काठमाडौँ । सेयर बजारमैत्री बन्ने प्रयास गर्दै गर्दा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत सेयर कर्जाको जोखिम भार घटायो । त्यसपछि धेरैलाई लागेको थियो, अव बजार माथि जाने ट्रिगर पोइण्ट नै यहि हो । कतिपयको त बजारले भोलिपल्ट पोजेटिभ सर्किट हान्छ भन्नेसमेत अपेक्षा गरेका थिए । भलै, यथार्थ पोजेटिभ सर्किट हान्ने नै स्थितिको थिएन । सो स्थिति नभए पनि बजार बढेरै बन्द हुने स्थिति आयो । आखिर यस्तो किन भयो त ? विज्ञहरुले यसका मुख्य ३ कारण औंल्याएका छन् ।
१ . सतहीमा हेर्दा सेयर कर्जामा जोखिम भार घटाउने निर्णय पोजेटिभ थियो । तर यथार्थ के पनि हो भने ५० लाख रुपैयाँभन्दा तलको हकमा यो व्यवस्था पहिला नै थियो भने ५० लाख भन्दा माथि र १५ करोड भन्दा तलको सेयर कर्जा ठुला लगानीकर्तामध्ये धेरैले लिईसकेका थिए । सो कारण पनि यो निर्णयले खासै ठुलो असर नै गर्ने देखिएन । १५ करोडको सिमा बढेको भए ठुला लगानीकर्ताहरु ऋण थप्न पनि सक्थे । तर लिन पाइनेजति ऋण लिईसकेको अवस्थामा राष्ट्र बैंकले दिएको ‘सर्प्राइज’ले तात्विक असर गरेन । बजार बढ्ला र प्रफिट बुक गरौँला भनेर बसेका लगानीकर्ताले त सेयर बेच्ने नै भए ।
२ . आगामी बजेटबाट पूँजीगत लाभ कर बढ्ने सूचना चुहियो । अर्थमन्त्रीले पूँजीगत लाभकर बढाउँदैछन् भन्ने चर्चा चुलिएपछि ट्रेडरहरु सेयर बेच्न तिर लागे, नयाँले किन्न सकेनन् । जसकारण पोजेटिभ हुनुपर्ने माहोल झन् नेगेटिभ भयो । १५ गते नै बजेट सार्वजनिक हुने हुनाले यो रिस्क लिन लगानीकर्ताले चाहेनन् ।
३ . सेयर कारोबारमा तिरिने पूँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने विषयले अनावश्यक चर्चा पायो । कतिपयले आगामी बजेटमा यो अन्तिम कर नै होइन भन्ने किसिमको कुरा आउँदैछ भनेर फैलाएको हल्लालाई बजारले ‘रिस्क फ्याक्टर’का रुपमा हेर्यो ।
र अन्तत: बजार घट्यो ।