×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसलाई पत्याएन सेयर बजारले, देउवा सरकारका ६ महिनामा ८५ अकंले घट्यो बजार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कांग्रेसलाई पत्याएन सेयर बजारले, देउवा सरकारका ६ महिनामा ८५ अकंले घट्यो बजार !

१९ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं- प्रायः जसो कम्युनिस्ट नेतृत्वको सरकार बन्दा ओरालो र कांग्रेस नेतृत्वको सरकार बन्दा उकालो लाग्ने गरेको सेयर बजार यसपालि भने काँग्रेस नेतृत्वको सरकार बन्दा पनि ओरालो लागेको छ ।नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको करिब ६ महिने कार्यकालमा सेयर बजार मापक नेप्से ८५.४६ बिन्दुले ओर्लिएको छ। देउवा प्रधानमन्त्री भएको दिन गत जेठ २४ गते १६२३.१३ बिन्दुमा रहेको सेयर बजार गत बिहीबार १५३७.६७ मा आइपुगेको छ।
देउवा प्रधानमन्त्री भएयता निरन्तर ओरालो लागेको नेप्से एक महिनाकै अवधिमा ७८.८४ बिन्दुले ओर्लिन पुगेको थियो । गत असार २० गते नेप्से १५४४.२९ बिन्दुमा आइपुग्यो । त्यसपछि निरन्तर उकालो लागेको नेप्से साउनमा ७ गते देउवा नेतृत्व सरकार बनेपछि कै सबैभन्दा उच्च अंक १६६७.९२ बिन्दुमा पुगेको थियो। उनी प्रधानमन्त्री नियुक्ति भएको दिनभन्दा ४४.७९ बिन्दुले बढेको सेयर बजार त्यसपछि भने निरन्तर ओरालो लाग्न पुगेको थियो।
नेप्से गत बिहीबार १५३७.६७ बिन्दुमा आइपुगेको छ। सरकारले सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम नल्याएकाले पनि सेयर बजार घटेको स्टक ब्रोकरको भनाइ छ। अघिल्लो वर्षको साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से ओरालो लाग्दै साढे १५०० अंकभन्दा तल आइपुगेको छ। ‘काँग्रेस सरकारप्रति सेयर बजार सकारात्मक देखिएन,’ एक स्टक ब्रोकरले भने, ‘कांग्रेस नेतृत्वको सरकारले प्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने खालका कार्यक्रम नल्याए पनि सेयर बजार नयाँ सरकारप्रति विश्वस्त हुन सकेन।’
नयाँ सरकार आएलगत्तैका दिनमा नेप्सेमात्र होइन कारोबार रकममा समेत कमी आएको थियो । सरदर ५० लाखसम्म कारोबार हुँदै आएकोमा पछिल्ला दिनमा सेयर कारोबार दैनिक ७० करोडको हुन थालेको छ । ‘सेयर बजारले कम्युनिस्ट सरकारप्रति पहिलेदेखि नै नकारात्मक संकेत देखाउँदै आएको थियो,’ एक सेयर लगानीकर्ता नारायण खनालले भने, ‘पछिल्लो समय कांग्रेस नेतृत्वको सरकारलाई पनि बिश्वास गर्न छाडेका छन्।’
सेयर धितो राखेर लिएको कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको एक विश्लेषकले बताए । ‘सेयर धितो राखेर लिइने कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको हो,’ उनले भने, ‘अहिले सेयर बजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भएको भारी वृद्धिलाई मानिएको छ ।’ बैंकले लगानी गर्न आवश्यक रकम (तरलता) को कमी हुँदा ब्याज बढाएका थिए, अहिले सहज भएपछि पनि ब्याजदर नघटाएका कारण सेयर बजार ओरालो लाग्न पुगेको हो। ब्याजदर र सेयर बजार एक अर्कासँग सम्बन्धित हुने गरेको विश्लेषक बताउँछन् । ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ।
ब्याजदर बढेकाले सेयर बजारमा गिरावट आएको भनाइ कतिपयको छ । ब्याजदर कम हुँदा सेयरको भाउ बढेको थियो । ब्याजदर बढेसँगै सेयर मूल्यमा शिथिलता आएको हो। लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेकाले पनि सेयर मूल्य घटेको स्टक ब्रोकरको भनाइ छ । ‘हकप्रद सेयर भर्न सेयर बिक्री गर्ने प्रवृत्ति देखिएकाले पनि सेयर बजार घट्न पुगेको हो,’ उनले भने, ‘बैंकहरुले चुक्ता पुँजी पु¥याउन ठूलो रकमको हकप्रद सेयर जारी गर्ने क्रम नरोकिएको र त्यसका लागि सेयर बिक्री गरेर रकम जोहो गर्न थालेकाले पनि सेयर बजार घट्न पुगेको हो ।’
अघिल्लो आर्थिक वर्षमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी चारदेखि २५ गुणासम्म बढाउने नीति अनुसार केही बैंकहरुले चुक्ता पुँजी बढाइसकेका छन् । केहीले धमाधम बढाउँदै छन् । बैंकहरुले चुक्ता पुँजी आठ अर्ब पु¥याइसकेपछि अहिले जति लाभांश दिन नसक्ने भएकाले पनि यही मौकामा सेयर बिक्री गर्न थाल्दा सेयर बजार गिरावट आएको ब्रोकरको भनाइ छ ।
सेयर मूल्य बढ्नुको दोस्रो कारणको रुपमा अधिकांश कम्पनीले लाभांश घोषणा गरिसकेको र आगामी वर्षको लाभांश लिन अझै एक वर्ष कुर्नुपर्ने अवस्थालाई लिइएको छ । अर्को वर्ष लाभांश पाउन किन अहिले नै किन्नु प¥यो र ? भन्ने जस्ता कुरा लगानी गर्न थालेका छन्। यसले गर्दा पनि सेयर बजार घट्न पुगेको ती विश्लेषकले बताए।
अहिले बजार घट्नुलाई ब्रोकरहरु ‘करेक्सन’ भएको बताउँछन् । पछिल्लामा दिनमा बजार सामान्य अंकको सुधार आए पनि त्यसले लगानीकर्तालाई उत्साहित बनाउन सकेको देखिँदैन। बजारमा संस्थागत र ठूला लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा छन् । सेयर बजार ओरालो लागेपछि साना लगानीकर्ता अत्तालिएर बिक्री गर्न पुगेका छन् । बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको ब्रोकरको भनाइ छ।
बोनस वितरणसँगै हकप्रद र एफपिओ जारी हुने क्रमले सेयरको आपूर्ति बढाएको छ । यसले पनि पनि बजार घटाउनै मद्दत गरेको छ । सेयर बजारमा गिरावट आउनुको कारण पनि सिजनल सेयर खेलाडी बाहिर निस्कन थालेको संकेतको रुपमा लिन थालिएको केहीको भनाइ छ । उनीहरुले सेयर बिक्री गरेर घरजग्गा, सुन लगायत वस्तुमा लगानी बढाउन थालेपछि बजार करेक्सन हुन थालेको बताइन्छ । -नागरिक दैनिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी