×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बाँचेर बा-आमा पाल्ने धोको’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार

PRIME CA
laxmi sunrise bank

‘बाँचेर बा-आमा पाल्ने धोको’

काठमाडौं । पर्वतका २३ वर्षीय कृष्ण बहादुर लामिछाने अहिले काठमाडौंमा छन् । दुवै मृगौला ‘फेल’ भएपछि दुखजिलो जीवन बिताईरहेका कृष्ण काठमाडौंका गल्लीहरुमा बाँच्ने आश खाजिरहेका छन् । बिहान उठ्यो, भारी जिउ बोकेर अस्पतालको चक्कर काट्यो, फर्कियो । यसरी नै उनको दैनिकी चलिरहेको छ । ‘मर्ता क्या नै कर्ता’ भनेझैं उनी अहिले बाँच्नकै लागि ठूलो संघर्ष गरिरहेका छन् ।

कृष्ण परिवारको एक्लो छोरो हुन् । परिवारमा ६५ वर्ष नाघेका ‘बा-आमा’ बाहेक अरु कोही नभएको उनी बताउँछन् । ‘मेरो लागि आफन्त भनेको मेरा बा-आमा मात्रै हुन्, बा-आमाको आफन्त म हूँ ।’, उनले भने, ‘दुःख परेका बेला भएका एकाध आफन्त पनि टाढिदा रहेछन्, अहिले मेरो अवस्था यस्तै छ ।’

एसएलसी पढ्दै गर्दा मृगौला फेल
कृष्णको वि.सं २०७३ सालमा एसएलसी पढ्दै गर्दा मृगौलामा समस्या देखियो । अचानक टाउको दुख्ने, पेट सुन्निने, पिसाब नहुने समस्या देखिएपछि उनी अस्पताल पुगे । ‘सुरुमा के भएको भन्ने नै थाहा भएन । बिमारले अलि बढी नै च्यापेपछि अस्पताल गएको हूँ, पछि थाहा भयो दुईवटै मृगौला फेल भएको रहेछ ।’- कृष्णले भने ।

‘एलएलसीकै टाईममा त्यस्तो भयो, आफन्त, इष्टमित्र, साथिभाईसँग अलिअलि पैसा जुटाएर उपचार गरेँ । डाक्टरले पेटमा पाईप लगाइदिए, एलएलसीको परीक्षा पनि त्यत्तिकै दिएँ ।’, उनले थपे, ‘रोग थप बढेपछि पढ्न सकिन, एसएलसीपछि पढाई नै छोड्नुपर्यो ।’

एकातिर परिवारको आर्थिक अवस्था साह्रै कमजोर, त्यसमाथि सजिलै निको नहुने रोग लागेपछि पढाई छोड्नुपरेको उनी बताउँछन् ।

‘डेढ वर्षदेखि डायलासिसकै भरमा बाँचेको छु’
२०७३ सालमा मृगौलामा समस्या देखिए पनि कृष्ण पछिल्लो डेढ वर्षदेखि डायलासिसकै भरमा जीवन बिताईरहेका छन् । सुरुवाती दिन औषधीकै भरमा बिताए पनि दुवै मृगौला पूर्ण रुपमा ‘ड्यामेज’ भएपछि डायलासिस गर्नुपरेको कृष्णले बताए ।

‘मृगौला पीडितलाई सरकारले हेर्छ रे भन्ने सुनेको थिएँ । आफन्त, इष्टमित्रले सुरुमा अलिअलि दिएको सबै पैसा सकियो, बाँच्ने आशै मरेपछि शहरमा केही होला कि भनेर काठमाडौं आएको हुँ ।’, कृष्णले भने, ‘तर, सोचेको जस्तो शहर पनि नहुने रहेछ । डायलासिस त ‘फ्रि’मा हुन्छ तर त्यसको लागि चाहिने औषधि, रगत सबैथोक किन्नै पर्यो । जेनतेन चलेकै छ, डेढ वर्षदेखि डायलासिसकै भरमा बाँचेको छु ।’

महिनाकै करिब ४० हजार खर्च, धान्नै मुस्किल
यसो त कृष्ण अहिले काठमाडौंको बुढानिलकण्ठमा डेरामा बस्छन् । महिनाको ६ हजार भाडा, रासन, पानी गरेर १० हजार खर्च । यता हप्ताको ३ पटक डायलासिस गर्नुपर्छ, जहाँ औषधी, रगत सबैथोक गरेर करिब ८ हजार खर्च आउँछ, महिनाको ३२ हजार । कोठाभाडा र उपचार गरी मासिक कुल ४० हजार बढीको खर्च निस्किन्छ कृष्णको ।

‘परिवारको अवस्था कमजोर छ, आमा मानसिक रोगी हुनुहुन्छ, बुवा पनि बिरामी नै हुनुहुन्छ । आम्दानीको स्रोत केही छैन । अहिलेसम्म विदेशमा भएका साथीभाई र केही आफन्तले पठाइदिएको सुकामोर जोडेर जेनतेन खर्च चलाएँ तर अब त्यो बाटो नि बन्द भयो ।’, उनले थपे, ‘एकैजनासँग पनि कति पैसा माग्नु ? लाजै भईसक्यो, माग्न पनि अफ्ठ्यारो र दिनेलाई नि अफ्ठ्यारो ।’

आम्दानीको स्रोत नहुनु र सहयोगबापत जम्मा भएको केही रकम पनि सकिएपछि यतिबेला कृष्णको दैनिकी झन् कष्ठकर बनेको छ ।

पैसा नहुँदा मृगौला फेर्न गाह्रो
यसो त कृष्णलाई मृगौला फेर्न पाए, बाँच्छु भन्ने ठूलो आश छ । ‘मृगौला फेर्न सकियो भने बाँच्छु भन्ने आश छ । डाक्टरले पनि मृगौला फेरे ठिक हुन्छु भनेका छन् । तर, मृगौला फेर्न धेरै पैसा लाग्ने रैछ ।’, उनले भने, ‘बा-आमा बुढाबुढी हुनुहुन्छ त्यसैमाथि बिरामी, उहाँहरुको मृगौला हाल्न नमिल्ने रैछ । मृगौला फेर्न पनि ७-८ लाख लाग्छ रे, कहाँबाट ल्याउने त्यत्रो पैसा ?’

बाँचेर बा-आमा पाल्ने धोको
जीवन मरणको दोसाँधमा रहेका कृष्ण केही मुठ्ठी आश बोकेर सबैसँग जीवनको भिख मागिरहेको छन् । बाँचेर उनको ठूलो केही गर्ने धोको छैन, छ त बस्, आफ्ना बुढा भएका बा-आमालाई खुसीसँग पाल्ने ।

‘मेरो बा-आमाको साहरा भनेकै म हूँ । तर अहिले मेरो अवस्था पनि यस्तो छ । सानो छँदा बा ले भरियाको काम गरेर मलाई पाल्नुभयो, पढाउनुभयो । जब बा-आमालाई पाल्ने बेला भयो म आफैँ बिरामी भएर लडेको छु, ऋण पनि धेरै लागेको छ ।’, उनी भक्कानीए, ‘बाँचेर धेरै ठूलो केही गर्छु भन्ने अपेक्षा छैन । बस्, बुढा भएका बा-आमालाई पाल्ने धोको छ ।’

बाँच्नका लागि सहयोगको अपिल
दुवै मृगौला ‘फेल’ भएर काठमाडौंमा जीवन खोजिरहेका कृष्ण बाँच्नकै लागि सहयोग खोज्दै मिडियासम्म पुगेका छन् । ‘मेरा आवाज कसैले सुनेन, कसैले उठाएन’ भन्दै अर्थ सरोकारसम्म आईपुगेका कृष्णले बाँच्नकै लागि सहयोगको अपिल गरे ।

‘मलाई बाँच्न मन छ, अरुजस्तै हिँड्न, काम गर्न, रमाउन मन छ । तर, आफैलाई बचाउन सक्ने मेरो सामथ्र्य छैन । मसँग पैसा छैन ।’, उनले भने, ‘मलाई बचाईदिनुस्, म बाँच्न चाहन्छु । बाँचेर बुढा भएका बा-आमालाई खुसीसँग पाल्न मन छ ।’

कृष्णले आफूलाई सहयोग गर्न चाहनेहरुले प्रत्यक्ष भेटेर पनि सहयोग गर्न सक्ने बताएका छन् । त्यसका लागि उनले आफ्नो सम्पर्क नम्बर ९८४०७३४९८५ उपलब्ध गराएका छन् । त्यस्तै, उनले आफूलाई सहयोग गर्न चाहनेहरुले आफ्नो मुक्तिनाथ विकास बैंकमा कृष्ण बहादुर लामिछाने (Krishna Bahadur lamichhane) को नाममा रहेको खाता नम्बर ०३०२२३०१०५२१३००००००१ मा सहयोग पठाउनसक्ने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: