×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बक्यौता बाँकी भएका उद्योगको आईपीओ रोक्न प्राधिकरणको पत्रलाई धितोपत्र बोर्डले टेरेन !

अर्थ सरोकार

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार

PRIME CA

बक्यौता बाँकी भएका उद्योगको आईपीओ रोक्न प्राधिकरणको पत्रलाई धितोपत्र बोर्डले टेरेन !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बक्यौता नतिर्ने कम्पनीको प्राथमिक सेयर (आईपीओ) रोक्न नेपाल विद्युत प्राधिकरणले पठाएको पत्रको बेवास्ता गरेको छ । प्राधिकरणले विद्युत महसुल तिर्न बाँकी उद्योगहरुको नामावलीसहित आईपीओ रोक्न २०८० पुष २५ गते पठाएको पत्रको बोर्डले बेवास्ता गरेको हो ।

विद्युत महसुलबापतको बक्यौता नतिर्ने उद्योगहरुले उल्टै आईपीओ जारी गर्ने तयारी गरेपछि प्राधिकरणले बोर्डमा गत पुष २५ गते बक्यौता नतिर्ने उद्योगको नाम र तिर्न बाँकी बक्यौताको विवरणसहितको पत्र बोर्डमा पठाएको थियो ।

तर, बोर्डले प्राधिकरणको उक्त पत्रको बेवास्ता गरेपछि बक्यौता नतिर्ने केही उद्योगले आईपीओ जारी गरिसकेका छन् भने केही उद्योग पाईपलाइनमा छन् ।

यसो त डेडिकेटेड र ट्रंक लाइन महसुल तिर्न बाँकी रहेका सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र घोराही सिमेन्टले यसअघि नै प्रिमियम दरमा आईपीओ जारी गरिसकेका छन् । प्राधिकरणको पत्रपछि पनि विद्युत बक्यौता नतिर्ने सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाएर उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा विदेश गएका नेपालीहरुका लागि आईपीओ जारी गरिसकेका छन् ।

हाल, यी दुवै उद्योगले सर्वसाधारणका लागि आईपीओ जारी गर्न भने बाँकी छ । जसमध्ये सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर आईपीओ जारी गर्न लागेको छ ।

त्यस्तै, प्राधिकरणले बोर्डमा पठाएको पत्र अनुसार बक्यौता तिर्न बाँकी रहेको जगदम्बा स्टिल्सले पनि बोर्डमा आईपीओ निष्काशनका लागि अनुमति मागेको छ । बोर्डका एक उच्च अधिकारीका अनुसार जगदम्बा स्टिल्सलाई आईपीओ निष्काशनको अनुमति दिने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । तर, बक्यौता नतिर्ने कम्पनीको आईपीओ रोक्न प्राधिकरणले पठाएको पत्रबारे न बोर्डले कुनै जानकारी गराएको छ, न त एक्सन नै लिएको छ । बरु भकाभक आईपीओ निष्काशनको अनुमति दिने मनसायमा बोर्ड देखिएको छ ।

यता बोर्डका अधिकारीहरु भने आईपीओ निष्काशनको अनुमति पाइसकेका कम्पनीको हकमा केही गर्न नसक्ने र आईपीओ जारी गर्न लागेका कम्पनीहरुको हकमा भने बक्यौता तिर्ने प्रतिबद्धता गरे अनुमति दिइने बताउँछन् । यद्यपि बोर्डले भने बक्यौता नतिर्ने कम्पनीहरुलाई पनि प्रक्रियाका आधारमा अनुमति दिने तयारी गरेको बोर्डका उच्च अधिकारीहरुले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: