×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाईकोका कर्मचारीको हातमा छ लाखौं लगानीकर्ताको सेयर किनबेचको विवरण, बोर्ड नै भन्छ- ‘दुरुपयोगको खतरा छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वाईकोका कर्मचारीको हातमा छ लाखौं लगानीकर्ताको सेयर किनबेचको विवरण, बोर्ड नै भन्छ- ‘दुरुपयोगको खतरा छ’

Artha Sarokar

१६ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: ९ मिनेटभन्दा कम

काठमाडौँ । धेरैअघिदेखि सेयर बजारमा एउटा चर्चा थियो- यो वाईको भन्ने कम्पनीले कतै नेप्सेको सिष्टमको दुरुपयोग त गरिरहेको छैन ? के नेपालको अनलाइन प्रणाली सुरक्षित छ ? कतै लगानीकर्ताका तथ्यांकहरु लिक त भईरहेका छैनन् ? कतै लगानीकर्तामध्ये कसले कुन सेयर किन्यो वा कुन सेयर बेच्यो भन्ने विवरण कोहि व्यक्ति वा समूहको हातमा त पुगेको छैन ? कतै नेप्सेमा कुनै सेयरमा अप्राकृतिक रुपमा सेलर र बायर राखेर मूल्य बढाउने र सोझा लगानीकर्तालाई टोपी लगाउने काम त भएको छैन ? भएको छ वा छैन भन्ने कुरा यकिन नभए पनि यसपटक शंका गरिएका यी सबै काम हुन सक्ने ठाउँ छ र कुनै पनि बेला लगानीकर्ताका तथ्यांकहरु दुरुपयोग हुने ठाउँ रहेको देखिएको छ । यो हामीले लगाएको आरोप वा कोहि अरुले लगाएको आरोप होइन । बरु नेपाल धितोपत्र बोर्डले अनुसन्धानकाक्रममा भेट्टाएको तथ्य हो ।

धितोपत्र बोर्डकै अनुसन्धानले भनेको छ- नेप्सेको प्रणाली रिस्कमा छ । अनि तथ्य यस्तो पनि छ कि, जसको सूचीकृत कम्पनीहरुमा ठुलो लगानी छ, उनीहरुकै नेप्सेको प्रणाली बनाउने वाईको नामक कम्पनीमा ठुलो लगानी छ । र वाईकोले बनाएको सिष्टममा यति धेरै कैफियत छन् कि लगानीकर्ताका गोप्य रहनुपर्ने विवरणममा वाईकोले पहुँच राख्न सक्छ । अझ सहज भाषामा भन्दा तपाईंले कुन सेयर किन्नुभयो, कुन सेयर बेच्नुभयो भन्ने तथ्यांक वाईको मज्जासँग विना रोकावट हेर्न सक्छ । वाईकोले हेर्न सक्छ भन्नुको अर्थ वाईकोका लगानीकर्ताले हेर्न सक्छन् । अनि जसको कम्पनी नेप्सेमा सूचीकृत छ, उसले सेयर बजारका सबै तथ्यांकमा पहुँच राख्छ भने त उसले जे गर्न पनि सकिहाल्यो नि । यतिसम्मकि उसले चाह्यो भने आज बजार हरियो बनाईदिन पनि सक्ने भयो, रातो बनाईदिन पनि सक्ने भयो । कुनै एक स्क्रिप्टमा टन्न बायर देखाईदिन पनि सक्ने भयो, टन्न सेलर देखाईदिन पनि सक्ने भयो । लगानीकर्तालाई किन्न उत्साहित बनाउन पनि सक्ने भयो, बेच्न निरुत्साहित बनाउन पनि सक्ने भयो । समग्रमा भन्दा जे गर्न पनि सक्ने भयो । अनि यस्तो प्रणालीमा आज ५० लाख बढी लगानीकर्ताका तथ्यांक दाऊमा राखिएको छ । र पनि बजार चलेकै छ, चलिरहेकै छ ।

धितोपत्र बोर्डले बोर्डका सूचना प्रविधि विज्ञ सरोज लामिछानेको संयोजकत्वमा बोर्डका निर्देशकद्वय रेवत श्रेष्ठ र सानु खड्का तथा सहायक निर्देशकद्वय यमनाथ अर्याल र रविन्द्रदेव भट्टको टोली बनाएर बजारको सूचना प्रविधि सुशासनका विषयमा अध्ययन गरेको थियो । चौतर्फी गुनासो आएपछि बोर्डले नेप्सेको अनलाइन प्रणालीको सञ्चालन क्षमताको मूल्यांकन गर्न, प्रयोगमा रहेका प्राविधिक पूर्वाधार, प्रणाली तथा मानव संसाधन लगायतका विषयको अध्ययन अध्ययन समिति बनाएको थियो । त्यसपछि सो समितिले नेप्से र वाईकोले बनाएको सिष्टमका बारेमा अध्ययन गरेको थियो । अध्ययन समितिले गत मंशिर २५ गते बोर्डलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा यति गम्भीर कुरा निस्कियो कि एक पटक बोर्ड नेतृत्व नै छक्क पर्यो । नेप्सेको प्रणालीभित्र त अनाधिकृत व्यक्तिले मज्जाले पहुँच पाउने रहेछ भन्ने थाहा पाएपछि बोर्ड स्वयम नै फायर भयो नेप्सेसँग । किनकि अध्ययनका क्रममा बोर्डले नेप्सेको प्रणालीमा अनधिकृत व्यक्तिको प्रवेश सहज रुपमा हुन सक्ने जोखिम देखेको थियो । अर्थात सिष्टममा चल्नुपर्ने सेयर बजार कसैको हातबाट चल्ने खतरा बढेको पाइएको छ ।

सो अध्ययनका क्रममा नेप्सेको प्रणालीमा यतिधेरै कफियत देखिएको छ कि मानौँ नेप्सेले आफ्नो अनलाइन सिष्टम कुनै एक भिडियो गेमजस्तो सम्झिरहेको छ । नेप्सेको अनलाइन सिष्टम यतिसम्म असुरक्षित रहेको पाइएको छ कि मानौँ, नेप्सेमा केहि व्यक्तिहरुले कुनै पनि बेला, जे पनि गर्न सक्छन् । स्वयम नेपाल धितोपत्र बोर्डले नेप्सेमा हुने सेयर कारोबारको विश्वशनीयतामा शंका उत्पन्न भएको तथ्य औंल्याएको छ । र स्वयम् बोर्डले गरेको अनुसनधान प्रतिवेदनमा भनिएको छ । नेप्सेले हाल सञ्चालनमा ल्याएको प्रणाली जोखिममा रहेको देखिन्छ।

खासमा वाईकोले नेपाली सेयर बजारको कारोबार प्रणाली जसलाई छोटकरीमा नट्स भनिन्छ, त्यसको विक्री तथा मर्मत सम्भार गर्ने जिम्मा पाएको हो । उसले हेर्नुपर्ने खासमा नट्स मात्र थियो र हो । तर वाईकोले त नेप्सेको पूरै प्रणालीमा पहुँच राखेको स्वयम् बोर्डले भेट्टाएको छ । उसले चाहेमा ब्रोकरहरुको टिएमएसमा प्रवेश गर्ने, कुनै स्क्रिप्ट चल्नै नदिने, कुनैमा बाई अर्डर आफैं रकहिदिने, कुनैमा राखिएको बाई अर्डर पनि नदेखाउने गर्न मिल्ने देखिएको स्वयम् बोर्डको अध्ययनले देखाएको छ । यतिसम्मकि वाईकोले नेप्सेले सञ्चालनमा ल्याएको डाटा सेन्टरमा समेत पहुँच पुर्याएको, नेप्सेको डाटा बेस र एक्टिभ डाइरेक्टोरीजस्ता महत्वपूर्ण प्रणालीमा सहज पहुँच पाएको प्रतिवेदनमा उल्लेख छ । यसको अर्थ कसैले कुनै एक स्क्रिप्टमा बाई अर्डर राखिदियो भने वाईकोले त्यसलाई नदेखाउनेगरी डाटा तोडमोड गरिदिन सक्ने भयो, कसैले सेल अर्डर राखेको छ भने, सो स्क्रिप्टमा सेल नै छैन भन्ने देखाउनेगरी तथ्यांक तोडमोडसमेत वाईकोले गरिदिन सक्ने भयो । अझ सहज भाषामा भन्दा वाईकोले चाहे कुनै एक स्क्रिप्ट बढेको बढ्यै गराईदिन, वा चाहेको खण्डमा घटेको घट्यै गराईदिन पनि सक्ने भयो ।

अव एउटा सम्भावित उदाहरण हेरौं । तपाईं हामी धेरैलाई हाथवे इन्भेष्टमेन्टको सेयर किन बढिरहेको छ भन्ने लागेको छ नि, होइन ? यसको अर्थ फेरी हाथवे राम्रो वा नराम्रो भन्न खोजेको हामीले होइन । बरु हाथवेको कारोबारमा कतै यस्तै छेडखानी त भएन ? भन्ने स्वाभाविक शंका हो हाम्रो । किनकि हाथवे इन्भेष्टमेन्टमा आईएमई ग्रुपका हेमराज ढकालको ३०.०१ प्रतिशत लगानी छ । र त्यहि आईएमई ग्रुपको लगानी वाईकोमा पनि ८० प्रतिशत छ । यसको सिधा हिसाब हो, हाथवेका मालिकहरुले चाहेको खण्डमा हाथवेको सेयरमा कुनै पनि खालको चलखेल गर्न सक्छन्, जति माथि पुर्याउन पनि सक्छन्, जति तल खसाल्न पनि सक्छन् । यस्तो भयो भन्न खोजेको होइन, तर यस्तो भएन भन्ने स्थिति पनि छैन, किनकि जसको हाथवे हो, वाईको पनि उसैको हो । अनि वाईकोलाई नेप्सेको पूरै प्रणालीको चाबी दिईएको तथ्य त स्वयम् धितोपत्र बोर्डको प्रतिवेदनले देखाईसक्यो । अनि यो स्क्रिप्टमा चलखेल भएन भनेर भन्ने ठाउँ कहाँ छ ? तर यस विषयमा को बोल्ने ? किनकि हाथवे त ठुलो मान्छेको कम्पनी हो, अनि वाईकोमा ठुलो सेयर हाल्ने मान्छे पनि ठुला व्यापारी हुन् । यस्तो विषयमा फेरी नेताहरुले पनि बोल्ने कुरा भएन, किनकि उनीहरुले चुनावमा चन्दा लिने स्रोत पनि थोरबहुत त्यतै हुन सक्छ ।

यस्तो सिधासिधा स्वार्थको द्वन्द हुनेगरी खुलेआम काम हुँदा पनि अहँ, वाईकोको बदमासीबारे कोहि बोल्दैनन् । अझ बोल्छन् त यस्तो हुनु हुँदैन भनेर आवाज उठाउने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको सम्पत्ति छानविन गर्नुपर्छ भनेर । यसरी वाईको र नेप्से मिलेर जे गर्दा पनि हुन्छ भन्ने स्पष्ट हुँदा पनि कोहि जनताको लगानीप्रति सिरियस छैन, बरु वाईकोसँग मिलेर कमाउन पाए भन्नेमै व्यस्त छन् ठुलाठालुहरु । खासमा सम्पत्ति छानविन हुनुपर्ने वाईकोका मालिकहरुको हो, सबै तथ्यांकमा र जनताको किनबेचका विवरणहरुमा पहुँच दिने नेप्सेका हाकिमहरुको हो, आफ्नो कम्पनी जहाँ पुर्याउन पनि सक्नेहरुले कति कहाँ सम्म पुर्याए र जनतालाई कसरी टोपी लगाए भन्ने टोपीवालहरुको हो सम्पत्ति छानविन गर्नुपर्ने । तर यो त नेपाल हो, यहाँ त यस्तो प्रश्न उठाउनेलाई छानी छानी प्रहार गरिन्छ । हाथवेका मालिक र वाईकोका मालिक उही हुन्, र यहाँ ठुलो चलखेलको सम्भावना छ भनेर बोल्नेहरुलाई फेक एकाउन्टबाट गाली गर्न कसकसले लगाईरहेका छन् भन्ने बुझ्न गाह्रो छैन । यहीं तल कमेन्टमा पनि तिनका छाउराछाउरीहरु आईपुगिसकेका होलान् । तर यसरी खुलेआम गलत गर्नेलाई कसैले छुँदैन । छुँदैन किनकि तिनलाई लाग्छ ठुला मान्छेलाई छुनै हुँदैन ।

अझ खास कुरा त के छ भने करिव पाँच वर्षअघि अनलाइन कारोबार शुरू हुँदा नेप्सेलाई विद्युतीय कारोबार सेवा दिन टेन्डर प्रक्रियामार्फत नै वाईको छानिएको थियो । त्यतिबेला सो कम्पनीमा हाथवे, वा आईएमई ग्रुपका मालिकको लगानी थिएन । तर जव उनीहरुले वाईकोसँग जोडिंदा फाइदा देखे, वाईकोलाई ठुलो पैसा दिएर वाईकोको बहुमत प्रतिशत सेयर नै किनिदिए । त्यसपछि त सूचीकृत कम्पनी पनि आफ्नै, नेप्से चलाउने आईटी कम्पनी पनि आफ्नै । सिधै स्वार्थको द्वन्द हुनेगरी निरन्तर काम भईरह्यो । यो बीचमा वाईकोले कति कमायो वा वाईकोलाई प्रयोग गरेर कतिले कति कमाए होलान्, अहँ त्यसको छानविन वा त्यसो गर्न सक्नेहरुको सम्पत्ति छानविन हुन आवश्यक कसैलाई लागेन । लाग्यो त बोर्ड अध्यक्ष रमेश हमालको सम्पत्ति छानविन हुनुपर्छ भन्ने, जसले जनताको पैसा वाईको संग मिलेर कसैले लुट्न सक्छ भन्ने लुपहोल जनतामाझ छर्लंग पार्न खोज्यो । वाईकोमा ठुलो स्वामित्व आईएमइ ग्रुपसँग छ । र आईएमइ ग्रुपका हेमराज ढकाल लगायतका व्यक्ति सेयर बजारका ठुला सेयर कारोबारी हुन् । भनेपछि स्वार्थको द्वन्द कुन हदसम्म छ भन्ने तथ्य देखिएन र ?

नेपाल धितोपत्र बोर्डले तयार गरेको प्रतिवेदनमा वाईकोका कर्मचारीद्वारा नेप्सेको प्रणालीमा गरिएको परिवर्तन थाहा हुने अवस्था नरहेको भनी उल्लेख गरेको छ । यसको अर्थ वाईको कम्पनीका कर्मचारीहरुले जे परिवर्तन गरे पनि नेप्सेलाईसमेत सो कुरा थाहा हुन्न । आम लगानीकर्तालाई थाहा हुने त झन् कुरै भएन । यसरी नेप्सेको प्रणालीमा निर्वाध पहुँच पाउँदा निश्चित कम्पनीको सेयरको मूल्य, माग संख्या आदिमा चलखेलको जोखिम हुने र बजारलाई आफ्नो स्वार्थअनुसार प्रभावित गर्न सक्ने धितोपत्र बोर्डको प्रतिवेदनले औंल्याएको छ । अर्थात नाम उल्लेख नभए पनि धितोपत्र बोर्डको प्रतिवेदनले भन्न खोजेको सार यहि हो – वाईकोमा आईएमई ग्रुपको लगानी छ, सेयर बजारमा सोहि ग्रुपमा अधिकारीहरु ठुला सेयर खेलाडी छन्, यीनीहरुले जे पनि गर्न मिल्छ, सिष्टमभित्र छिरेर तथ्यांक तोडमोड पनि गर्न मिल्छ, आफ्नो सेयरको मूल्य निकै माथि पुर्याउन पनि मिल्छ, निकै तल झार्न पनि मिल्छ । अव उनीहरुले त्यसो गरे कि गरेनन् भनेर हेर्नचाहिं कसले हेर्नु ? अलिअलि हेर्न के खोजेका थिए हमालले उनलाई त लागिहाल्यो अनेक समितिको झमेला र अनुसन्धानका नाममा अनेक लफडा । अझ धितोपत्र बोर्डको अवको अध्यक्ष बनेर जानेवालाहरुको लिष्टमा पनि आईएमई ग्रुपले ठुलो समर्थन गरेका व्यक्तिहरु नै बढी छन् । अझ उही गाउँठाउँका पनि लाइनमा छन् । अनि त नेप्सेको कानुन, कि वाईकोका मालिकले जानुन्, कि दैबले जानुन् भएन र ?

नेपालको सेयर बजारमा वाईको यति शक्तिशाली छ कि के भन्ने ? सेयर बजारको टिएमएस सेवा दिने पनि उही वाईको, धितोपत्र बजारको विद्युतीय कारोबार प्रणाली अर्थात् मुख्य प्रणालीको सेवा दिने पनि उही वाईको । यो काम स्वयम् प्रचलित व्यवस्था विपरित छ । र बोर्डले तयार गरेको प्रतिवेदनले पनि यसलाई कानूनविपरीत भएको भनेको छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम २१ (ख) को उपविनियम (४) विपरीत एकै सेवा प्रदायकले दुई थरी सेवा दिइरहेकोमा प्रतिवेदनले प्रश्न उठाएको छ ।

“नेप्सेको सूचना प्रविधि प्रणालीहरू सञ्चालन गर्नका लागि पर्याप्त कागजातहरु, म्यानुअलहरु र मानक सञ्चालन प्रकृया उपलब्ध नभएको देखिएको तथा प्राविधिक सञ्चालनमा तेस्रो पक्षमा अत्यधिक निर्भरता रहेको पाइएको जसले गर्दा व्यववसायिक जोखिम बढेको देखिएको छ,” प्रतिवेदनमा सरकारी भाषा प्रयोग भएको भए पनि यसको अर्थ निकै गम्भीर छ । यतिमात्र होइन, बोर्डले गरेको अध्ययनका क्रममा नेप्सेको कारोबार मिलान प्रणालीजस्तो संवेदनशील प्रणालीमा अझै पनि कारोबारमा म्यानुअल कार्य गर्ने गरेको भेट्टाएको छ । र यो निकै जोखिमपूर्ण कार्य भनेको छ बोर्डले । यस्तो गर्नुको अर्थ व्यक्तिगत तजबिजीका आधारमा काम हुन सक्छ भन्ने पनि हो । र यहाँ काम गर्नेले पूर्वाग्रही निर्णय लिन सक्छ भन्ने जोखिम पनि बोर्डले औंल्याएको छ ।

अझ खर्वौँको कारोबार हुने बजारमा धितोपत्र बजारको विद्युतीय कारोबार प्रणली सञ्चालनका लागि अत्यावश्यक पूर्वाधारसमेत नभएको बोर्डले प्रतिवेदनमा उल्लेख गरेको छ । कुनै बेला लफडा आईलाग्यो भनेर वाईकोले सबै लगानीकर्ताको डाटा उडाईदियो भने डाटा रिकभरी साइटको पर्याप्त व्यवस्थासमेत नभएको प्रतिवेदनमा उल्लेख छ । वाईकोकै कारण बेलाबेलामा कारोबार प्रणाली अवरुद्ध भई लगानीकर्ता कारोबारबाट वञ्चित हुनुपरेको पनि प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनले टीएमएसको निर्माणमा गरिएको खर्चको औचित्यमासमेत प्रश्न उठाएको छ। गरिएको खर्चको विवरण र उपयोग भएको सिष्टमको विवरण मेल नखाएपछि कतै यो सिष्टम किनबेचमा पनि मिलेर नेप्सेले पैसा त खाएन ? भन्ने स्वाभाविक प्रश्न उब्जेको छ । लागत खर्च बारे प्रतिवेदनले प्रश्न उठाएको छ ।

नेप्सेको सिष्टम त यतिसम्म असुरक्षित रहेछ किभीपीएनबाट नेप्सेको जानकारी बिना कुनै पनि समय वाईको नेप्सेको नेटवर्कमा प्रवेश गर्न सक्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । अझ नेप्सेको प्रणालीमा को कतिबेला प्रवेश गरेको छ भन्ने अनुगमन सिष्टमसमेत कतै छैन भन्ने तथ्य पनि प्रतिवेदनले उल्लेख गरेको छ । प्रणालीमा पहुँच पाउनेको आईपी ठेगाना, प्रवेश गरेको र बाहिरिएको समय, प्रयोगकर्ताको विवरण, गरेको गतिविधि, लगइनको असफल प्रयासबारेका सूचना कतै भण्डार गरिएको छैन । यसको कुनै तथ्यांक कतै खोजे पनि भेटिदैन । अर्थात उदाहरणका लागि हाथवेको बजार मूल्य चलखेल गर्न को को कहाँ कहाँ कसरी छिरे भनेर अनुसन्धान गर्ने हो भने त्यसको कुनै तथ्यांक नै छैन । यस विषयमा बोर्डले नेप्सेलाई सुझाव त दिएको छ, तर नेप्से यस्तो व्यवस्था गर्ने मुडमा छैन । बरु बोर्डमा अव वाईको वा आईएमईले चाहेकै मान्छे आउँछन्, त्यसपछि टन्टै साफ भन्ने सोचेर बसेका छन् नेप्सेका हाकिम । अनि यस्तो बजारमा सोझो लगानीकर्ता डुब्दैन त ?

तर यति साह्रो रिस्की सिष्टम छ भन्ने तथ्य छताछुल्ल हुँदा पनि कसैले केहि गर्न सक्ने अवस्था छैन । चलखेल भयो कि भनेर अनुसन्धान गरौँ भने एक त कसैलाई चाहाना छैन, बाध्यता पर्यो भने पनि तथ्यांक छैन । कमाउनेले कमाएको कमाई छन्, गुमाउने सोझा लगानीकर्ता छँदै छन् । केहि थाहा नपाउनेका लागि बजार बजार छ, तर चलखेल गर्नेलाई यो बजार पहिला हेरेर, हेरेको छैन है भन्ने देखाएर खेलिएको ब्ल्यांड फरास जस्तै छ भन्दा फरक पर्दैन ।

सरकारलाई, लेखा समितिका माननीयहरुलाई, अन्य सांसदहरुलाई हाम्रो अनुरोध- सम्पत्ति रमेश कुमार हमालको मात्र होइन, वाईकोका मालिकहरुको पनि गरौँ, नेप्सेका हाकिमहरुको पनि गरौँ । एक पटक सबैको गरौँ, अनि को कति फाटाहा, को कति सज्जन रहेछ भन्ने कुरा थाहा भईनै हाल्छ । होइन, नेप्सेलाई कोहि व्यक्ति वा समूहले खेलाईरहने, अनि अर्को स्टक एक्सचेन्ज पनि आउन नदिने हो भनेचाहिं सोझा लगानीकर्ताहरुको उठिबास लागिरहनेछ र केहि सिमित व्यक्तिहरु मात्र मोटाइरहनेछन् भन्ने कुरामा कुनै शंका छैन । बाँकी त हामीले त बस् सुझाव दिने न हो, लगानीकर्ताको रक्षा गर्ने दायित्व त सरकारको होला । होइन र ?

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी