बैंकमा कर्मचारीको बदमासी जति बढेको छ, त्यहाँभन्दा बढी हाकिमको बदमासीमा साना कर्मचारी फस्ने क्रम बढेको छ । तत्कालीन कुमारी बैंकमा हाकिमले करोडौं रुपैयाँ ऋण नक्कली धितोउपर दिए, तर १७-१८ हजारको जागिर खाईरहेका कनिष्ट कर्मचारी अहिले जेलमा हुँदा अरु हाकिम उम्किसके । एभरेष्ट बैंकमा हाकिमले गरेको बदमासीका कारण केहि निर्दोष बैंकरहरु अनाहकमा हिरासत पुगे । तत्कालीन कामना सेवाका पूर्वका हाकिमले गरेको बदमासीको मारमा एउटा सोझो बैंकर धरौटी तिर्न नसकेर अझै जेलमा छ । सोझा अजय श्रेष्ठहरु जेल जाने र उस्तै केसमा अरु बैंकरहरुले छुट पाउने भईरहेको छ । सिन्धु बिकास बैंकमा ग्राहकको पैसा, बैंकको सिष्टममै नराखी अपचलन गरेको अभियोग लागेकाहरु छुटेका छन्, तर सोहि प्रकृतिको अर्को केसमा सोहि बैंकका कर्मचारी जेलमा छन् । अनि कसैको गर्ने विश्वास ? कसरी हुन्छ सिष्टमप्रतिको सहानुभूति ? यो सब देख्दा बैंकरहरु नै भनिरहेका छन्- ‘हाकिम सापको पोल खोल्दिने कोहि छैन, गरिबको चमेली बोल्दिने कोहि छैन…’
नेपाली बैंकिङ क्षेत्रको तनाव यतिमात्र सिमित छैन । राष्ट्र बैंकले आफ्नै प्रतिवेदनमा थुप्रै बैंकरहरु भेडाजस्तै भए भनेर उल्लेख गरेको छ । पावर लगाउनेहरु खुरुखुरु बढुवा हुने, अनि भनसुन गर्ने कोहि नहुनेहरु सधैं हेपाईमै बस्नुपर्ने तनाव छ धेरैजसो बैंकहरुमा । हाकिमले गरेको बदमासीको सजाय भोग्नुपर्ने तनाव त छ नै, टार्गेटका नाममा गरिएको मनपरी, र कर्मचारीलाई गरिएको रैतीको व्यवहारका कारण धेरै बैंकरहरु बैंकिङ सिष्टमलाई मात्र होइन पूरै देशलाई सराप्दै विदेश हानिएका छन्। बैंकको लकरमा सुन सुरक्षित छैन, तर अपराधीले गोली राख्छ । सुन पचाउने हाकिम, दोषी देखिने कर्मचारी हुने गरेको आरोप त झन् बर्षौंदेखि लाग्ने गरेको छ ।
कुरा बैंकहरुमा देखिएको यो विकृत रुपको होइन, कुरा राम्रा बैंकरहरुमाथि सगोलको बुझाईले निम्त्याएको गलत बुझाइ हो । एकाध बैंकका सीइओ बदमास हुँदा सबै बैंकका सीइओहरुलाई टाई लगाएका गुण्डाको उपमा दिईएको छ । एकाध संचालकको सर्टिफिकेट नक्कली हुँदा अधिकांश संचालकको हुर्मत लिईएको छ । एकाध कर्मचारी बदमास हुँदा बैंकमा राम्रो काम गर्नेहरुको पनि धज्जी उडाउने गरिएको छ । अनि एकाध बैंकमा भनसुनका भरमा काम हुँदा समग्र बैंकिङ क्षेत्र नै बदनाम बनिरहेको छ । खेतबारी के फस्टाउथ्यो र मनसुन बिना ? बैंकमा प्रमोसन के पाइन्छ र भनसुन विना भन्ने बनेको नयाँ उखान फगत उखान होइन, बरु बिद्रोहको स्वर हो ।
सिटिजन्स बैंकमा भएको सुन प्रकरण, एभरेष्ट बैंकमा भएको ग्राहकको पैसा चोरी, सिन्धु बिकास बैंकमा भएको पैसाको अपचलन, सप्तकोशी डेभलोपमेन्ट बैंकमा भएको चरम अनियमितता, एभरेष्ट बैंकमै ग्राहकको नागरिकता दुरुपयोग भएको प्रकरण, र एनआईसी एशियामा घटेको नक्कली धितो प्रकरणजस्ता प्रकरणहरुले बैंकहरुमात्र बदनाम भएका छैनन्, यसले केहि बैंकका कारण समग्र क्षेत्रमाथि नै प्रश्न उठेको छ ।
अनि यस्तो स्थितिका बीच एउटा बैंकर किन जीवनभर बैंकर बनेर रहोस् ? किन नखोजोस् एउटा बैंकरले बिदेशतिरको करियर ? किन नारोजोस् एउटा बैंकरले त्रिभुवन विश्वविद्यालय छोडेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बाटो ? बेला बेला बैंकहरुलाई कारवाही गर्ने, तर आफ्नै कर्मचारी भेडा हुन् भनेर उम्किने राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा देखिएको यो अविश्वासको पहिरो कहिले हटाउँछ ? के अव पनि गम्भीर भएर सोच्ने बेला भएन र ?