Skip to content
LAXMI SUNRISE BANK

ओलीलाई प्रश्न – ‘भैरहवा विमानस्थल र फास्ट ट्रयाक चिनियाँलाई दिँदा भारतसँग गद्दारी हुँदैन ?’

अर्थ सरोकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सत्ताबाट बाहिरिएपछि आफैंले बनाएको प्रधानमन्त्री नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनप्रति गद्दारी गरेको टिप्पणी गरेका छन्। उनले मुस्ताङमा भारतीय दूतावासको सहयोगमा बौद्ध कलेज बनाउने विषयमा चीनमाथि गद्दारी गरेको आरोप लगाएका हुन् ।

यद्पि मुस्ताङमा बौद्ध कलेज बनाउने विषय भने अर्थ मन्त्रालयबाट स्वीकृत भएको छैन। आफू सत्तामा हुँदा विदेशी शक्तिहरुप्रति अनावश्यक नरम देखिने र सत्ताबाट हटेपछि भने एकाएक तिनै विदेशी शक्तिहरुमाथि गरम बन्‍ने ओली प्रवृत्तिले मुलुकप्रतिको विश्‍वसनीयतालाई नै संकटमा पारेको छ।

एकातिर एमालेका नेता–कार्यकर्ता समेत आबद्ध भएको मुस्ताङ साक्या बौद्ध संघले कलेज स्थापनाको प्रक्रिया अघि बढाएको थियो भने अर्कोतिर एमालेबाटै निर्वाचित गाउँपालिका अध्यक्ष रिङ्जीन नामगेल गुरुङले भारतीय राजदूतावासमा पत्राचार गरेका थिए।

कलेज स्थापना गर्न आर्थिक सहायताका लागि आफूले भारतीय राजदूतावासमा पत्राचार गरेको कुरा गाउँपालिका अध्यक्ष गुरुङले यसअघि नै स्वीकार गरिसकेका छन्। अब ओलीको अभिव्यक्तिबाट प्रश्न उठ्छ– एमालेकै नेता–कार्यकर्ताबाट सुरु गर्न लागिएको यो काम राष्ट्रियतामाथिको प्रहार हो? विदेशीको दलाली हो ? चीनविरुद्धको गद्दारी हो?

बुद्ध धर्मसँग सम्बन्धित कलेज स्थापनाको आवश्यकता महसुस गरेर नै मुस्ताङका स्थानीय जनता र संघसंस्थाले त्यससम्बन्धी प्रक्रिया अघि बढाएका होलान्। तर, फेरि सत्तामा पुग्ने आफ्नो महत्वाकांक्षा पुरा नहुने देखेपछि ओलीले सरकारविरुद्ध प्रहार गर्ने अस्त्र मुस्ताङमा खोलिन लागेको कलेजलाई बनाए। त्यसैलाई आधार बनाएर सरकार र भारतविरुद्ध प्रहार गरे।

वास्तविकता के हो भने मुस्ताङ नेपाली भूमि हो, नेपालको अभिन्न अंग हो। आफ्नो भूभागमा शैक्षिक संस्था स्थापना गरिँदा कसरी मुलुकको सार्वभौमसत्ता र स्वाधीनतालाई अस्वीकार गरेको हुन्छ? कसरी विदेशीको खेल मैदान बनाउन खोजेको हुन्छ ?

चीनसँग सीमा जोडिएकाले त्यहाँको पूर्वाधार निर्माणमा भारतको सहयोग लिनु हुँदैन। यदि अन्य मुलुकको आर्थिक सहयोग लिइयो भने त्यो ‘चीनमाथिको गद्दारी’ हुन्छ। यदि त्यसलाई नै आधार मान्‍ने हो भने ओलीले आफू सत्तामा हुँदा पटक-पटक भारतमाथि गद्दारी गरेका छन्।

भारतसँग सीमा जोडिएको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ सहयोग, फास्ट ट्र्याकमा चिनियाँ लगानी र ठेक्कालगायतका विषयमा ओलीले भारतमाथि गद्दारी गरेको भन्दा के हुन्छ भन्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले प्रश्‍न गरेका छन्।

उक्त गतिविधिहरु ओली आफू सत्तामा हुँदा र सीपीसीबाट प्रशिक्षित ओलीले जानाजान भारतमाथि गद्दारी गरेको भन्‍‍ने स्वभाविक प्रश्‍न उठेको उनले बताए। उनले भने, ’ओलीले सत्तामा हुँदा अहिलेको उनको भनाइलाई नै आधार मान्‍ने हो भने पटक-पटक भारतमाथि गद्दारी गरेका छन्। ओलीको गृहजिल्ला झापाको दमकमा निर्माण गर्न लागिएको ‘नेपाल–चीन औद्योगिक पार्क’ का लागि चिनियाँ सहयोग ‘भारतविरुद्धको गद्दारी हो’ हो?’

चिनियाँ सहयोगमा निर्माण हुने सो पार्कको शिलान्यास प्रधानमन्त्री छँदा ओली आफैले १६ फागुन २०७७ मा गरेका थिए। उक्त पार्क निर्माणसम्बन्धीका सम्पूर्ण सम्झौताहरु अझै पनि गोप्य राखिएका छन्। स्थानीयहरुलाई विस्थापित गरेर बनाउन लागिएको पार्कको विषयमा विवाद भएपछि अहिले निर्माण रोकिएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK