- अर्थ सरोकार संवाददाता
काठमाडौँ- हरेक दिनजसो विभिन्न पत्र-पत्रिकामा पढ्न पाइन्छ, ‘फलानो बैंक र फलानो बीमा कम्पनीबीच बैंकास्योरेन्स’ सम्झौता भयो । सबैजसो बीमा कम्पनीले कुनै न कुनै बैंकसँग यस्तो सम्झौता गरेको दावी गर्दै आएका छन् । कुनै बीमा कम्पनीसँग सम्झौता भएलगत्तै मिडियाहरुमा प्रेस रिलिज पठाउने गरेको छ बैंकले। यहिकाममा ‘को-भन्दा-को-कम’ शैलीमा लागेका छन् बीमा कम्पनीहरु पनि । संस्थागत एजेन्टका लागि कुनै एक बैंक र विमा कमपनीबीच सम्झौता भयो भने सञ्चारमाध्यमले पनि यसलाई ‘बैंकास्योरेन्स’ नै भनेर प्रचार गरिरहेका छन् । तर तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, अहिलेसम्म विभिन्न बैंकले विभिन्न बीमा कम्पनीसँग ‘बैंकास्योरेन्स’ गरेको भन्ने खबर शत प्रतिशत ‘झुटो’ हो । किनकि अहिलेसम्म नेपालमा यसका लागि कानुन नै बनेको छैन ।
झुटो हो बैंकास्योरेन्सको हल्ला ! त्यसो भए बैंक र बीमाबीच गरिएको सम्झौता के हो ?
बैंकहरुलाई बीमा समितिले संस्थागत एजेन्टको रुपमा काम गर्न मात्रै अनुमति दिएको छ । बैंकले गर्ने पनि त्यहि हो । बैंकमार्फत बीमा पोलिसी विक्री गर्ने सम्झौता गरिएको हो कुनै बीमा कम्पनीसँग । बैंक धेरै ठाउँमा पुग्न सक्ने हुनाले यस्तो सम्झौता हुने गरेको छ । तर यो कुनै पनि हालतमा ‘बैंकास्योरेन्स’ होइन । अहिले भइरहेको सम्झौता भनेको बैंकहरुले संस्थागत एजेन्टको लाइसेन्स लिएका हुन्छन् र विभिन्न बीमा कम्पनीहरुको पोलिसी बेच्ने कामको सम्झौता भएको हो । यस्तो सम्झौतापछि सम्झौता भएका बैंकले सम्झौता भएका बीमा कम्पनीहरुको पोलिसी आफ्ना ग्राहकहरुलाई बेच्ने गरेका छन् । यसले बैंक र बीमा कम्पनी दुबैलाई सजिलो हुने विश्वास दुवै पक्षले गर्छन् । तर यो ‘बैंकास्योरेन्स’ होइन । यी बैंकहरुले ‘बैंकास्योरेन्स’का लागि कुनै पनि इजाजत लिएका छैनन् । कतिले नबुझेर, कतिले नजानेर, कतिले कम ज्ञान भएर त कतिले बढी जान्ने भएर यस्तो सम्झौतालाई ‘बैंकास्योरेन्स’ भनिरहेका छन् ।
नेपालमा कानुन नै बनेको छैन ‘बैंकास्योरेन्स’को !
अझ खास कुरा त के छ भने नेपालमा हालसम्म बैंकास्योरेन्सको कुनै ऐन-नियमनै छैन । नेपालको प्रचलित कानुनको कुनै पनि बुँदाले नेपालमा ‘बैंकास्योरेन्स’को परिकल्पना गरेको छैन । तर कतिले नजानेर त कतिले बढी जान्ने भएर संस्थागत अभिकर्ता (एजेन्ट) को लाईसेन्स लिएकै आधारमा बीमा कम्पनीसँग गरिएको सम्झौतालाई बैंकास्योरेन्स भन्दै प्रचार गर्दै आएका छन् । बरु कुरा के चाहिं हो भने बीमा समितिले बैंकास्योरेन्स सम्बन्धी इजाजत दिनका लागि भर्खरै मात्र सो सम्बन्धी मस्यौदा तयार पारेको छ । यसको मतलव अहिले कानुनमा कुनै पनि व्यवस्था नभएको ‘बैंकास्योरेन्स’को परिकल्पना अव आउने कानुनहरुले गर्नेछन् । उक्त मस्यौदा पारित भएको खण्डमा बीमा समितिले बैंकहरुलाई बैंकास्योरेन्सको ईजाजत दिन सक्छ । तर अहिले बीमा समितिले नै इजाजत दिन मिल्नेगरी कानुन नभएको अवस्थामा बैंकहरुले भने हामीले ‘बैंकास्योरेन्स’ गर्यौं भनेर हौवा पिटाइरहेका छन् ।
के भन्छ बीमा समिति ?
बीमा समिति पनि हालसम्म कसैलाई पनि ‘बैंकास्योरेन्स’ इजाजत नदिइएको र ‘बैंकास्योरेन्स’को इजाजत दिने कानुन नै नबनेको बताउँछ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलका अनुसार बैंकसँग संस्थागत अभिकर्ताको सम्झौता गरेर त्यसलाई बैंकास्योरेन्स भनी प्रचार गर्न नमिल्ने वा त्यसलाई ‘बैंकास्योरेन्स’ भन्नै नमिल्ने दावी गर्छन् । ‘अहिलेसम्म नेपालमा ‘बैंकास्योरेन्स’को इजाजत कसैलाई पनि छैन । त्यससम्बन्धि कानुन पनि अझैसम्म प्रचलनमा छैन । नबुझेर सबैले ‘बैंकास्योरेन्स’ भनी प्रचार प्रसार गरिएको पाइएको छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘बैंकास्योरेन्स भनेको बैंकले नै आफ्ना ऋणी तथा सेवाग्राहीलाईमात्रै लक्षित गरेर ल्याईने छुट्टै सेवा हो । यो प्रचलन नै नेपालमा अहिले छैन । यसका लागि बैंकले छुट्टै लाइसेन्स नै लिनुपर्छ बीमाको नियामकसँग । हाल बैंक र बीमा कम्पनीबीच भएको सम्झौता इन्स्योरेन्स कम्पनीले बैंकलाई प्रदान गरेको संस्थागत एजेन्ट मात्र हो ।
त्यसो भए के हो ‘बैंकास्योरेन्स’ ?
छोटोमा भन्दा वा बुझ्दा ‘बैंकास्योरेन्स’ भनेको बैंकले नै आफ्ना ऋणी तथा सेवाग्राहीलाई मात्रै लक्षित गरेर ल्याईने छुट्टै सेवा हो । यो सेवा लिनका लागि बैंकले बीमाको नियामकसँग छुट्टै इजाजत लिनुपर्छ । अहिले कुनै संस्थागत बीमा एजेन्टको लाइसेन्स लिएर बैंकहरुले बीमा कम्पनीको पोलिसी बेच्ने गरेका छन् । ‘बैंकास्योरेन्स’ को लाइसेन्स लिएपछी आफ्ना ऋणी तथा सेवाग्राहीलाई मात्र लक्षित गरेर छुट्टै खालको सेवा दिन सकिन्छ । हाल विभिन्न बैंक र बीमा कम्पनीबीच भएको सम्झौता ‘बैंकास्योरेन्स’ होइन । किनकि सम्झौतामा इन्स्योरेन्स कम्पनीले प्रचलित नियम अनुसार बैंकलाई प्रदान गरेको संस्थागत एजेन्टका आधारमा ती बैंकहरुले बीमा पोलिसी बेच्ने हो । उदाहरणका लागि : राम बहादुर वा सीता कुमारी कुनै कम्पनीको बीमा एजेन्ट भएजस्तै बैंक संस्थागत एजेन्ट हुने हो । त्यसको कमिसन संस्थाले लिन्छ र संस्थाले बीमा पोलिसीहरु बेच्छ ।
संस्थागत एजेन्टको सम्झौतालाई नलेखौं ‘बैंकास्योरेन्स’
अझ अचम्मलाग्दो कुरा त के छ भने नेपालमा चलेका पत्रपत्रिका, बीमाकै बिटमा मात्र काम गर्ने अनलाइनहरुले सामान्य संस्थागत एजेन्टको सम्झौतालाई ‘बैंकास्योरेन्स’ भनी प्रचार गरिरहेका छन् । यसो त बीमा कम्पनीहरु आफैंले पनि यस्तो सम्झौतालाई ‘बैंकास्योरेन्स’ भनी विभिन्न मिडियामा रिलिज पठाईरहेका छन् । अझ अचम्मको कुरा त के छ भने केहि बीमा कम्पनीहरुले त हामी ‘बैंकास्योरेन्स’ गर्छौं भनेर समेत गलत प्रचार गरिरहेका छन् । अहिले ‘बैंकास्योरेन्स’ सम्बन्धि कानुन बन्ने प्रक्रियामा छ । यससम्बन्धि प्रस्तावित मस्यौदा पास भयो भने बल्ल विभिन्न बैंकहरुलाइ ‘बैंकास्योरेन्स’को इजाजत दिने बाटो खुल्छ । बीमा कम्पनी र यो बिटमा काम गर्ने पत्रकारहरुलाई पनि बीमा साक्षरता दिने बेला भएको कुरा समेत यसले प्रष्ट पारेको छ ।
हेर्नुहोस् झुटका दुइ उदाहरण !
अव मै हुँ भन्ने इन्स्योरेन्स कम्पनीले त यस्तो हौवा पिटाउँछन् भने अरुलाई के भन्ने ? यी उदाहरणका रुपमा मात्र प्रस्तुत गरिएका हुन् । नेपालका सबैजसो इन्स्योरेन्स कम्पनीले आफुले ‘बैंकास्योरेन्स’ गरेको दावी गरेका छन् । तर यी झुट बाहेक केहि पनि होइनन् ।
अव मै हुँ भन्ने इन्स्योरेन्स कम्पनीले त यस्तो हौवा पिटाउँछन् भने अरुलाई के भन्ने ? यी उदाहरणका रुपमा मात्र प्रस्तुत गरिएका हुन् । नेपालका सबैजसो इन्स्योरेन्स कम्पनीले आफुले ‘बैंकास्योरेन्स’ गरेको दावी गरेका छन् । तर यी झुट बाहेक केहि पनि होइनन् ।
सीइओहरुलाई नै थाहा छैन, के हो ‘बैंकास्योरेन्स’ !
यस विषयमा बुझ्न हामीले विभिन्न बीमा कम्पनीका प्रतिनिधि, सीइओहरुलाई फोन गरेका थियौं । कुरा कतिसम्म लाजमर्दो छ भने नेपालका बीमा कम्पनीका सीइओहरुलाई नै ‘बैंकास्योरेन्स’ बारे थाहा छैन । उनीहरुलाई नै थाहा नभएको कुरा उनीहरु मातहतका कर्मचारीलाई थाहा हुने सम्भावना कम नै रह्यो । उनीहरुले विभिन्न मिडियामा गलत प्रचार प्रसार गर्दा मिडियाकर्मीले पनि यस विषयमा बुझ्दै नबुझी समाचार प्रकाशन गरेको भन्ने आरोप पनि धेरैले लगाउन सक्छन् । हुन पनि हो । बुझाउने र बुझ्ने दुबैले बुझ्न नोखोज्नुको परिणाम हो यो । यस विषयमा सम्बन्धित सबैले ध्यान दिन जरुरी छ ।
(स्पष्टीकरण : यो तथ्य थाहा नपाउँदा कतिपय पटक एजेन्सी, बैंक र इन्स्योरेन्स कम्पनीले पठाएको प्रेस रिलिज जस्ताको त्यस्तै प्रकाशन गर्दा हामी पनि यो कुरामा चुकेका छौं । हामीले यो गल्तीलाई स्वीकारीसकेका छौं । अव सबैजनाले ख्याल गरौँ । – सम्पादक )