×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुष मसान्तमा बैंकलाई एजिएम भन्दा प्रि-एजिएमको तनाव, ‘बढी नबोल्ने सर्त’मा कथित सेयरधनीलाई यसरी बाँडिन्छ पैसा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

पुष मसान्तमा बैंकलाई एजिएम भन्दा प्रि-एजिएमको तनाव, ‘बढी नबोल्ने सर्त’मा कथित सेयरधनीलाई यसरी बाँडिन्छ पैसा !

काठमाडौँ । उखान नै छ नि, पुष मसान्त, मन असान्त । अर्थात पुष मसान्तमा सेयरधनी हुन् वा व्यवसायी कसैको पनि मन शान्त रहँदैन । साधारणसभा गर्ने कम्पनीहरुको मन शान्त हुने त कुरै भएन । पुष मसान्तमै साधारणसभा राख्दा धेरै कुरामा ‘सजिलो’ हुने, धेरै सेयरधनीहरु नआउने र आफुले भने अनुसार नै कामकारवाही अगाडी बढ्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरुले ‘बदनियत’ राखेर पुष मसान्तमै साधारणसभा गर्ने गरेका छन् । पुष मसान्तमा धेरै सेयरधनी अन्य बैंक तथा वित्तीय संस्थाको साधारणसभामा पनि जाने हुनाले कम सेयरधनीको उपस्थितिमै आफ्नै मान्छेका प्रोक्सी बटुलेर साधारणसभा सक्ने नियत बोकेर बैंकहरुले पुष मसान्तमै साधारणसभा गर्ने गरेको आरोप सेयर धनीहरुको छ । तर ठिक यहि बेला बैंक तथा वित्तीय संस्थाहरुलाई ‘कथित भीआईपी सेयरधनी’लाई साधारणसभामा बढी नबोल्ने गरी वातावरण मिलाउनमै भ्याईनभ्याई छ । प्रि एजीएमका नाममा हुने यस्ता बैठकहरुमा त्यस्ता कथित सेयरधनीहरुलाई ‘मिलाउने’ विषय अहिले धेरै बैंक तथा वित्तीय संस्थाहरुका लागि टाउको दुखाईको विषय बनेको छ ।
को हुन् कथित भीआइपी सेयरधनी ? के हो प्रि-एजिएम ?
साधारणसभामा सेयरधनीका रुपमा सेयरधनीले नाम टिपाएर अगाडी स्टेजमा आफ्नो नाम टिपाउन पाउँछन् । यहाँ सेयरधनीले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, व्यवस्थापन लगायतलाई आफ्ना प्रश्न राख्न पाउँछन् । साधारणसभा भएकाले यसरी सेयरधनी बोल्दा साधारणसभाको माहोल नै पनि कतिपय अवस्थामा बिग्रिन्छ । बैंकहरुको बदमासीबारे सेयरधनी बोल्न थालेको अवस्थामा स्थिति फरक खालको हुन्छ र एजेण्डा पारित नहुने समस्या पनि हुन्छ । यसले साधारणसभाको समय एकातिर लम्ब्याउँछ भने अर्कोतर्फ यसले साधरणसभामा ‘लफडा’ भयो भन्ने गलत सन्देश पनि जान्छ । यहि तथ्यलाई बुझेर बैंकहरुले त्यसरी साधारणसभामा बढी बोल्ने सम्भावित सेयरधनीहरुलाई अघिल्लो दिन वा केहि दिनअघि बोलाएर सानोतिनो खानपिन कार्यक्रम राख्ने गर्दछन् । यस्तो कार्यक्रमको मुख्य उद्देश्य साधारणसभामा हुने विषयको तयारी भए पनि धेरैले नभन्ने उद्देश्य भने कोहि नबोलुन् भन्ने नै हुन्छ । यसलाई बैंक तथा वित्तीय संस्थाहरुले सभ्य भाषामा ‘प्रि-एजिएम’ भन्छन् ।  यस्ता सेयरधनीहरुमध्ये धेरैलाई बैंक तथा वित्तीय संस्थाहरुले बैठक भत्ताका नाममा खाममा केहि रकम हालेर दिन्छन् । जसका कारण भोलिपल्ट साधारणसभामा उनीहरु बोल्दैनन् । यस्ता सेयरधनीहरुलाई बैंकरहरुले ‘भीआईपी’ सेयरधनी भन्ने गरेका छन् । हुन त यस्ता बैठक बोलाएर साधारणसभाको तयारी गर्ने विषय गलत होइन । बैठकमा आएपछि भत्ता बुझ्नु पनि गलत होइन । तर भत्ता बुझ्नकै लागि यस्ता बैठकमा जाने र भत्ता पुगेन भनेर साधारणसभामा समस्या निकाल्नु, मनलाग्दी बोल्नु भने गलत भएको तर्क बैंक संचालकहरुको छ ।
बैंक नै पिच्छे फरक रेट ! ३००० देखि ३५००० सम्म बुझ्छन् कथित भीआईपी !
यसो त यसरी बैठक भत्ताका नाममा भोलिपल्ट नबोल्ने सर्तमा यस्ता कथित भीआईपी सेयरधनीहरुले एक संस्थाबाट ३००० देखि ३५०००सम्म रकम बुझ्ने गर्दछन् । ‘साधारणसभामा लफडा हुने संकेत छ भने बढी रकम हुन्छ । सामान्य विषय हो भने रकम पनि सामान्य हुन्छ ।’ एक बैंकका सीइओले अर्थ सरोकारसँग भने -‘के गर्नु ? चलिआएको चलन हो । मान्नैपर्यो ।’ ती सीइओका अनुसार अघिल्लो दिन बैठकमा भत्ताका नाममा पैसा लिएपछि धेरै त साधारणसभामा बोल्न नै आउँदैनन् । अझ पुष मसान्तमा त एकै दिन धेरै कम्पनीको साधारणसभा हुने भएकाले त्यस्ता कथित भीआईपीहरु लगभग सबै ठाउँमा पैसा असुलेर भोलिपल्ट कतै पनि जाँदैनन् । ‘सबै बैंकहरुसँग यसरी पैसा असुल्नेहरु पनि छन् । अव साधारणसभामै लफडा गर्नुभन्दा केहि हजार खर्च गरौँ भन्ने सोच असामान्य पनि होइन । फेरि राम्रो सुझाव भन्दा पनि गाली गलौज गर्ने प्रवृति बढेकाले यस्तो बाध्यकारी चलन बसेको हो ।’
बैंकका क्यान्टिन देखि पाँचतारेसम्ममा बस्छन् प्रि-एजीएमका नाममा पैसा बाँड्ने मिटिङ !
यस्ता बैठकहरु बैंकका क्यान्टिनदेखि पाँचतारे होटलहरुमासमेत हुनेगरेको छ । कतिपय बैंक तथा वित्तीय संस्थाले क्यान्टिनमा सामान्य खाजा खुवाएर पैसा बाँड्ने गरेका छन् भने कतिपयले पाँच तारे होटलहरुमा जाँडपार्टीसमेत गर्ने गरेका छन् । उनीहरुलाई साधारणसभा हुने दिन साधारणसभा छिटो सक्नुपर्ने, फलानो फलानोले यसरी बोल्ने, यो बोल्ने लगायतका कुराहरु स्वयम् बैंकहरुले नै सिकाउने गरेका छन् । अर्का एक बिकास बैंकका सीइओ भन्छन्- ‘यो प्रचलन पूरानो नै हो । प्रि एजीएमको चलन पनि नौलो होइन । हुनुपर्नेचाहिं साधारणसभाको दिन के के विषय उठाउने भन्ने छलफलको कार्यक्रम हो, तर भईदिन्छ तपाईंले भनेजस्तै पैसा बाँड्ने कार्यक्रम ।’ यसरी हुने प्रि एजीएममा कतिपय सेयरधनीहरुले त आफु आउन नसक्ने र आफ्नो खाम घरसम्म नै ल्याइदिनसमेत आग्रह गर्ने गरेका छन् । कतिपय बैंकहरुले यस्तो रकम उनीहरुको सम्बन्धित खातामा समेत जम्मा गरिदिने गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: