काठमाडौँ । नेपालको पूँजीबजारमा सरकार परिवर्तनसँगै भावी अर्थमन्त्री को हुने हो भन्ने विषयलाई लगानीकर्ताले गम्भिर चासोका साथ लिने गरेको पाईन्छ । अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने व्यक्तिको छवि र उनले अवलम्बन गर्ने नितीले पूँजीबजारमा दिर्घकालिन असर गरेका प्रशस्त उदाहरणहरु पनि हामी सामु छन् । तत्कालिन नेकपा माओवादी पार्टी सशस्त्र द्वन्द त्यागेर शान्तिप्रक्रियामा आएसँगै अर्थ मन्त्रालय सम्हालेका वावुराम भट्टराईको पूँजीबजारप्रतिको नकारात्मक टिप्पणीले लगानीकर्ताको भावनामा गम्भिर चोट पुर्याएको थियो । पूँजीबजारलाई “जुवाघर” को संज्ञा दिएका उनको अभिव्यक्ति अहिले पनि लगानीकर्ताको मन र मष्तिस्कबाट हट्न सकेको छैन् ।
नेकपा एमाले र माओवादी मिलेर बनेको दुई तिहाई बहुमतको सरकारको अर्थ मन्त्रालय हाँक्न आएका तत्कालिन अर्थमन्त्री युवराज खतिवडा यो दौडमा अझ अगाडी देखिए । पदभार ग्रहण लगत्तै उनले पूँजीबजारलाई “अनुत्पादक क्षेत्र” भनि टिप्पणी गरे । अर्थतन्त्रका ज्ञाताका रुपमा परिचित उनले आफ्नो कार्यकाल भरि नै पूँजीबजारप्रति निरन्तर रोष प्रकट गरिरहे । यद्यपी अहिलेको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माको पूँजीबजारप्रतिको दृष्टिकोण प्रष्ट नभएको र उनी कहिँ कतैबाट “निर्देशित” भएको विभिन्न प्रकरणहरुले देखाउँछ ।
प्रकरण नं. १ः
नेकपा माओवादी कोटाबाट अर्थमन्त्री बनेका शर्माले सपथ ग्रहण लगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा पूँजीबजारका बारेमा आफूलाई धेरै ज्ञान नभएको र यसबारे तत्कालै केही टिप्पणी नगर्ने बताएका थिए । नयाँ अर्थमन्त्रीप्रति सशंकित लगानीकर्ताले उनको यो भनाईपछि केहि राहत महसुस गरे । विगतका परिदृष्यभन्दा फरक र सकारात्मक माहौल सिर्जना हुने अपेक्षा गर्न थालियो ।
प्रकरण नं. २ः
देशको अर्थतन्त्रको अवस्थाका बारेमा श्वेतपत्र जारी गर्ने सम्बन्धमा अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले भनेका थिए, “पूँजीबजार लगायतका क्षेत्रहरुमा समस्याहरु छन्, त्यसमा पनि सर्वसाधारण जनतालाई कसरी उनीहरुको हितमा हुन्छ भन्ने बारेमा हामी नीति निर्माण गर्नेछौं । ” उनले थप भनेका थिए, “राजश्व संकलन क्षेत्रमा मैले सुनें १४ अर्व जस्तो राजश्व प्राप्त भएको रहेछ । त्यो पनि महत्वपूर्ण क्षेत्र रहेछ ।” पूँजीबजारप्रतिको उनको यो बुझाईले लगानीकर्तालाई थप लगानी गर्ने टेवा प्रदान भयो ।
प्रकरण नं. ३ः
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिले एकाघर लगानीकर्ताले एक वित्तिय संस्थाबाट ४ करोड र समग्र वित्तिय प्रणालीबाट १२ करोड सेयर धितो कर्जा मात्र लिन पाउने व्यवस्था गर्यो । उक्त नीतिबाट निकै तरंगित भएको पूँजीबजारलाई अर्थमन्त्रालय र उसको सचिवालयले निकै चासोका साथ लियो । राष्ट्र बैंकलाई सो नीति परिमार्जन गर्न सुझाव दिइएको भनी मन्त्रालय सचिवालयले प्रेस विज्ञप्ती नै जारी गरेको खबर सञ्चार माध्यममा सुन्नमा आयो । मन्त्रालयको यस कदमलाई आमलगानीकर्ताले निराशामा आशाको प्रतिक ठाने ।
प्रकरण नं. ४ः
अर्थमन्त्री शर्माले संसदीय समितिमा बोल्दै पूँजीबजारबाट सिमित व्यक्तिले मात्र लाभ लिने गरेको खुलासा गरे । त्यस्तै केन्द्रिय बैंकलाई सेयर सम्बन्धी कर्जा सिमा पुनरावलोकन गर्न आफूले गभर्नर महाप्रसाद अधिकारीसँग फोनमा समेत कुरा नगरेको भनी अभिव्यक्ति दिए । शर्माको यस्तो विरोधाभासपूर्ण भनाईले पूँजीबजारप्रतिको उनको हेराई बदलिएको हो कि भन्ने आशंका पैदा भयो ।
प्रकरण नं. ५ः
हालै आयोजना गरिएको आइक्यानका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा आइक्यानका एक सदस्यले पूँजीबजार सम्बन्धमा संस्थाले रिपोर्टिङ गर्नुपर्ने भएकोले अर्थमन्त्रीको तत् सम्बन्धमा राय मागेको थियो । अर्थमन्त्री शर्माले प्रतिप्रश्न गरेका थिए, “हावा भरिएर बढ्ने मूल्यबारे यहाँहरुको के राय होला? त्यो राय म लिन चाहन्छु । ” आफू कतैबाट परिचालित भएको स्पष्ट प्रमाण दिंदै उनले भनेका थिए, “यसमा धेरै बोल्न पनि मिल्दैन अरे ! त्यही सिकाएका छन् फेरी …।”
आखिर को हो त अर्थमन्त्री शर्मालाई पूँजीबजारबारे सिकाउने त्यो अदृष्य शक्ति ? पूँजीबजारप्रति अनभिज्ञ छु भन्ने अर्थमन्त्री कुन शक्ति वा समूहको घेरावन्दीमा परिरहेका छन् ? माथिका प्रकरणहरुबाट स्पष्ट हुन्छ की उनको पूँजीबजारप्रतिको सकारात्मक सोच कसरी एकाएक नकारात्मक भएर आउँदै छ । कतै अर्थमन्त्री शर्मा निश्चित स्वार्थ भएका व्यक्ति वा समूहका “कठपुतली” त भई रहेका छैनन् ? यसतर्फ आमलगानीकर्ताका साथै विगतमा उर्जा मन्त्रालय सम्हालेर उदाहरणीय बनेका स्वयं अर्थमन्त्री शर्माले पनि सोच्ने बेला आएको छ । (लेखक विकास केसी लगानीकर्ता तथा विराटलक्ष्मी विकास बैंकका पूर्व संचालक हुन्)