×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

Artha Sarokar

३ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गरे । वैदेशिक रोजगारमा सोचेअनुरुप आम्दानी गर्न नसकेपछि उनी स्वदेश फर्किए । स्वदेश फर्किएपछि उनले पुख्र्यौली आरन पेसालाई अगाडि बढाएका छन् ।

गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन् । हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित प्रमाणित गरेका छन् । आरन पेसाबाट वार्षिक रू सात लाख आम्दानी भइरहेको गजमेरले जानकारी दिए । साउदी अरब रोजगारीमा रहँदा साहुले लगाएको वचनका कारण स्वदेश फिर्ता भई पुर्खाले गर्दै आएको आरन पेसा सञ्चालन गरेको उनले बताएका छन् ।

‘विभिन्न कम्पनीमा कामका लागि गएका नेपालीले तोकिएको काम र पारिश्रमिक नपाउने, गाली र यातनाका साथै दुव्र्यवहार खेप्नुपरेको अनुभव छ ।’, गजमेरले भने, ‘मैले स्वदेश फर्किएपछि पुख्र्यौली पेसालाई सुरु गर्ने सोच बनाएँ । अहिले वार्षिक रू सात लाखसम्म आम्दानी हुन्छ । गत वर्षमात्रै पर्यटन तथा उद्योग कार्यालय तनहुँमा परम्परागत अङ्कित आरन व्यवसाय दर्ता गरेको उनले बताएका छन् ।

आरन व्यवसाय सञ्चालनका लागि गोल सिद्धथान, देवीथुम्का र पार्चे सामुदायिक वन उपभोक्ता समितिका साथै स्थानीय व्यक्तिको सहयोग लिँदै आएको गजमेरको भनाइ थियो । हँसिया, खुर्पा, कुटो, कोदालो, कोदाली, बञ्चरो, खुँडा, तरबार, खुकुरी, करौँती, फाली, करुवा, बसिला, छिनो, चिम्टालगायतका घरेलु हतियार, कृषि औजार निर्माण तथा तयारी, मर्मत र अर्चप्ने काम गर्दै आएको उनले बताएका छन् ।

सिजनमा दैनिक रू छ/सात हजार आम्दानी गर्ने गजमेयरले आरन व्यवसायमा अन्य दुई जनालाई रोजगारीसमेत दिएका छन् । आरन पेसाबाटै भएको आम्दानीबाट घर व्यवहार चलाउन सहयोग पुगेको उनको भनाइ छ । ‘यही पेसाबाट भएको आम्दानीले छोराछोरीलाई बन्दीपुरको बोर्डिङ स्कुलमा गुणस्तरीय शिक्षा दिन सकेको छु ।’, उनले भने, ‘सुरुका दिनमा ३५ जना गाउँलेबाट प्रतिव्यक्ति रू एक हजारका दरले सहयोग प्राप्त गरी व्यवसाय सञ्चालन गरेको हुँ ।’

यहाँ उत्पादित कृषि औजार खुर्पा रू दुई सयदेखि रू दुई हजार पाँच सय, कुटो रू पाँच सय, कोदालो रू आठ सयदेखि रू दुई हजारसम्म, बञ्चरो रू एक हजारदेखि रू दुई हजार पाँच सयसम्म, खुँडा रू एक हजार पाँच सयदेखि रू आठ हजारसम्म, बसिला रू पाँच सयदेखि रू एक हजार पाँच सयसम्म बिक्री हुने गरेको गजमेरले जानकारी दिएका छन् । पुराना औजार मर्मतका लागि रू एक सय ५० र अर्चपेको रू ६० लिने गरेको उनले बताएका छन् ।

‘आरन पेसा हाम्रो पुख्र्यौली पेसा हो । गाउँमा आरन पेसा लोप हुँदा गाउँलेलेसमेत दुःख पाएका थिए ।’, गजमेरले भने, ‘मैले यो पेसा सुरु गरेपछि गाउँलेले सेवा पाएका छन् भने म स्वरोजगार बनेको छु ।’ यहाँ उत्पादित घरेलु हतियार तथा कृषि औजार घरघरमै पुगेर बिक्री गर्ने गरेको उनले बताए । ‘किसानले सुविधा खोज्छन् । म किसानकै घरदैलोमा गई सेवा दिँदै आएको छु । यहाँ उत्पादित कृषि औजार बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकामा बिक्री हुने गरेको छ ।’, उनले भने ।

सामाजिक सञ्जालमा सक्रिय गजमेरले यसको उपयोग गरी कृषि औजारको प्रचार र बिक्री गर्दै आएका छन् । ‘टिकटक र फेसबुकमा मैले हालेको भिडियो हेरेर बन्दीपुर घुम्न आएका व्यक्ति मसँग सम्पर्कमा आउनुहुन्छ ।’, उनले भने, ‘उहाँहरुले कृषि औजार खरिद गरेर लैजानुहुन्छ । गाउँपालिकाबाट एक लाख रुपैयाँ पनि प्रोत्साहनस्वरुप प्राप्त गरेका छु ।’

वैदेशिक रोजगारीबाट फर्किएर आरन पेसा सञ्चालन गरेकामा प्रोत्साहनस्वरुप नगद प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताएका छन् । त्यस्तै आरन संरक्षण तथा प्रवद्र्धनका लागि रू ४० हजार सहयोग गरिएको उनले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी