×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जरको साइड इफेक्ट : ग्राहकलाई अधिकांस केसमा झन्झट, कर्मचारीको कुरा नमिल्दा बैंकमै हानाहान ! (ब्रिफिङ) 

अर्थ सरोकार

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार

PRIME CA

मर्जरको साइड इफेक्ट : ग्राहकलाई अधिकांस केसमा झन्झट, कर्मचारीको कुरा नमिल्दा बैंकमै हानाहान ! (ब्रिफिङ) 

कुनै बेला जिल्लैपिच्छे अनेक बैंक थिए । नेपाल राष्ट्र बैंकले जिल्लाजिल्लामा पुग्ने बैंकको लाइसेन्स दिंदा देशमा बैंकहरुको संख्या निकै ठुलो थियो । बैंकहरु यति थिए कि, अहिले ती बैंकहरुको नाम भन्यो भने, यस्ता नामका पनि बैंक थिए र भन्न सक्छन् धेरैले ।
नेपालको बैंकिङ क्षेत्रमा यस्ता यस्ता घटना पनि देखिए कि जति सानो बैंक, त्यति नै धेरै घोटाला । घोटालामाथि घोटाला, समस्यामाथि समस्या, अनि जोखिममाचाहिं जनताको रकम । केहि सिमित मान्छेले बैंकलाई मुठ्ठीमा राख्ने र रकम हिनामिना गर्न थालेपछि नियामकलाई पनि नियमन गर्न गाह्रो भयो । त्यसपछि बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्नेगरी नीति ल्यायो । जसका कारण बजारमा बैंकहरु मात्र कम भएनन्, बरु बैंकिङ फ्रडहरु पनि कम भए ।
अहिले पनि तपाईंले घोटालाका समाचार बढी साना बैंकहरुमा देख्नुहुन्छ । पछिल्ला घटनाहरु हेर्ने हो भने पनि सिन्धु बिकास बैंक , सप्तकोशी डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स जस्ता साना बैंकहरुमा घोटाला धेरै भएका छन् । घोटाला गर्नेहरुले पनि यस्ता ससाना बैंक रोज्ने गर्दछन् । अझ केहि बैंकहरु त सिमित मान्छेको हातैले चल्छ । देशका कर्णाली बिकास बैंक, लगायतका केहि साना बैंकमा देखिने समस्या यहि तथ्यको उदाहरण हो । तर राष्ट्र बैंकले साना त छोडौं नै ठुलै बैंक पनि अव थोरै बनाउने नीति लिएको छ । जसका कारण मै हुँ भन्ने बैंकहरु पनि मर्जरमा गएका छन् । यो पुषको मसान्तसम्म मात्र मर्जरमा जाने कन्फर्म भएका पछिल्ला बाणिज्य बैंकहरुको लिष्ट लामै छ ।
कुन कुन बैंक मर्जरमा जाँदैछन् ? ग्राहकले के-के बुझ्नुपर्छ ?
पछिल्लो दुई वर्षको अवधिमै १२ वटा वाणिज्य बैंकहरु मर्जर तथा प्राप्ती प्रक्रियामा सहभागी भए । यसरी मर्जर तथा प्राप्तिमा सहभागी भएका बैंकहरुमध्ये ४ वटा वाणिज्य बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेर एकिकृत कारोबारसमेत गरिसकेका छन् ।
– नेपाल बंगलादेश बैंक र नबिल बैंकले नबिल बैंकका नाममा एकिकृत कारोबार सुरु गरिसकेका छन् भने एनसीसी र कुमारी बैंकले पनि एकिकृत कारोबार सुरु गरिसकेका छन् । यहि पुष मसान्तभित्र ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु एक हुनेछन् भने प्रभु र सेन्चुरीसमेत एक हुनेछन् । यता मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक पनि यहि पुषभित्र एक हुनेछन् । हिमालयन र सिभिल बैंकले पनि माघ मध्यतिर एकिकृत कारोबार सुरु गर्नेछ ।
– मर्जरमा जान बाँकी रहेका कमजोर बैंकमध्येको एक सनराइज बैंक र लक्ष्मी बैंकबीच पनि मर्जर हुने भएको छ । नाम लक्ष्मी सनराइज राखेर दुई बैंकले मर्ज हुने सम्झौता गरेका छन् । उनीहरुको एकिकृत कारोबार भने केहि पछि हुनेछ ।
– नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ती सम्बन्धी विनियमावली, २०७३ अनुसार बैंक तथा वित्तीय संस्थाहरु एकिकृत कारोबार शुरु गर्छन् । सो विनियमवली अनुसार एकिकृत कारोबार शुरु भएसँगै दुबै बैंकको पुराना सबै कारोबार नयाँ नाम वा मर्जर गर्ने बैंकको नामबाट हुन्छ । उदाहरणका लागि नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकले नबिल बैंकको नाममा कारोबार सुरु गर्यो । नेपाल बंगलादेश बैंकका सबै कारोबार त्यसपछि नबिल बैंकका भए ।
– अव लागौं कुन कुन बैंक कुन कुनसँग मिसिएर के नामको बैंक भए भन्नेतर्फ
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको नाममा एकिकृत कारोबार सुरु भयो । अर्थात तपाईंको खाता नेपाल बंगलादेश बैंकमा थियो भने अव तपाईंले नबिल बैंकबाट नयाँ खाता नम्बर पाउनुहुन्छ । तपाईंको दुवै बैंकमा खाता थिए भने अव एउटा खाता बन्द गर्नुपर्ने हुन्छ ।
– कुमारी र एनसीसी बैंक भने एक आपसमा मर्जरमा गएका हुन् । तर मर्जरपछिको नामसमेत कुमारी बैंक राखिएको छ । अर्थात तपाईंको कुमारी बैंकको खाता छ भने, तपाईंले केहि गर्नु नै परेन । तर एनसीसी बैंकको खाता तपाईंसँग थियो भने अव तपाईंको खाता अव कुमारीमा हुनेछ र तपाईंलाई नयाँ खाता नम्बर प्राप्त हुनेछ । तर दुवै बैंक मर्जर नै भएको अवस्थामा त कुमारी बैंकको खाता नम्बर पनि परिवर्तन गर्नुपर्ने होइन र ? भन्ने तपाईंको प्रश्न पनि हुन सक्छ । तर बैंकको नाम परिवर्तन नभएको खण्डमा ग्राहककै सजिलोको लागि कुमारी बैंकको खाता नम्बर भने परिवर्तन हुँदैन ।
– प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई १:१ स्वाप रेसियोमा प्राप्ति गरेको छ । अर्थात तपाईंको सेन्चुरी बैंकमा खाता थियो भने अव तपाईंलाई प्रभु बैंकले नयाँ खाता नम्बर दिनेछ । तपाईंको प्रभु बैंकमा खाता थियो भने केहि गर्नु नै परेन ।
– मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच पनि मर्जरको सम्झौता भएको छ । यो सम्झौतामा भने बैंकको नाम परिवर्तन भएको छ । अर्थात मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मिलेर बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा रहनेछ । यदी तपाईंको यी दुई बैंकमध्ये जुनसुकै बैंकमा खाता भए पनि अव तपाईंको कारोबार नयाँ नामबाट हुनेछ । तपाईंलाई चेक बुक पनि नयाँ बैंककै आउनेछ ।
– ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डुबीच पनि मर्जर भएको छ । अर्थात अव ग्लोबल आइएमइ बैंकका नाममा बैंकको एकिकृत कारोबार सुरु हुनेछ । बैंक अफ काठमाण्डुमा तपाईंको खाता थियो भने अव तपाईंको खाता ग्लोबल आईएमईको नाममा रहनेछ ।
– सिभिल बैंक र हिमालयन बैंकबीच पनि मर्जर सम्झौता भएको छ । अव सिभिल बैंकका खातावालाहरुले पनि हिमालयनका नाममा नयाँ खाता नम्बर पाउनेछन् ।
– अव सनराइज र लक्ष्मी बैंकबीच पनि मर्जरको सम्झौता भएको छ । मर्जरपछि बैंकको नाम लक्ष्मी सनराइज हुनेछ । अर्थात दुवै बैंक र बैंकका ग्राहकले अव नयाँ नामबाट बैंकिङ कारोबार गर्नेछन् ।
सिनर्जी छैन, उल्टै आपत धेरै !
नेपालमा बैंकहरुको संख्या निरन्तर घटिरहेको छ । जति जति बैंक घटिरहेका छन्, त्यसले राम्रो नतिजा पनि ल्याएको छ । तर बैंक घट्नुका धेरै फाइदाका बाबजुत, विभिन्न खालका बेफाइदाहरु पनि छन् । दुई बैंक एक हुँदा जुन हिसाबको सिनर्जी आउनुपर्ने थियो, सोसमेत नआएको स्थिति छ । अझ बैंकहरुले मर्जरका नाममा तानातान गर्दा कतिपय बैंक तथा वित्तीय संस्थाहरुका साखाहरुमा कर्मचारीबीच हानाहानसमेत भएको छ ।  र त बैंकहरु एक आपसमा मर्जरमा जाँदा फाइदा मात्र छैनन्, धेरै खालका बेफाइदा पनि छन् । आखिर के छन् त त्यस्ता बेफाइदा ? आखिर के छन् त बैंक मर्जरमा जाँदाका समस्या ?
– बैंकको संख्या घट्नुपर्छ भनेर नेपाल राष्ट्र बैंकले बैंक घटाउने नीति ल्यायो । दुई बैंक मिलेर एक बन्दा धेरै छुट र सुविधा पनि ल्यायो राष्ट्र बैंकले । तर त्यसले धेरै बेफाइदा पनि ल्याएको छ । र आजको अंकमा हामी यसै विषयमा चर्चा गर्दैछौँ।
– २ बैंक मिलेर एक हुँदा त्यसले सिनर्जी ल्याउनुपर्ने हो, तर धेरै बैंकको स्थिति त्यस्तो देखिएको छैन । बरु टु बिग टु रिस्क अफ फेलिङ देखिएको छ, धेरै बैंकको हकमा । जस्तो कि ग्लोबल आईएमई बैंक बैंक अफ काठमाण्डुसमेतसँग मर्जरमा जाँदा धेरै ठुलो बैंक बन्छ । तर यहि ठुलो बैंकमै समस्या आईदियो भने, त्यसले बैंकिङ क्षेत्रमा पार्ने समस्या ठुलो हुन्छ ।
– बैंकको मर्जरले ल्याएको मुख्य समस्या भनेको कर्मचारीको समस्या हो । बैंक दुई भए पनि मन एक हुन सकेको छैन । उदाहरणका लागि अहिले पनि नबिल बैंकमा नेपाल बंगलादेश बैंकका स्टाफ एडजष्ट हुन राम्रोसंग सकेका छैनन् । नबिलका कर्मचारीले, ‘ह्या ! यीनीहरु त नेपाल बंगलादेश बैंकबाट आएका त हुन् नि ! हामी त सुरु देखि नै नबिलियन हौँ भन्ने गरिरहेका छन् । यसले नेपाल बंगलादेश बैंकबाट आएका कर्मचारीहरुलाई तनावबाहेक केहि थपिदिएको छैन । उनीहरुका लागि आईडि कार्डबाहेक केहि पनि नबिलको छैन । बरु उल्टै पूराना नबिलकाको हेपाई सहनुपरेको छ ।
यता नबिल बैंकका कर्मचारीहरुका लागि पनि नेपाल बंगलादेश बैंकका कर्मचारीहरुसंग काम गर्ने तरिकै मिलेको छैन । न कल्चर मिल्छ, न तरिका मिल्छ । उनीहरु नेपाल बंगलादेश बैंककै तरिकाले काम गरिरहेका छन् र नबिलमा यस्तो चल्दैन भन्ने छ नबिलका कर्मचारीहरुलाई । यो त एउटा उदाहरण भयो । यस्ता समस्या धेरै छन् मर्जरमा जाने बैंकहरुमा ।
– बैंक मर्जरमा जाँदा भीआरएसका नाममा राम्रा कर्मचारी निकालिने, निस्किने र बैंकलाई पनि ठुलो आर्थिक भार पर्ने गरेको छ । यसले बैंकको आर्थिक दायित्व थपिदिएको छ भने धेरै बैंकले राम्रा बैंकर गुमाएका छन् भने राम्रा बैंकरहरु पनि बेरोजगार बनेका छन् ।
– बैंक मर्जरमा जाँदा सबैभन्दा झन्झट ग्राहकलाई भएको छ । नयाँ चेकबुक, नयाँ खाता, नयाँ समस्या । यसले ग्राहकलाई वाक्क दिक्क नै पारेको छ ।
– बैंक मर्जरमा जाँदा ऋणीहरुलाई पनि समस्या परेको छ । कुनै कर्मचारीसंग राम्रो सम्बन्ध भईरहेका ठाउँमा अव अर्को मान्छे आउँछ, आफ्नो बैंक नयाँ भयो भनेर पारा देखाउन थाल्छ, त्यो पनि समस्या नै भयो ।
यसो त मर्जरका कारण भएका राम्रा चीजको लिष्ट पनि लामै छ । यद्यपी जुन हिसाबले राम्रो राम्रो मिलेर धेरै राम्रो बन्नुपर्ने हो, नेपालमा त राम्रो राम्रो मिलेर चाम्रो बैंक बन्ने, राम्रो र नराम्रो बैंक मिलेर झन् धमिलो बैंक बन्ने, नराम्रो नराम्रो बैंक मिलेर झनै झ्याउँलाग्दो बैंक बन्ने र त्यसले समग्र बैंकिङमै समस्या पार्ने सम्भावना पनि देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: