काठमाडौँ । भारतीय केन्द्रीय बैंक (आरबिआइ) ले कार्तिक १५ गते मंगलबारदेखि पहिलो डिजिटल करेन्सीको सुरुवात गरेको छ । पाइलट प्रोजेक्टको रुपमा आरबिआइले डिजिटल करेन्सी ‘सिबिडिसि’ जारी गरेको हो ।
डिजिटल करेन्सीको लागि आरबिआइले एसबिआई बैंक, बैंक अफ बदौडा, युनियन बैंक अफ इन्डिया, आइसिआइसिआइ बैंक, कोटक महिन्द्रा बैंक, यस बैंक, आइडिएफसि फस्ट बैंक र एचएसबिसिलाई छनोट गरेको छ । मंगलबारदेखि थोक डिजिटल रुपैयाँ परीक्षणको आधारमा प्रयोग गरिने भारतको केन्द्रीय बैंकले जानकारी गराएको छ । प्रारम्भिक चरणमा सरकारी धितोपत्रहरुको कारोबार सेटलमेन्टका लागि डिजिटल रुपैयाँको प्रयोग गरिने भएको छ ।
डिजिटल करेन्सी दुई प्रकारका हुनेछन् । जसमा सिबिडिसि होलसेल र सिबिडिसि रिटेल हुनेछन् । मंगलबारबाट सुरु भएको सिबिडिसि होलसेल हो । जसको प्रयोग ठूला वित्तीय संस्था जस्तै बैंक, ठूला नन् बैंकिङ फाइनान्स कम्पनी र अर्का ठूला कारोबार गर्ने संस्थाहरूले गर्नेछन् । होलसेलको प्रयोग पछि रिटेल करेन्सी जारी गर्ने योजना आरबिआइको रहेको छ । जसको प्रयोग सर्वसाधारणले आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सक्ने बताइएको छ ।
बिटक्वाइनजस्ता निजी डिजिटल मुद्राहरुलाई अनुमति दिँदा वित्तीय स्थायित्वमा खतरा उत्पन्न हुने ठहर गर्दै भारतले आफ्नै ‘केन्द्रीय बैंक डिजिटल करेन्सी’ प्रचलनमा ल्याउन लागेको हो । डिजिटल करेन्सीको प्रयोग बढेसँगै सर्वसाधारणले भौतिक रुपैयाँ बोक्नु पर्ने छैन । जसको प्रयोगले क्यास लेस पेमेन्ट गर्न सकिने छ । यता भौतिक रुपैयाँ छाप्ने लागत समेत कम हुने आरबिआइको भनाई छ ।