काठमाडौँ । नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्म राज ढुंगाना बर्खास्तीमा परेपछि करिव २१ महिनाका लागि रमेश कुमार हमाल बोर्डको अध्यक्षमा नियुक्त भए । र नेपाली सेयर बजारलाई जवर्जस्त धेरै दिएर, उनी बोर्डबाट बिदा भएका छन् । लगानीकर्ताको हितमा सधैं एक कदम अगाडी रहेका हमाललाई कार्यकालको पूर्वार्द्धमा चौतर्फी आक्रमण भयो । बजार बियरिसमा रहेको फ्रस्ट्रेसन, नयाँ स्टकको लाइसेन्समा आफ्नो स्वामित्व नभएको रिस, बजारका खेलाडीहरुलाई उनले गरेको एक्सनको प्रतिकार लगायतका विषयले उनलाई जवर्जस्त विवादमा तानिनु स्वाभाविक पनि थियो । भलै उनले नेपाली सेयर बजारलाई दिएको योगदान उल्लेखनीय रह्यो । र रहनेछ उनको कार्यकाल धेरैपछिको स्वर्ण कार्यकालको रुपमा दर्ज रहेर नेपाली सेयर बजारमा । भलै उनले गर्न खोजेका सबै काम पूरा भएनन् । आज हामी उनका तिनै कामको फेहरिस्त प्रस्तुत गर्नेछौँ र गर्नेछौँ समिक्षा उनको २१ महिने कार्यकालको ।
१) रमेश कुमार हमालले नयाँ ब्रोकर दिएर नेपाली पूँजीबजारलाई ठुलो गुण लगाएका छन् । सिमित ब्रोकरहरुको अत्यासलाग्दो सिन्डिकेटबाट नेपाली सेयर बजारले मुक्ति पाएको छ । भलै, फेरी थप ब्रोकरहरु पनि आउनुपर्ने देखिन्छ सेयर बजारमा, तर पैसा पावर र पोलिटिक्स सबै हामीसँग नै छ, हामीलाई कसले छुने भन्ने घमण्ड गरेर बसेका नाममात्र होइन, कामका पनि दलालहरुलाई देखाईदिए हमालले काम कसरी गर्नुपर्छ भनेर । बर्षौंदेखि नेपाली सेयर लगानीकर्ताहरुलाई घरी समयमा पैसा नहालिदिएर त घरी लगानीकर्ताको पैसामा आफैं खेलेर मनपरी गर्ने ब्रोकरहरुबाट लगानीकर्ताहरुले छुटकारा पाएका छन् ।
परिमाण अहिले नेपाली सेयर लगानीकर्ताहरु ढुक्कका साथ नयाँ ब्रोकरमा सिफ्ट भईरहेका छन् । नयाँ ब्रोकरहरुले पूर्वाधारमा लगानी गरेका छन्, समयमा नै पैसा दिने ग्यारेन्टी गरेका छन् र पूरानाको तुलनामा नयाँ ब्रोकरहरुको काम निकै गज्जबको पनि छ । लगानीकर्ताहरुलाई यो माहोल बनाईदिने उनै हमाल नै हुन् । नयाँ ब्रोकरहरुका अनेक चुनौति छन्, त्यो स्वाभाविक व्यापारिक चुनौती हो, तर नयाँहरु आउनुनै हुन्न भन्ने पूरानाको मनपरी र निरङ्कुश सोचप्रति रमेश हमालले गरेको प्रहारका कारण अहिले नेपाली सेयर लगानीकर्ताहरुलाई सहज भएको छ । अव नयाँ ब्रोकरहरुले व्यवसाय पाउनका लागि बजार विस्तारका योजनाहरु सोच्नेछन्, गाउँगाउँसम्म आफ्नो सेवा पुर्याउनेछन् । यसो गर्न नसके बजारमा सिद्धिनुपर्छ भन्ने थाहा भएका उनीहरु यसमा लागि परेका छन् । र नयाँ ब्रोकरको यो कर्मले नेपाली सेयर बजार झन् झन् बलियो हुनेछ भन्ने कुरामा कुनै शंका छैन । नयाँ ब्रोकरहरुलाई लाइसेन्स दिने कुरामा पूरानाहरु कहाँसम्म गएनन्, केसम्म अफर गरेनन्, कतिसम्म बोर्डलाई असहयोग गरे त्यो सब छर्लंग छ । सायद हमालको ठाउँमा अरु कोहि भईदिएको भए नयाँ ब्रोकर सम्भव नै थिएन । हमालले आफ्नो व्यवस्थापकीय क्षमता देखाएरै छोडे ।
२. कुनै समय स्थिति यस्तो थियो, लगानीकर्ताहरुले एक पटक आईपीओ भरेको १०० रुपैयाँसम्म तिर्नुपर्थ्यो । १० वटासम्म आईपीओ परेन भने एउटा हात्ती झ्वाम । लगानीकर्ताहरुले गुमाईरहँदा सिमित मर्चेन्ट बैंकरहरुले कमाईरहेका थिए । लगानीकर्तामाथि भएको यो लुटको अन्त्य गरेर रमेश कुमार हमालले नेपाली सेयर बजारलाई ठुलो गुण लगाएका छन् ।
३. मर्जरका बहानामा महिनौंसम्म सेयर लगानीकर्ताको रकम बन्धक हुने तीतो बाध्यतालाई रमेश कुमार हमालले अन्त्य गरे । परिमाण, अहिले सेयर लगानीकर्ताहरुको रकम बन्धक बन्नुपर्ने अवस्था छैन ।
४. म्युच्युल फण्डको बदमासी रोक्न कोटाको आईपीओ परेको सेयर ६ महिना बेच्न नमिल्ने गरेर ‘लकिङ’ गर्ने निर्णय गरेर रमेश कुमार हमालले लगानीकर्ताहरुलाई अर्को गुण लगाए । यसले समग्र बजारको हित गरेको छ । थुप्रै म्युचुअल फण्ड संचालकको दुश्मन बन्न तयार भएर पनि हमालले लगानीकर्ताका लागि ठुलो गुण लगाए ।
५. केही ठुला लगानीकर्ताहरुलाई इन्साइडर लगायतका मुद्दामा कार्बाही गरेर रमेश कुमार हमालले सेयर बजार जुवा होइन र यहाँ खेलाडीहरुले आफु हेर्ने अनि सोझाहरुलाई ब्लाईइण्डमा छु भनेर झुक्याएर फरास खेलेजस्तो गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याए । धितोपत्र बोर्डका कर्मचारीहरु मेरो मुठीमा छन् भनेर फुर्ती लगाउनेहरुलाई उनले साइजमा ल्याए । अझ स्पष्ट भन्दा हालसम्मकै ठुलो कार्वाही गरेर उनले इतिहास दर्ज गरे ।
६. धितोपत्र बोर्डले जे सुकै गरोस्, हामी त चलखेल नै गर्ने हो भनेर मनपरी गर्न पल्केको नेप्सेलाई साइजमा ल्याउने प्रयास गरेका छन् हमालले । वाईको नामक कम्पनीले बर्षौंदेखि गरिरहेको मनपरीका विरुद्ध संस्थागत रुपमै बोल्ने र पेल्ने आँट देखाए रमेश कुमार हमालले । हरेक निर्णयमा सरोकारवालाहरुको सुझाव लिने परम्परा बनाए हमालले । आएका सुझावहरुलाई मानेर, तर लगानीकर्ताको हितमा रति पनि तलमाथि नगर्ने दृढ संकल्प बोकेर रमेश कुमार हमालले यो २१ महिनामा निरन्तर काम गरे ।
७. लगानीकर्ताप्रति गैरजिम्मेवार र समयमै रिपोर्ट नबुझाउने ८९ वटा पब्लिक कम्पनिहरुलाई इतिहासमै पहिलोपल्ट कार्वाहीको दायरामा ल्याएर धेरै कम्पनी संचालकको निद हराम गरिदिए रमेश हमालले । उनको यो आँटलाई इतिहासले सम्झनेछ, सम्झिरहनेछ ।
८. हाइड्रोपावर कम्पनीहरुको लकिङ ब्यावस्था र आइपिओमा पहिलोपटक बुक बिल्डिङ्ग ब्यवस्था गरेर उनले अर्को इतिहास रचे । यसका लागि पनि रमेश कुमार हमाललाई इतिहासले सम्झनेछ ।
९. लगानीकर्ता सचेतना कार्यक्रममा सबैभन्दा बढी योगदान दिए रमेश कुमार हमालले । बोर्डले २१ महिनामा यो क्षेत्रमा जति काम गर्यो, त्यति काम बिगत ५ बर्षमा पनि भएको थिएन ।
१०. सबैभन्दा महत्वपूर्ण कुरा भनेको बजार बियरिस र लामो बियरिसपछि अझ लामोसाइडवेजमा थियो । बजार अघि बढ्न कुनै गुड न्युज चाहिएको थियो । राष्ट्र बैंकसँग कुटनीतिक छलफल गरेर सेयर कर्जाको सिमा बढाउने र मौद्रिक नीति खुकुलो बनाउने काममा पनि क्याटलिष्टको भूमिका उनले नै निर्वाह गरेका थिए ।
समग्रमा, रमेश कुमार हमाल धेरैसँग लडे । थुप्रैपटक लडेर पनि माथि उठे, र आफुले गर्न खोजेको काम गरेरै छोडे । समग्रमा लगानीकर्ताका एक एक समस्या समाधानका लागि उनी लडे, नयाँ ब्रोकरका लागि लडे । नयाँ सिष्टम सुधारका लागि लडे ।
भलै, उनले सोचेको सबै काम पूरा हुन सकेन । बजारमा नयाँ स्टक ल्याउने उनको प्रयास सफल भएको छैन । सफल होस् पनि कसरी, सबैलाई सोहि स्टकमा आफ्नो सेयर चाहिएको छ, कि हाम्रो हुनुपर्छ कि कसैको हुनुहुँदैन भनेर सबै राजनीतिक पार्टीले नयाँ स्टकलाई राजनीति गर्ने थलो बनाउँदा हमाल यो विषयमा हालका लागि फेल देखिए । प्रक्रिया पुर्याएर स्टकको आवेदन दिँदा, अरुले दिएनन्, अनि दिनेहरु फलानाका र ढिस्कानाका भनेर विरोध गरिरहे आफु पनि अगाडी नसर्ने र बजार बलियो पनि हुन नदिनेहरुले । अहिले जो–जो नयाँ स्टक आउनुपर्दैन भनेर उफ्रिरहेका छन्, उनीहरुले सो स्टकमा थोरै मात्र सेयर हाल्न पाएको भए उनीहरु कराउँदैनथिए । तर न उनीहरु पैसा हाल्न सक्छन्, न नयाँ स्टकको लाइसेन्स जारी गर्न दिन्छन् । हमालको कार्यकाल पूरा भएको भए नयाँ स्टक पनि आउँथ्यो, त्यसमा कुनै शंका छैन, तर समय न हो, गुज्रिहाल्यो, जो गुजार्नुथियो हमालका दुश्मनहरुलाई ।
यसो त रमेश कुमार हमालले सेयर लगानीकर्तालाई मात्र होइन धितोपत्र बोर्डका कर्मचारीलाई पनि ठुलो योगदान दिए । गएको केहि समयभित्र नै उनीहरुको तलव बढाएर प्रोत्साहन गरे । मजस्तो ठुलो हाकिम कोहि छैन भनेर सानालाई पेल्ने कथित हाकिमहरुलाई तह लगाए । बोर्डमा मनपरी गर्नेहरुलाई माफी मगाउन बाध्य बनाए । हुन त यति गर्दा पनि ठगेरै खान पल्केका केहि फटाहा कर्मचारीहरुले हमालको चियो चर्चो गरेर बदनाम गर्न खोजे । जुन संगठनलाई रमेश कुमार हमालले बचाए, वा ब्युँताए, त्यहि संगठनले आफ्नो मर्दपना देखाउन खोजेर हमालका पक्षमा भ्रम बाँड्न खोज्यो । जसलाई कार्वाहीबाट उनै हमालले जोगाए, त्यहि कर्मचारी हमालको सबैभन्दा बढी सुलसुले निस्कियो । र पनि हमालले बोर्डभित्र भेदभाव गरेनन् । सर्पलाई दुध दिएर बरु हमालले गलत गरे, तर आफ्नो टिमलाई उनले तल खस्नुपर्ने वातावरण बनाएनन् । राम्रो गर्छु भन्दाभन्दै हमालले केहि गलत मान्छेलाई बोर्डमा नदिनुपर्ने साथ पनि दिए, तर सो साथ स्वार्थरहित थियो, त्यसैले यो केसमा उनलाई विचरा बाहेक केहि भन्न सकिने अवस्था रहेन ।
रमेश कुमार हमालले गर्नुपर्ने सबै गरे भन्ने पनि होइन । लुकाइएको अजोड इन्स्योरेन्सको घोटाला प्रकरणको फाइल फेरी ब्युँताएर पनि उनले त्यसलाई निष्कर्षमा पुर्याउन सकेनन् । छानविन समितिले कार्वाहीको सिफारिस गर्दा पनि शिवम सिमेन्टको इन्साइदर प्रकरणमा उनले कार्वाहीको निर्णय गर्न सकेनन् । खुलमखुला गैरकानुनी काम गरेको प्रमाणित हुँदा पनि नेप्सेका पूर्व सीइओ चन्द्र सिंह साउदलाई कार्वाहीको डण्डा हान्न सकेनन् । भलै हमाल यो सब काम प्रक्रियामा नै रहेको बताउँछन् । र बोर्डको यो बाँकी काम सबै आगामी नेतृत्वले पूरा गर्नेछ भन्ने उनको विश्वास छ ।
२१ महिनाको अवधिमा नेप्सेको खासै चर्चा भएन । किनकि नेप्सेले काम नै गरेन । बोर्डको वाहवाही र आलोचना दुबै भयो । किनकि बोर्डले हरहमेशा काम गरिरह्यो । कार्यकालको उत्तरार्द्धमा हमालको विरोध यसकारण पनि बढी भयो कि सबैको पोर्टफोलियो घटेको थियो र सबै तनावमा थिए । तनाव पोख्ने, रिस पोख्ने, कुण्ठा पोख्ने सबै विषय उनै रमेश हमाल बने । कुनै बेला कमजोर कम्पनीको सेयर प्रिमियममा दिनु हुँदैन भनेर कराउनेहरु अहिले तिनै कमजोर कम्पनीमा यति कमायौं र उति कमायौं भनिरहेका छन् । भलै सोनापुरजस्तो अत्यन्त कमजोर कम्पनीहरुलाई प्रिमियमको स्वीकृति दिएर उनले शंका गर्ने ठाउँ छोडेका पक्कै हुन् । तर पनि विवादमा पर्ने समय न थियो उनको, परिरहे । आईपीओ धेरै आयो, रोक्नुपर्छ भनेर उनको विरोध गर्नेहरुले आईपीओ रोकेपछि, कम्पनीलाई लिष्टिङ हुन नदिने ? यस्तालाई ठोक्नुपर्छ भनेर फेरी उनीहरुले नै विरोध गरे । काम गर्ने मान्छेले जसो गरे पनि सुख पाउँदैन रहेछ भनेको सायद यहि रहेछ ।
तर अहिले जसले जति विरोध गरेपनि, सत्य यहि हो, रमेश कुमार हमालले जे जे गरे, नेपाली सेयर बजारमा उल्लेखनीय गरे । हुन त उनी फेरी बोर्ड अध्यक्षका रुपमा आउँदैनन् भन्ने पनि होइन, तर उनी नआए पनि वा अरु कुनै व्यक्ति आए पनि यतिको काम गर्नचाहिं जरुर सक्दैनन् । किनकि चर्चा चलेकाहरुमध्ये अधिकांश यसअघि नै टेष्टेड फेल छन् । कुनै बेला कोरोना बीमा जारी गरेर, राज्य र बीमा कम्पनी दुवै डुबाउनेहरुदेखि यसअघि आफैँ गैरकानुनी काममा संलग्नहरु अहिले बोर्ड अध्यक्ष पाउँछु भनेर ’आँ’ गरेर बसेका छन् । हमालले मनपरी गर्न नदिएकाहरु उनीहरुलाई नै बोकेर हिंडीरहेका छन् । भित्री कारोबार गर्नेहरु, सोझालाई फसाएर आफु अर्वपति बन्नेहरु हमाल बाहेक जो आए पनि ठिक छ भनेर गड्डी टक्र्याउन तयार देखिएका छन् । हमाल नै सबैभन्दा ठिक भन्ने त होइन, तर यो देशको सिष्टम र नेपाली सेयर बजारलाई खेलाडीहरुले जसरी चलाएका छन्, त्यो हेर्ने हो भने हमालभन्दा गतिलो पात्र आउने कुरामा पूरापूर शंका छ ।
समग्रमा भन्दा सबैभन्दा बढी काम गरेर, सबैभन्दा बढीको प्यारो बनेर, सबैभन्दा बढी खेलाडीको दुश्मन बनेर रमेश कुमार हमाल बोर्डबाट बिदा भएका छन् । केहि कामहरु छोड्ने हो भने उनले जे जे गरे, वा यो २१ महिनामा गर्न सके त्यसका लागि रमेश कुमार हमाललाई बिग सल्युट गर्नैपर्छ । राम्रोलाई राम्रो भन्न नसक्नेहरुलाई पनि रामराम बाहेक यसपाली केहि भन्न सकिएन । सकेसम्म बोर्डअध्यक्षमा हमाल नै आएको राम्रो, किनकि अर्को नयाँ पात्र आउँदा फेरी पनि उन्माद खेलाडीहरुकै हुनेछ । हमालको डण्डाबाट तर्सेकाहरुले फेरी पनि चलखेल सुरु गर्नेछन् र अन्त्यमा फस्ने साना र सोझा लगानीकर्ता नै हुनेछन् । बोर्ड अध्यक्षमा हमाल नै नआए पनि हमालजतिको आँटी मान्छे आउन जरुरी छ । किनकि केहि निश्चित खेलाडीहरुलाई खेल्न दिएर बजार लामो समयसम्म पछि परिरह्यो । अवको बजार यात्रा समृद्धितर्फको हुनेछ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्