×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेसी मोर्चा र भारतबीच तालमेल

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मधेसी मोर्चा र भारतबीच तालमेल

११ आश्विन २०७२, सोमबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट संविधान घोषणा भएपछि मधेसी मोर्चाको आन्दोलन र भारत सरकारको तालमेलमा नाकाबन्दी लगाइएको बताएका छन् ।

दाहालले पूर्वप्रधानमन्त्रीको हैसियतमा रहेका नेपाली नेताहरूलाई भारतीय प्रधानमन्त्रीका विशेष दूत बनेर आएका विदेशसचिव एस जयशंकरले अपमान गरेको पनि खुलासा गरे । एमाओवादी केन्द्रीय समितिको आइतबारको बैठकमा दाहालले करिब एक घन्टा लामो अभिव्यक्ति नेता डा. बाबुराम भट्टराईको राजीनामा, भारतले गरेको नाकाबन्दी र संविधान निर्माणप्रक्रियामा आफूले निर्वाह गरेको भूमिकामा खर्चिएका थिए ।

ुहामी पूर्वप्रधानमन्त्री भइसकेका नेताहरूलाई अपमान गरियो । अब हामी तिमीहरूका दास बन्न सक्दैनौं । हाम्रो संविधान हामी आफैं बनाउँछौं भारतीय अधिकारीलाई आफूले दिएको जबाफ उद्धृत गर्दै दाहालले केन्द्रीय समितिको पूर्ण बैठकमा भने । जयशंकरले आफूहरूले आश्रय नदिएको भए माओवादी अहिलेको हैसियतमा नआउने र अहिले आफूहरूले भनेको नमान्ने भनेर थर्काउन खोजेको खुलासा पनि दाहालले गरेका थिए । ‘मधेसी मोर्चाका नेताहरू र भारत सरकारबीच असाधारण र विचित्रको तालमेल देखिन्छ । जुलुस र ढुंगामुढा उतै (भारत) बाट हुने गर्छ ।

दुनियाँमा कतै पनि यस्तो घटना भएको पाइँदैनु, दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘बाबुरामजीले आकस्मिक रूपमा पार्टी छोड्नु पार्टीका लागि असाधारण घटना हुन गएको छ। यी हाम्रा लागि चुनौतीका परिघटना हुन् ।’ मधेसी नेताहरूले उठाएका सीमांकन र निर्वाचन क्षेत्रको मुद्दालाई समेट्न सकिने भए पनि उनीहरूको नियत नै सफा नरहेको दाहालले बताए ।

‘राज्यले जति लचकता अपनाए पनि केही मधेसी नेताहरूको वार्तामा आउने नियत नै देखिँदैन,’ दाहालले भने, ‘बाबुरामजीले सात दिन प्रक्रिया स्थगित गरौं भन्दा मैले भने सात दिन होइन, १० दिन प्रक्रिया स्थगित गर्न सकिन्छ तर सबै सभासद् संविधानसभा परिसरभित्रै रहनुपर्छ । मधेसी मोर्चाका नेता उपेन्द्र यादव, महन्थ ठाकुरलगायतलाई त्यहीं बोलाएर वार्ता गर्नुपर्छ भन्ने अडान लिएको हुँ । सभासद्हरू संविधानसभाबाट बाहिर जानेबित्तिकै संविधान जारी हुँदैन भनेको हुँ ।’

सीमा क्षेत्रमा भइरहेका गतिविधिका बारेमा आफूले सूचना लिइरहेको जानकारी पनि दाहालले गराएका थिए । दाहालले आफूहरू र भट्टराईमध्ये एउटा मात्रै सफल हुने पनि बताए । ‘बाबुरामजी सफल भए हामी असफल हुन्छौं, हामी सफल भए बाबुरामजी असफल हुनुहुन्छ । अब हामी बाबुरामजीलाई सरापेर बस्ने कि पार्टी संगठनलाई सशक्त बनाएर चुनौतीको सामना गर्ने ? फैसला गर्ने बेला आएको छु, दाहालले भने, ‘म राष्ट्रपतिसँग वार्ता गरिरहेका बेला बाबुरामजीले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ भन्ने सुनें । लाजिम्पाट आउँदा उहाँका एकजना दूतले चिठी ल्याएर दिएका रहेछन् । खोइ त बाबुराम भनेको, उहाँ आउनुभएको छैन भनियो ।
भट्टराईको राजीनामापत्र देखेर आफू आश्चर्यचकित भएको भन्दै दाहालले आकस्मिक र असाधारण कदम चालेर भट्टराईले गल्ती गरेको बताए । ‘उहाँलाई हामी गालीगलौज नगरौं’ दाहालले भने । बैठकमा उनले भट्टराईको राजीनामापत्र पढेर सुनाएका थिए । पत्रको अन्त्यमा भट्टराईले अहिलेसम्मको सहयोगका लागि दाहाललाई धन्यवाद पनि दिएका छन् ।

भट्टराईसँग नियमित सम्पर्कमा रहेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘‘बाबुरामजीलाई पार्टी चाहिन्छ, पार्टीलाई बाबुरामजी चाहिन्छ । उहाँ पार्टी र देशलाई चाहिने नेता हो । उहाँले राजीनामा दिएर गल्ती गर्नुभएको छ । उहाँलाई मैले आउनुस्, पार्टीलाई रूपान्तरण गर्न, पार्टीको पुनर्निर्माण गर्न साथै संघर्ष गरौं, सँगै लडौं भनेको छु ।’ आइतबार नै बसेको पार्टी स्थायी समितिको बैठकमा श्रेष्ठले संविधान निर्माण प्रक्रियामा मधेसी, थारू र जनजातिका मुद्दालाई पनि समेटेर लैजानुपर्नेमा भट्टराईले जोड दिएको स्मरण गराए ।

दाहालले १६ बुँदे सहमतिपछि बोलचाल बन्द गरेर बसेका नेकपा—माओवादीका अध्यक्ष मोहन वैद्यले शनिबार र महासचिव रामबहादुर थापाले आइतबार बिहान आफूलाई टेलिफोन गरेको जानकारी बैठकमा गराएका थिए । भट्टराईसँग पनि सोमबार र मंगलबार माओवादी आन्दोलनका नेताहरूको बैठक बसाउने समझदारी भएको दाहालले बताए । बैठकले भट्टराईलाई पार्टीमा फर्काउने वातावरण बनाउने प्रस्ताव पारित गरेको प्रवक्ता दीनानाथ शर्माले बताए । ‘उहाँले राजीनामा दिएर बेठीक गर्नुभएको छ । गल्तीकमजोरी स्वीकार गर्न लगाएर पार्टीमा ल्याउनुपर्छ’, शर्माले भने । नाकाबन्दी खोल्न भारतसँग उच्चस्तरीय तहमा सरकारले वार्ता गर्नुपर्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।

मधेसी, थारू र जनजातिसँग पनि उच्चस्तरीय तहमा वार्ता गरेर जायज माग सम्बोधन गर्नुपर्ने शर्माले बताए । शर्माका अनुसार बैठकले तराई मधेसको आन्दोलनमा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेको उपचार गरिदिनुपर्ने, आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने प्रस्ताव पनि पारित गरेको छ । एमाओवादी परित्याग गरेका भट्टराईका सहयोगी नेता टोपबहादुर रायमाझी र देवेन्द्र पौडेल आइतबार बिहान दाहालको निवास लाजिम्पाटमा भएको स्थायी समिति बैठकमा सहभागी भएका थिए भने अपराह्न पेरिसडाँडामा भएको केन्द्रीय समिति बैठकमा पनि भट्टराई पक्षका अधिकांश नेता सहभागी थिए । लाजिम्पाटमा स्थायी समितिको बैठक भइरहँदा भट्टराई पक्षका अधिकांश केन्द्रीय नेता उनको निवास सानेपामा थिए ।

त्यस क्रममा भट्टराईले एमाओवादी र अध्यक्ष दाहाललाई रूपान्तरण गराउनै नसक्ने ठहर गरी आफूले पार्टी परित्याग गरेको बताएका थिए । भट्टराई पक्षका नेताहरूले भारतले नाकाबन्दी लगाएको र संविधान जारी भएको बेला पार्टी परित्याग गर्नु गलत भएको बताएका थिए । ुतपाईंहरू जहाँ हुनुहुन्छ, त्यहीं रहनुस् । म तराई मधेस, पहाड र हिमालका जनताबीचको तिक्तता मेटाउने प्रयास गर्छुु, भट्टराईले भनेका थिए ।

‘बाबुरामजीले हामीलाई पार्टी परित्याग गर्ने कुरा जानकारी गराउनुभएन । गलत समयमा गलत निर्णय गर्नुभयो तर उहाँको खण्डनमण्डन नगरौं, स्थायी समिति बैठकमा रायमाझी र पौडेलले भनेका थिए । पौडेलले भने, बाबुरामको कदमको आलोचना गर्ने निर्णय गरियो तर बाबुरामका कारण पार्टी राम्रो बन्न नसकेको भन्नेहरूलाई पार्टी निर्माणका लागि मार्गप्रशस्त गरिदिनुभयो ।’

रायमाझीका अनुसार भट्टराईका कारण पार्टी रूपान्तरित हुन नसकेको ठान्नेहरूका लागि उनले चुनौती दिएका छन् । ‘पार्टी छोड्दा आफ्ना समर्थक लिएर हिँड्छन् तर बाबुरामजीले एक्लै निर्णय लिनुभयो, त्यो सही भएनु, पौडेलले भने, ‘गैरकम्युनिस्ट गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले झैं बाबुरामजीले पार्टी परित्याग गर्नुभएको छ ।’ आजको अन्नपूर्ण पोष्ट दैनकिमा समाचार छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: