काठमाडौँ । राजापुर र कैलालीको टीकापुर सीमामा पर्ने कर्णाली नदीका कारण बर्सेनि आसपासको खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ । यसरी बगरमा परिणत भएको क्षेत्रमा अहिले पनि बालुवा नै बालुवा थुप्रिएको देखिन्छ । धेरैजसो बगर उपयोगविहीन छ ।
राजापुरसँग जोडिएको कैलालीको टीकापुर-८ फाँटाका किसानहरूले भने त्यही बगरलाई पसिना सिञ्चित गरी जीविकोपार्जनका लागि उपयोग गरिरहेका छन् । ३ वर्षअघिसम्म मरुभूमि झैँ देखिने यो क्षेत्र अचेल त्यँहाका किसानका लागि आम्दानीको स्रोत बनेको छ । हिजो बालुवा नै बालुवा देखिने यो बगरमा अचेल मौसमअनुसार तरकारीखेती गरी किसानले आम्दानी गरिरहेका छन् । यो बगरमा अचेल कहिले लौका, काँक्रा, तरबुजा त कहिले प्याज फल्छन्, जसले किसानको जीवनशैली फेरिँदै गएको छ ।
विसं २०६४ को बाढीले किसानको खेतीयोग्य जमिन कटान गरी क्षति पुर्याएकामा त्यसयता त्यो क्रम निरन्तर जारी छ । धेरैजसो किसानको सबै खेती बगाएपछि आर्थिक उपार्जनको कुनै उपाय थिएन । पछिल्ला समय कर्णाली नदीले कैलालीतर्फको धार परिवर्तन गर्दै बर्दियातर्फ मोडिएपछि त्यही बगरमा खेती गरेर ती किसानले आफ्नो गर्जो टारिरहेका छन् । ३ वर्षदेखि यहाँ बगरखेती हुँदै आएको छ ।
स्थानीय सोहदी चौधरीले भने पहिलोपटक यस वर्षदेखि बगरखेती सुरु गरेका छन् । छोरी सेती चौधरीले प्रेरित गरेपछि उनी त्यसतर्फ आकर्षित भएका हुन् । छोरी सेतीले गत वर्ष घरअगाडिको खाली बगरमा नौ किलोग्राम प्याज रोपेर चार क्विन्टल उत्पादन गर्न सफल भएपछि आमाले पनि उत्साहित हुँदै १५ केजी प्याजको बीउ रोप्ने आँट गरेको सोहदीले बताए । ‘छोरीले राम्रो कमाई गरेपछि मैले पनि हिम्मत जुटाएँ । पहिलोपटक बगरमा खेती गर्दैछु, हेरौँ राम्रै होला भन्ने अपेक्षा छ’, उनले खुसी हुँदै भने । यहाँ ३ वर्षअघि खेती गर्ने किसानमध्ये एक थिए शाहीबहादुर चौधरी ।
बगरखेतीबाट मनग्य आम्दानी हुन थालेपछि उनको सम्पूर्ण परिवार यसै कार्यमा लागेको छ । ‘ती वर्षअघि यो बगरमा हामीले नै पहिलोपटक खेती गरेका थियौँ । राम्रो कमाई हुन थालेपछि अहिले मेरो सातजनाको परिवार यही खेतीमा लागेका छौँ । हाम्रो प्रगति देखेर पछिल्लो समय यस क्षेत्रका अन्य किसान पनि आकर्षित हुँदै गएका छन्’, चौधरीले भने । उनले यसपटक आफूले ३० क्विन्टल प्याज फलाउने लक्ष्यसहित खेती गरेको बताए ।
बडघर अजय चौधरीका अनुसार यहाँ सोहदी, सेती र शाहीबहादुर मात्र नभई ५४ परिवार किसानहरूले हाल बगरखेती गरिरहेका छन् । ‘पहिले उहाँहरुले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहनुभएको थियो । पछिल्लो ३ वर्षयता भने उहाँहरूले बगरखेती गर्न थाल्नुभएको छ । सबै जनाले राम्रो आम्दानी गरिरहनुभएको छ’, उनले भने ।
किसान मीना चौधरीले आफूहरूले मौसमअनुसार लौका, काँक्रा, तरबुजा र प्याजखेती गरिरहेको बताए । उनले उत्पादित सामग्री बिक्रीका लागि किसानलाई कुनै समस्या नभएको सुनाए । ‘हामीलाई बजारको कुनै चिन्ता छैन, उत्पादन गरे पुग्छ । नेपालगञ्ज, राजापुर, लम्की र टीकापुरसम्मका व्यापारीहरू गाडी लिएर आफैँ खरिद गर्न आउँछन्’, चौधरीले भने, ‘व्यापारीहरू नै यही आएर राम्रो मूल्य दिएपछि धेरै सहज भएको छ । उत्पादन गरेको सामग्री कसरी बेच्ने होला भनेर चिन्ता नहुने भएपछि खेतीमै ध्यान दिए पुग्छ ।’
बजारको समस्या नभए पनि यहाँका किसानलाई सिँचाइको समस्या भने टड्कारो छ । यो समस्या समाधान भएमा आफूहरूले थप ऊर्जासहित काम गर्ने रतरानी चौधरीले बताईन् । ‘नदीछेउमै घर छ, जमिनका नाममा यही बगर हो । पछिल्लो यही बगरमा पसिना चुहाएर जीविको चलाइरहेका छौँ तर सिँचाइको समस्याले निकै चुनौती छ । कति दिनसम्म बाल्टीमा पानी बोकेर सिँचाइ गर्नु’, उनले दुखेसो पोखे , ‘उसै त बालुवामा धेरै पानी चाहिने, बाल्टिको पानी त बालुवाले एकै छिनमा सोस्छ । प्याज र तरकारी खेतीमा धेरै पानी चाहिने भएकाले सरकारले सिँचाइको व्यवस्था गरिदिए सहज हुन्थ्यो ।’
स्थानीय पार्वती चौधरी पनि सिँचाइ व्यवस्थाका लागि सहयोग गर्न स्थानीय सरकार र सरोकारवालालाई आग्रह गर्नुहुन्छ । ‘सिँचाइको राम्रो व्यवस्था भए, हामी अझ धेरै खेती गरेर राम्रो आम्दानी गर्न सक्थ्यौँ । प्रत्यक्ष रूपमा हामीलाई फाइदा भए पनि यसको लाभ त अरूलाई पनि हुन्थ्यो नि !’, उनले भने । बगरखेतीले फाँटाका किसानहरूको जीवनमा नयाँ उत्साह ल्याएको छ । किसानहरूले बगरमा पसिना सिञ्चन गरी राम्रो आम्दानी गरिरहेका छन् । यसले किसानको आर्थिक स्थिति सुधारका साथै ग्रामीण अर्थतन्त्रलाई पनि गतिशील बनाएको छ । यदि सिँचाइको उचित प्रबन्ध हुने हो भने यस कार्यले फाँटा गाउँ र समुदायको समृद्धिमा थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।