।” –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्