काठमाडौं । लिथुआनियाको रक्षा मन्त्रालयले आफ्ना सबै नागरिकलाई चिनियाँ फोन तुरुन्तै फाल्न र अब नयाँ नकिन्न चेतावनी दिएको छ । त्यहाँको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले यसअघि चीनले निर्माण गरेका फाइभजी मोबाइल फोनको परीक्षण गरेको थियो । केन्द्रले एउटा शाओमी फोनमा स्थायी ‘सेन्सरसीप टुल्स’ र अर्को हुवावेको मोडलमा सुरक्षासम्बन्धी गम्भीर समस्या देखा परेको जनाएको छ । ‘हाम्रो सुझाव भनेको चिनियाँ फोन किन्दै नकिन्नु हो । र, कसैले पहिले नै किनिसकेको छ भने छिटोभन्दा छिटो त्यसलाई फालिदिने या चलाउन बन्द गर्ने हो’, डेपुटी रक्षामन्त्री मार्गरिस अबुकेभिसिअसले भने । यता हुवावेले प्रयोगकर्ताका कुनै डाटा कतै नपठाइने दाबी गरेको छ भने शाओमीले पनि सञ्चारमा सेन्सर नलगाइने स्पष्टीकरण दिइरहेको छ ।
शाओमीको ‘एमआई टेन-टी फाइजजी’ फोनमा यस्तो सफ्टवेयर फेलापरेको छ, जसले ‘फ्री तिब्बत’, ‘लङ लिभ ताइवान इन्डिपेन्डेन्स’, ‘डेमोक्रेसी मुभमेन्ट’ जस्ता चीनमा विवादास्पद मानिने शब्दहरू पत्ता लगाई सेन्सर अर्थात् प्रतिबन्ध गराउन सक्ने त्यहाँको रक्षा मन्त्रालयको रिपोर्टले जनाएको छ । यस किसिमका ४४९ शब्द या वाक्यका अंशहरूलाई शाओमी फोनको सिस्टम एपले इन्टरनेट ब्राउजरबाट समेत सेन्सर लगाउन सक्ने बताइएको छ । यसअघि युरोपमा निर्यात गरिएका मोडलहरूमा यो फिचर ‘स्वीच अफ’ गरिएको थियो । तर, त्यो सिस्टम कुनै पनि बेला सक्रिय गराउन सकिने रिपोर्टको तर्क छ ।
शाओमीकी प्रवक्ताले यसले प्रयोगकर्ताका व्यक्तिगत व्यवहारमा कुनै किसिमको हस्तक्षेप, ब्लकिङलगायत नगर्ने गरेको दाबी गरेकी छिन् । त्यस्तै शाओमीको डिभाइसले फोन प्रयोगकर्ताका ‘एन्क्रिप्टेड डाटा’ सिंगापुरमा रहेको आफ्नो सर्भरलाई पठाउने गरेको पनि पाइएको थियो । केन्द्रले भनेको छ, ‘यो डाटा केवल लिथुआनियाका लागि मात्र नभएर शाओमीका उपकरण प्रयोग गर्ने सबै देशका लागि महत्वपूर्ण जानकारी हुनेछ ।’ शाओमी कम्पनीले सस्तोमा राम्रो प्राविधिक फिचरयुक्त मोडल ल्याएर लोकप्रियता कमाउँदै आएको छ । अघिल्लो वर्षको तुलनामा यसले आफ्नो दोस्रो क्वार्टरको आम्दानी ६४ प्रतिशतले वृद्धि गरिसकेको छ । यता, हुवावेको ‘पी ४० फाइभजी’ फोनमा पनि समस्या देखिएको रिपोर्टमा उल्लेख छ । यसले प्रयोगकर्तालाई साइबर सुरक्षा उल्लंघनको खतरामा पारिदिने बताइएको छ ।
‘हुवावेको एप्लिकेसन स्टोर, एप ग्यालरीले प्रयोगकर्तालाई तेस्रो पार्टीको ई-स्टोरमा पुर्याउने गर्छ । त्यहाँका केही एपहरू एन्टि-भाइरस प्रोग्रामको पहुँचमा छन् या कम्प्युटर भाइरसबाट संक्रमित भएका हुन सक्छन्’, लिथुआनियाको रक्षा मन्त्रालय र राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जनाएको छ । हुवावेले यसको स्पष्टीकरणमा आफूहरूले सबै देशको नीति-नियमानुरूप नै काम गर्ने गरेको र साइबर–सुरक्षा तथा गोपनीयताको विषयलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । हुवावेका प्रवक्ता भन्छन्, ‘डाटा कहिल्यै पनि डिभाइसभन्दा बाहिर प्रोसेस हुँदैन । एप ग्यालरीले अन्य एप जस्तै गरी प्रयोगकर्तालाई तेस्रो पार्टीको एपहरू इन्स्टल गर्नुपर्ने या चलाउनुपर्ने भएमा मात्र डाटा संकलन र प्रोसेस गर्ने गर्छ । त्यस्तै, प्रयोगकर्ताले सुरक्षित एप मात्र डाउनलोड गर्ने कुरा सुनिश्चित गराउन हुवावेले सुरक्षासम्बन्धी जाँच पनि गरिरहेको हुन्छ ।’
मन्त्रालयले वान प्लसको अर्को एक फाइभजी मोडल पनि परीक्षण गरेको थियो । तर त्यसमा भने कुनै समस्या फेला पारेन । चीन र लिथुआनियाबीच तनाव जारी रहेकै बेलामा यो खबर आएको छ । गत महिना चीनले लिथुआनियालाई बेइजिङबाट आफ्नो राजदूत हटाउन माग गरेको थियो र चिनियाँ दूतलाई पनि फिर्ता बोलाएको थियो । ताइवानले लिथुआनियासँगको मिसनलाई ‘ताइवानिज प्रतिनिधि कार्यालय’को नामले बोलाउने घोषणा गरेदेखि दुई देशबीच विवाद सुरु भएको थियो । युरोप, अमेरिकालगायत अरू देशहरूमा रहेका ताइवानी दूतावासले विवादमा नपर्नकै लागि यसको राजधानी, ताइपेईको नाम मात्र प्रयोग गर्ने गरेका छन्, जसले टापुको पूरा नाम जनाउँदैन । चीनले ताइवानलाई आफ्नै भूमि दाबी गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्