काठमाडौँ । प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ पनि हुँदैन थियो । यही कारण प्रकृति मानव जीवनका लागि वरदान हो ।
हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवर्द्धन गर्न मानिसले बिर्सिसके । तर, प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समायानुकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन् । समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो । तर, प्रकृतिको दोहन बिस्तारै बढिरहेको छ । उन्नति, सुविधा, प्रतिष्ठा र विश्वमा हैकम जमाउने लोभमा प्रकृति कुपित पार्ने क्रम बढ्दै जाँदा आज मानव सभ्यता सङ्कटमा पर्न थालेको छ ।
पृथ्वीलाई जोगाउन र यसका सबै संरचनालाई अनुकुल वातावरण दिन भनेर अनेक प्रतिवद्धता भएका छन् । ‘क्योटो सम्मेलन’ देखि पेरिस सम्झौतासम्म आइपुग्दा जलवायु परिवर्तन कम गर्न केही न केही त भएकै छन् तर त्यो पर्याप्त छैन । जबसम्म मानिस प्रकृतिसँग निकट रहेर प्रकृति संरक्षण गर्दै आफ्नो जीवन निर्वाह गर्दथे, तबसम्म प्रकृति कुपित भएको थिएन । तर, आजभोलि प्रकृति कुपित छ । बेसमयमा बाढी–पहिरोको चपेटामा मानव समुदाय परिरहेको छ । विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन बिग्रन थालेको हो ।
मानवीय स्वार्थका कारण निम्तिएको वातावरणीय संकट र प्रकृतिमाथि भएको दोहन फोटो फिचरमा हेर्नुहोस्ः