काठमाडौँ । गत शुक्रबार (१५ गते) कोटेश्वरको भाटभटेनीमा भएको लुटपाट र तोडफोडका क्रममा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको पाइएको छ । तोडफोड र लुटपाटपछि भाटभटेनीले गरेको क्षति मूल्याङ्कनका क्रममा सो रकम बराबरको क्षति भएको पाइएको भाटभटेनीले जनाएको छ ।
भाटभटेनीका अनुसार सबैभन्दा धेरै क्षति सामान चोरी हुँदा र नष्ट हुँदा भएको छ । सो दिन भाटभटेनीबाट ६४ लाख ८८ हजार रुपैयाँको मौज्दात सामान हराएको र नष्ट भएको भाटभटेनीले जनाएको छ ।
त्यस्तै, भवनमा भएको तोडफोडबाट ११ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ । अर्कोतर्फ फ्रिजर र शोकेसको क्षति २ लाख ६५ हजार र ९४ हजार रुपैयाँ नगद चोरी भएको भाटभटेनीले जनाएको छ ।
उक्त लुटपाट र तोडफोडमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।