×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुन मन्त्री कति धनी ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुन मन्त्री कति धनी ?

१७ आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: १४ मिनेटभन्दा कम

एकपटक कृष्णप्रसाद भट्टराईले नेपालका राजनीतिज्ञलाई व्यंग्य गर्दै भनेका थिए, ‘म विदेशी ह्विस्की खान प्रधानमन्त्री भएको ।’ भट्टराई आफू कहिल्यै सत्ता र शक्तिको दुरुपयोग गर्दै सम्पत्ति कमाउनतिर लागेनन्, बरु सत्ता र शक्तिको दुरुपयोग गर्नेलाई उनी बेलाबेला यस्तै व्यंग्य गरेर चसक्क बनाइरहन्थे ।

आज नेपाली राजनीतिमा लाभका पदमा जानेले कमाएर फर्कन्छन् भन्ने मान्यता जबर्जस्त रुपमा स्थापित भएको छ । एक–दुईपटक मन्त्री भएकाहरूले निकै खर्चिलो संसदीय चुनावमा धक फुकाएर खर्च गर्ने गरेको पाइन्छ । त्यसैले पनि सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको सम्पत्तिबारे आमजनताको चासो रहने गरेको छ । कामचलाउ मन्त्रिपरिषद्मा परिणत भइसकेको सुुशील कोइराला नेतृत्व सरकारका मन्त्री कति धनी छन् ? यस्तो छ, उनीहरूको सम्पत्ति विवरण :

प्रधानमन्त्रीको सम्पत्ति तीन मोबाइल सेट
बाँके नेपालगन्जका स्थायी बासिन्दा सुशील कोइरालाले प्रधानमन्त्री भएर पनि उल्लेख्य सम्पत्ति कमाएका छैनन् । उनको सम्पत्तिका नाममा जम्मा तीन मोबाइल सेट मात्रै रहेको छ ।

गृहमन्त्रीको घर छैन, छोरा र श्रीमतीको नाममा लगानी
बर्दियाबाट चुनाव जितेका गृहमन्त्री वामदेव गौतमको आफ्नै घर छैन । छोरा हरिशदेवको नाममा बालकुमारीको भेगास सिटीका दुई फ्ल्याट खरिद ५० लाख बैना दिए पनि प्रवद्र्धकले अझै उपलब्ध नगराएको बताइएको छ । छोराको नाममा बर्दियाको बाँसगढी र श्रीमती तुलसा गौतमको नाममा ललितपुरको छम्पीमा सात आना जग्गा रहेको छ । त्यस्तै, बुहारी तारा गौतमको नाममा पनि काठमाडौंको साङ्ला गाविसमा एक रोपनी जग्गा रहेको छ । गौतमको छोराले चितवनको भरतपुरमा पनि जग्गा किनेका छन् ।


गौतमसँग ३५ तोला सुन, सय तोला चाँदी र एक सेट हिराको हार रहेको छ । गृहमन्त्री गौतमको नाममा एभरेस्ट बैंकमा खाता भए पनि न्यूनतम रकममात्रै मौज्दात रहेको पाइएको छ । श्रीमती तुलसा गौतमले वाणिज्य बैंक सिंहदरबारमा आठ लाख ४८ हजार जम्मा गरेकी छिन् ।

गौतम आफूले कतै लगानी नगरे पनि श्रीमती तुलसाले क्षमता विकास तथा ऋण सहकारीमा एक लाख तथा ‘तुलसी ट्रेडर्स’मा १० लाख लगानी गरेको पाइएको छ । त्यस्तै, छोरा हरिशदेव गौतमको नामबाट एचपिएल ग्रुप इन्कर्पोरेट प्रालिमा ४१ लाख लगानी गरेको पाइएको छ । बुहारी तारा कुँवरले हेल्लो नेपाल टुर्स एन्ड ट्राभल्समा १५ लाख लगानी गरेकी छिन् ।

नबिल बैंक खिचापोखरीबाट गृहमन्त्री गौतमले लिएको एक करोड ऋणमध्ये ५० लाख तिर्न बाँकी रहेको उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । त्यस्तै, गौतमले ३९ लाख आफन्तलाइ सापटी दिएका छन् ।

बुहारी तारा गौतमको नाममा रहेको हुन्डाई गाडी किन्दा १५ लाख ऋण लागेको बताइएको छ ।

आपूर्तिमन्त्रीको पैसा विदेशी बैंकमा

धनकुटाको मुगा गाविसमा पुख्र्यौली थातथलो रहेका आपूर्तिमन्त्री सुनीलबहादुर थापाको काठमाडौं लगायत स्थानमा पनि प्रशस्तै चल–अचल सम्पत्ति रहेको पाइएको छ । मन्त्री थापाको नाममा कामनपा–५ मा एक रोपनी १० अना तथा सोही ठाउँमा अर्को सात आना जग्गा रहेको छ ।


मन्त्री थापाकी पत्नी संगीता थापाले कामनपा–४ मा एक करोड ५० लाखमा अपार्टमेन्ट खरिद गरेकी छिन् । उनको नाममा सोही ठाउँमा अर्का दुई अपार्टमेन्ट तथा दुई ठाउँमा जग्गा रहेको छ ।

सुनीलबहादुर थापाको नाममा मोरङमा तीन रोपनी १३ आना, सिद्धार्थ थापाको नाममा मोरङका दुई स्थानमा करिब पाँच रोपनी, तथा शिताष्मा थापाको नाममा चार रोपनी जग्गा रहेको मन्त्री थापाले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री थापाको परिवारसँग ५५ तोला सुन, तीन सय २५ तोला चाँदी लगायत करिब १५ लाख बराबरको गहना तथा नगद ६० लाख रहेको पाइएको छ ।

मन्त्री थापा र उनको श्रीमतीको नाममा खोलिएका करिब आधा दर्जन संयुक्त बैंक खातामा प्रशस्त नगद रहेको पाइएको छ । थापाको नाममा रहेको रहेको एभरेस्ट बैंकको खातामा २२ हजार नगद तथा हिमालयन बैंकमा अमेरिकी डलर ५० मात्र रहेको पाइएको छ । मन्त्री थापा र श्रीमती संगीताको संयुक्त खाता रहेको हिमालयन बैंकमा एक लाख ७४ हजार, एस डेभलपमेन्ट बैंकमा सात लाख ४२ हजार, एस डेभलपमेन्टकै अर्को खातामा एक करोड ५० लाख, युएनएफसियु न्युयोर्कमा पाँच लाख २५ हजार अमेरिकी डलर, नेपाल इन्भेस्टमेन्ट बैंकमा तीन लाख ८८ हजार नगद मौज्दात रहेको छ । त्यस्तै, हिमालयन बैंकमा रहेको संगीताको खातामा १५ लाख पाँच हजार मौज्दात रहेको पाइएको छ ।

मन्त्री थापाको नाममा हिमालय बैंकमा एक करोडको धितोपत्र, एस डेभलपमेन्ट बैंकमा एक करोड ५० लाखको धितोपत्र, महालक्ष्मी इन्भेस्टमेन्टमा प्रमोटर सेयर दुई करोड ४८ लाख रहेको छ । संगीता थापाको नाममा आभा इन्टरनेसनलमा २२ लाख ४८ हजारको सेयर, सिद्धार्थ थापाको नाममा हिमालयन बैंकमा १० हजार सेयर, शिताष्मा थापाको नाममा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एक लाख ६५ हजार सेयर लगानी रहेको थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणमा खुलाइएको छ ।

मन्त्री सुनीलको नाममा कुनै सवारी–साधन नभए पनि संगीता थापाको नाममा स्कोर्पियो जिप एउटा र भक्सवागन कार रहेको छ । त्यस्तै, उनका पिता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको नाममा रहेको भक्सवागन एउटा र ल्यान्ड क्रुजर जिप सुनीलले प्रयोग गर्दै आएका छन् ।

सिँचाइमन्त्रीको हिरा प्रेम, श्रीमतीको नाममा सेयर लगानी

कञ्चनपुरको भीमदत्त नगरपालिका स्थायी घर भएका सिञ्चाइमन्त्री एनपी साउद हिराप्रेमी रहेको पाइएको छ । मन्त्री साउदसँग ४४ तोला सुन, एक सय दुई तोला चाँदी र हिराको चुरा दुई थान रहेको छ । त्यस्तै, हिराको औंठी ६ वटा, एकथान हिराको लकेट, हिराको टप पाँच जोर र हिराकै मंगलसूत्र एक थान साउदको स्वामित्वमा रहेको छ ।


सिञ्चाइमन्त्रीको नाममा घर छैन । डडेल्धुराको बगरकोटमा रहेको तीन घर र एक भान्साघर स्वर्गीय खड्ग सिंह साउदको नाममा रहेको छ ।

मन्त्री साउदको नाममा डडेल्धुरा बगरकोट–४ मा करिब १८ रोपनी तथा कञ्चनपुरको भीमदत्त नगरपालिकामा १४ आना जग्गा रहेको पाइएको छ ।

मन्त्री पत्नी ज्योत्सना साउदको खातामा लुम्बिनी विकास बैंक नारायण चौरमा तीन लाख २० हजार तथा इन्भेस्टमेन्ट बैंकमा ५० हजार नगद मौज्दात रहेको छ ।

साउद आफैँले लगानी नगरे पनि केही वित्तीय संस्थामा उनको श्रीमतीको नाममा लगानी गरेको पाइएको छ । श्रीमती ज्योत्सनाको नाममा होटल र्याडीसन, एनएमबी बैंक, ग्लोबल बैंक र क्लिन इनर्जी बैंकमा सेयर लगानी रहेको छ ।

त्यस्तै, धापाखेलका भरत पाण्डेलाई ११ लाख ५० हजार ऋण दिएको उनले मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

मन्त्री भएपछि निलम केसीको बचत बढ्यो
महिला बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीको बचत बढेको छ । मन्त्री भइसेकपछि शुभलक्ष्मी बचत तथा ऋण सहकारीमा केसीले एक लाख ५० हजार थपेकी छिन् भने सोही बचतमा मन्त्रीपति सिपी मैनालीले पनि करिब दुई लाख ५० हजार थप रकम डिपोजिट गरेका छन् । त्यस्तै, मैनालीले प्रभु बैंकमा पनि एक लाख २५ हजार नगद थपेका छन् ।


मन्त्री केसीको नाममा कामनपा–७ मा एक रोपनी दुई आनामा फैलिएको घर तथा ललितपुरको लुभुमा जग्गा रहेको पाइएको छ । त्यस्तै, पति सिपी मैनालीको नाममा झापा अनारमुनीमा घरजग्गा, तथा सुरुङ्गा गाविसमा समेत जग्गा रहेको पाइएको छ ।

मन्त्री केसीले जुम्लाको चन्दननाथ गाविसमा जग्गा किन्न भनेर हरिनारायण आचार्यलाई चार लाख ३० हजार बैना दिए पनि पास हुन नसकेको बताइएको छ ।

महिलामन्त्रीको स्वामित्वमा १८ तोला सुन, एक सय ५० तोला चाँदी रहेको छ । त्यस्तै, उनको नाममा बैंक अफ काठमाडौंमा एक लाख ३० हजार, शुभलक्ष्मी बचत तथा ऋण सहकारी बत्तिसपुतलीमा तीन लाख जम्मा नगद रहेको छ । राष्ट्रिय वाणिज्य बैंक गौसालाबाट नौ लाख ऋण लिएको केसीले मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।


शुभलक्ष्मीमा रहेको सिपी मैनालीको खातामा ६ लाख तथा प्रभु बैंक बिर्तामोड शाखामा दुई लाख बचत रहेको पाइएको छ । मन्त्री केसी र सिपी मैनाली दुवैको नाममा शुभलक्ष्मी बचत तथा ऋण सहकारीमा एक–एक लाख सेयर लगानी रहेको छ । त्यस्तै, पाँचवर्षे योजनामा दम्पती दुवैको नाममा पाँच–पाँच लाख, छोरा सरोज मैनालीको नाममा योङ लिभिङ गल्र्स होस्टल प्रालि डिल्लीबजारमा ५० प्रतिशत सेयर लगानी रहेको पाइएको छ । मन्त्री केसीले विभिन्न स्थानमा गरी ३५ लाख ऋण लगानी गरेकी छिन् ।

निलमको नाममा एउटा म्याग्ना हुन्डाई गाडी रहेको छ भने छोरासँग मोटरसाइकल तथा बुहारी पुजा ढुंगानासँग स्कुटर रहेको पाइएको छ ।

जेठाबा र जेठीआमाको सम्पत्ति विमलेन्द्र निधिलाई

भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिलाई जेठा बुवा स्वर्गीय दिवशनारायण निधि र जेठी आमा गुञ्जेश्वरी देवी निधिको सम्पत्ति भोगचलन गर्ने अवसर जुरेको छ । जेठाबा र जेठीआमा निःसन्तान भएकाले निजहरूको घर–जग्गा आफैंले भोगचलन गरेको मन्त्री निधिले जानकारी दिए । धनुषाको नगराइनमा मन्त्री निधिको तथा उनको बाबुआमा, दाजुको स्वामित्वमा प्रशस्त जग्गा रहेको पाइएको छ ।
मन्त्रीपत्नी अनामिका उपासक निधिको नाममा भक्तपुर कटुन्जेमा चार ठाउँमा गरी कुल एक रोपनी १३ आना जग्गा रहेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।


विमलेन्द्र निधिसँग ६० तोला सुन, एक सय ५० तोला चाँदी र नगद १० लाख २२ हजार रहेको छ । श्रीमती अनामिका उपासक निधिको नाममा रहेको हिमालयन बैंकका दुईवटा खातामध्ये एउटामा १० लाख ६२ हजार र अर्कोमा १४ लाख मौज्दात रहेको बताइएको छ ।

मन्त्री निधि र श्रीमती अनामिकाले महेन्द्र नारायण निधि स्मृति क.अ मा एक–एक लाख सेयर लगानी गरेका छन् । अनामिकाले कृषि विकास बैंकमा पनि सेयर लगानी गरेको पाइएको छ ।
मन्त्री निधिको नाममा एउटा निसान कार छ भने उनले विभिन्न व्यक्तिबाट १२ लाख ५० हजार ऋण लिएको पाइएको छ ।

शहरी विकासमन्त्रीको घरमा अमेरिकी डलर

सहरी विकासमन्त्री डा. नारायण खड्काले आफ्नो घरमा भइपरी आउने खर्चका लागि नेपाली रुपैयाँदेखि अमेरिकी डलरसम्म राखेका छन् । मन्त्री खड्काको स्वामित्वमा बुढानिलकण्ठमा दुईवटा घर रहेका छन् । खड्कासँग १८ तोला सुन, ६ हजार अमेरिकी डलर तथा दुई लाख ७४ हजार नेपाली रुपैयाँ रहेको बताइएको छ ।
दुई घरबाहेक बुढानिलकण्ठमै खड्काको नाममा १४२५ वर्ग मिटर तथा उदयपुरको रामपुर गाविसमा पनि उनको नाममा जग्गा रहेको पाइएको छ । खड्काको नाममा रहेको एभरेस्ट बैंकमा एक लाख ७४ हजार नगद रहेको छ भने श्रीमती डा. इशाव खड्काको नाममा नबिल बैंकका दुई खातामध्ये एउटामा ६ हजार अमेरिकी डलर र अर्कोमा दुई लाख ७४ हजार नेपाली रुपैयाँ रहेको छ ।

मन्त्री खड्कासँग एउटा–एउटा टोयोटा कार रहेको मन्त्रिपरिषद्को कार्यालयमा उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

स्वास्थ्यमन्त्रीले ऋण घटाए

स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले मन्त्री भएपछि ऋण घटाउन सफल भएका छन् । अधिकारीले मन्त्री बनेपछि पारिजात बचत तथा ऋण सहकारीको तीन लाख ऋण तिरेको जानकारी दिएका छन् । त्यस्तै, सिद्धिविनायक बचत तथा ऋण सहकारीमा एक लाख ७४ हजार सेयर लगानी थप गर्न उनी सफल भएका छन् ।
मन्त्री अधिकारीको नाममा पोखरामा एउटा घर रहेको छ भने कामनपा–१६ मा रमा पाण्डेको नाममा घर रहेको छ । त्यस्तै, मन्त्री अधिकारीको नाममा लेखनाथ नगरपालिका–१० मा छुट्टाछुट्टै तीन ठाउँमा जग्गा तथा रमा पाण्डेका नाममा धादिङको छत्रेदेउरालीमा दुई रोपनी नौ आना जग्गा रहेको बताइएको छ । अधिकारीसँग नगद पाँच लाख र तीन तोला सुन रहेको छ भने श्रीमती पाण्डेसँग पेवा पाएको १८ तोला सुन रहेको छ ।


नेपाल बैंक लिमिटेडमा अधिकारीले करिब दुई लाख ५० हजार बचत गरेका छन् । त्यस्तै, पारिजात बचत तथा ऋण सहकारीमा एक लाख २९ हजार र नमुना बतच तथा ऋण सहकारीमा दुई लाख २८ हजार नगद मौज्दात रहेको पाइएको छ । श्रीमती पाण्डेको नाममा लालीगुराँस बचतमा पाँच लाख, एभरेस्ट बैंकमा आठ लाख, कृषि विकास बैंकमा एक लाख र नेपाल बैंक लिमिटेडमा ५० हजार मौज्दात रहेको पाइएको छ ।

स्नेहा अधिकारीको नाममा समृद्धि बचत तथा ऋण सहकारीमा एक लाख २१ हजार, नमुना बचत तथा ऋण सहकारीमा एक लाख सेयर लगानी गरिएको छ भने रमा पाण्डेको नाममा लालीगुराँस सहकारी र शिक्षक सहकारीमा १०–१० हजारको सेयर रहेको बताइएको छ ।

सञ्चारमन्त्रीको एपेक्स कलेजदेखि चैतन्य प्रोपर्टीजसम्म लगानी
विराटनगर उपमहानगर–४ गोग्राहा टोल पुख्र्यौली घर भएका सञ्चारमन्त्री मीनेन्द्र रिजालले कामनपा–४ मा श्रीमती दुर्गाको नाममा साढे १० आनामा फैलिएको घर बनाएका छन् । उनको मोरङस्थित दुलारी गाविस–२ मा आठ कट्ठा १२ धुर रहेको छ । पत्नी दुर्गा रिजालको नाममा विराटनगरमा चार कठ्ठा र भक्तपुरको मध्यपुर थिमीमा एक रोपनी १० आना जग्गा रहेको विवरण उनले मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् ।


मन्त्री रिजालसँग सय तोला सुन र चार तोला चाँदी रहेको छ । रिजालको नाममा रहेको एभरेस्ट बैंकको खातामा तीन लाख २४ हजार नगद, मञ्जुश्री फाइनान्समा नौ लाख ४८ हजार र नबिल बैंकमा ४८ हजार अमेरिकी डलर मौज्दात रहेको बताइएको छ । त्यस्तै, दुर्गा रिजालको नाममा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको खातामा दुई लाख ७४ हजार र मञ्जुश्री फाइनासन्समा २२ लाख ३३ हजार नगद मौज्दात रहेको छ । मन्त्री रिजाल र श्रीमती दुर्गाको नाममा एपेक्स कलेजमा पाँच लाख ३० हजार सेयर लगानी गरिएको छ । दुर्गा रिजालको नाममा सरिन भ्याली स्कुलमा सात लाख ५० हजार, मञ्जुश्री इन्भेस्टमेन्टमा ४४ लाख ७५ हजार सेयर लगानी गरिएको छ । त्यस्तै, क्लिन इनर्जी बैंक र युगदर्शन बचत, एभरेस्ट बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनबिआई बैंक, सानिमा बैंक र सेन्चुरी बैंकमा पनि मन्त्रीपत्नीकै नाममा लगानी गरिएको छ । चैतन्य प्रोपर्टिज प्रालिमा गरिएको १२ लाख सेयर लगानी समेत दुर्गाकै नाममा रहेको छ । मन्त्री रिजालको नाममा भने कृषि विकास बैंक र पोखरीमा बचतमा न्यून रकमको सेयर लगानी गरिएको छ ।

एपेक्स कलेजलाई अवधि नतोकी पाँच लाख ऋण दिएका मन्त्री रिजालको नाममा एउटा मारुती सुजुकी कार रहेको उनले मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणमा उल्लेख गरिएको छ ।

लालबाबुको चार आना जग्गा, बखरीटोलमा भुईंतले घर

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको विराटनगर उपमहानगर–१६ बखरी टोलमा भुईंतले घर छ । पाँच कोठा रहेको सो घरबाहेक श्रीमती विमलाको नाममा ललितपुरको सैँबुमा चार आना घडेरी रहेको छ । मन्त्री पण्डितको नाममा सर्लाहीको धनगढा–६ मा १२ कट्ठा धानखेत रहेको छ ।


लालबाबुसँग १० तोला सुन, १५ तोला चाँदी तथा ५० हजार नगर रहेको मन्त्रिपरिषद्को कार्यालयमा उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । मन्त्री पण्डितको नाममा एभरेस्ट बैंकको मुद्दती खातामा २४ लाख नगद मौज्दात रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको खातामा उल्लेख्य रकम छैन । श्रीमती विमला महतको नाममा रहेको एभरेस्ट बैंक र कृषि विकास बैंकमा गरी कुल २५ लाख नगद मौज्दात रहेको बताइएको छ ।

महेश बस्नेतको खातामा २५ हजार नगद

उद्योगमन्त्री महेश बस्नेतको नाममा कतै घरजग्गा भएको देखिएको छैन । भक्तपुर गुन्डु–४ मा रहेको घरजग्गा बाबु पूर्णबहादुर बस्नेतको नाममा रहेको छ ।


बाबु पूर्णबहादुर बस्नेतको नाममा गुन्डुका दुई घरबाहेक एक रोपनी २१ आना जग्गा रहेको छ । चितवनको पदमपुर र भक्तपुरको दधिकोटमा रहेको जग्गा पनि पूर्णबहादुरकै नाममा रहेको पाइएको छ ।
मन्त्री बस्नेतसँग ३० तोला सुन र ३५ तोला चाँदी रहेको उनले प्रधानमन्त्री कार्यालयलाई बुझाएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

मन्त्री बस्नेतको नाममा एनआइसी बैंकमा २५ हजार नगद मौज्दात रहेको पाइएको छ, भने उनले न्यु विके इन्टरप्राइज न्युरोडलाई ३० लाख रुपैयाँ सापटी दिएको खुलेको छ । उनको स्वामित्वमा एउटा मोटरसाइकल रहेको छ ।

नरहरि आचार्यसँग हिरो होन्डा मोटरसाइकल

संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यको गाडी छैन । आफूसँग सय सिसीको हिरो होन्डा मोटरसाइकल रहेको उनले आफ्नो विवरणमा उल्लेख गरेका छन् ।


कामनपा–४ मा एक रोपनी दुई आनामा फैलिएको दुईखण्डे घर बनाएका आचार्यको नाममा तनहुँको ब्यास नगरपालिकामा पनि घर रहेको छ । त्यसबाहेक कामपा–४ मा एक रोपनी ११ आना जग्गा, तनहुँको भानु गाविसमा पाँच रोपनी जग्गा र तनहुँकै छाङमा करिब १३ रोपनी जग्गा रहेको उनको नाममा रहेको पाइएको छ । मन्त्री आचार्यसँग आठ तोला सुन र एक किलो चाँदी रहेको छ । उनको नाममा रहेको दुर्गा भवानी सहकारीमा १२ हजार नगद रहेको छ भने ०७० मा खोलेको एभरेस्ट बैंकको खातामा सभासद्बापत आउने पारिश्रमिक बचत गर्ने गरेको बताइएको छ ।

खाता बचाउन ३६ हजार

पर्यटनमन्त्री कृपाशुर शेर्पाले राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा खाता बचाउन भन्दै ३६ हजार नगद जम्मा गरेको जानकारी दिएका छन् । उनको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा ११ हजार, एभरेस्ट बैंकमा ६७ हजार नगद मौज्दात रहेको छ । श्रीमती कमला शेर्पाको नाममा सञ्चय कोषमा ६ लाख ५० हजार र रावा बैंक सिंहदरबारमा ३५ हजार नगद रहेको तथा कमलाकै नाममा एसबिआई बैंकमा ७० हजार सेयर लगानी गरेको बताइएको छ । भोजपुर बोखिम–३ चित्रे पुख्र्यौली थातथलो भएका शेर्पाले श्रीमतीको नाममा मैजुवहालमा सात रोपनी ११ आनामा फैलिएको घर बनाएका छन् । कमलाकै नाममा भोजपुर नगरपालिकामा दुईवटा, झापामा एउटा तथा इलाममा एउटा घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । ५० तोला सुन तथा पाँच किलो चाँदी रहेको तथा पाँच भैंसी र एक हल गोरु मन्त्री शेर्पाको नाममा रहेको छ भने फुर्वा तेन्जिङ शेर्पाको नाममा एउटा गाडी रहेको पाइएको छ ।

परराष्ट्रमन्त्रीले तीन लाख ऋण तिरे

परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले मन्त्री भएपछि तीन लाख ऋण तिरेको जानकारी दिएका छन् । नुवाकोटे मन्त्री पाण्डेले कोटेश्वरमा १० आना जग्गामा फैलिएको घर बनाएका छन् ।


पाण्डेसँग १० तोला सुन, २० तोला चाँदी तथा तीन लाख नगद रहेको बताइएको छ । पाण्डेको नाममा रहेको नबिल बैंकको खातामा १० लाख, नेपाल बैंक लिमिटेडमा ६५ हजार र कृषि विकास बैंकमा ५० हजार नगद रहेको पाइएको छ ।

श्रीमती भीमकुमारी पाण्डेको नाममा नबिल बैंकमा ५० हजार नगद रहेको मौज्दात रहेको पाइएको छ । भीमकुमारीकै नाममा मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई लाख सेयर लगानीसमेत रहेको छ । मन्त्री पाण्डेले आफूसँग गाडी नभएको र दुई मोटरसाइकल मात्र रहेको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

मन्त्रीपत्नीको नाममा नौवटा बैंक खाता

वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरिबहादुर केसीकी श्रीमती विजया केसीको नाममा नौवटा बैंक खाता रहेको पाइएको छ । मन्त्रीपत्नीको नाममा बैंक अफ काठमाडौं ६ वटा खाताहरूमा क्रमशः २० लाख, १३ लाख, पाँच लाख, एक लाख, १६ हजार नेपाली रुपैयाँ र एउटा खातामा तीन हजार अमेरिकी डलर मौज्दात रहेको पाइएको छ । विजयाकै नाममा सांग्रिला डेभलपमेन्ट बैंकमा पाँच लाख ५० हजार, मेघा बैंकमा २० लाख ५० हजार तथा मेघाकै अर्को खातामा १५ लाख नगद मौज्दात रहेको पाइएको छ ।

प्युठान स्थायी घर भएका मन्त्रीपत्नीकोे नाममा काठमाडौंमा एउटा घर रहेको छ । त्यस्तै, राज्यमन्त्री केसीको नाममा भने प्युठान १६ मा दुई स्थानमा बारी र ६ रोपनी खेत रहेको छ ।

राज्यमन्त्री केसीसँग ८८ तोला सुन, एक सेट हिराको हार, तीन तोला चाँदी तथा नगद एक लाख ५० हजार रहेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । श्रीमती विजयासँग एक लाख २५ हजार नगद रहेको उल्लेख गरिएको छ । राज्यमन्त्री केसीको नाममा नाममा बैंक अफ काठमाडौंमा एक लाख ५१ हजार नगद मौज्दात रहेको छ । उनले बैंक अफ काठमाडौंमा १० लाख १७ हजार संस्थापक सेयर लगानी गरेको बताइएको छ ।
राज्यमन्त्री पत्नीको नाममा नेपाल स्वास्थ्य सेवा सहकारी संस्थामा एक लाख, इन्नोभेटिभ कलेज अफ हेल्थ साइन्समा दुई लाख ७० हजार, तीव्र बचत तथा ऋण सहकारीमा एक लाख, सम्पन्न लक्ष्मी सहकारीमा दुई हजार, स्वर्गद्वारी लाइफ केयरमा एक लाख ५० हजार, श्रद्धा इन्स्टिच्युट अफ हेल्थ साइन्समा १९ लाख ९९ हजार, स्तुपा स्वास्थ्य सेवामा २१ हजार तथा मेघा बैंकमा १६ हजार सेयर लागानी रहेको पाइएको छ । मन्त्रीपत्नीको नाममा एउटा हुन्डाई गाडी रहेको छ ।

मस्र्याङ्दी होटलको नाममा श्रममन्त्रीले ९५ लाख ऋण लिए

श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले ठमेलको मस्र्याङ्दी होटलको नाममा ९५ लाख ऋण लिएको पाइएको छ । श्रीमतीको नाममा मस्र्याङ्दीमा ३० लाख लगानी गरेका मन्त्री गुरुङले होटल मस्र्याङ्दीको नाममा नबिल बैंकबाट ऋण लिएका थिए ।


राज्यमन्त्री गुरुङ र श्रीमती सुनर घलेको नाममा काठमाडौंको सितापाइलामा १७ आनामा फैलिएको एउटा घर, सुनर घले सिनीको नाममा कामनपा–१७ मा बनेको एक रोपनी १४ आनामा फैलिएको अर्को घर तथा कामनपा–१६ मा बनेको आठ आनामा फैलिएको घर समेत गरी तीनवटा घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

गुरुङसँग ५० तोला सुन, तीन किलो चाँदी तथा १४ लाख नगद रहेको छ भने उनको नबिल बैंकमा रहेको खातामा दुई लाख ५० हजार नगद मौज्दात रहेको पाइएको छ ।
श्रमराज्यमन्त्री गुरुङले मनाङ ड्रिकिङ वाटरमा १० लाख सेयर लगानी गरेका छन् । उनकै नाममा साउथ इस्ट एसियन सिड प्रालिमा ५१ लाख सेयर लगानी रहेको पाइएको छ । गुरुङसँग दुईवा कार रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: