×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकारकाे पनि प्रमाणपत्र नक्कली ! एसएलसी नगरी सम्पादक, होला त कार्वाही ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पत्रकारकाे पनि प्रमाणपत्र नक्कली ! एसएलसी नगरी सम्पादक, होला त कार्वाही ?

८ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

झापा /डाक्टर र अन्य पेशामा आवद्धहरु त नक्कली भएको भेटिएको थियो तर पत्रकार पनि नक्कली छन् भन्दा झट्ट विश्वास नलाग्न सक्छ । तर, झापामा पत्रकार पनि नक्कली प्रमाणपत्रधारी भएको रहस्य खुलेको छ । भद्रपुरका पत्रकार माधव विद्रोही (भण्डारी) को शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको हो । झापाको भद्रपुरबाट प्रकाशन हुँदै आएको स्वाधीन सम्वाद साप्ताहिकका सम्पादक माधव विद्रोही (भण्डारी)ले प्रवेशिका परीक्षा उत्तीर्ण गरेको भारतीय नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर विभिन्न निकायमा पेश गरेको पाइएको हो ।
पत्रकार तथा सम्पादकको योग्यता पेश गर्नुपर्ने निकाय जिल्ला प्रशासन कार्यालय, सूचना विभाग, प्रेस काउन्सिल, पत्रकार महासंघमा उनले त्यही नक्क्ली शैक्षिक प्रमाण–पत्र पेश गरेका छन् । भद्रपुर माविमा १० कक्षासम्म पढेका उनले भारतबाट एसएलसी उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेश गरेका छन् । उनले १९९१ जनवरी १५मा विहार संस्कृत शिक्षा वोर्ड, पटनाबाट द्वितीय श्रेणीमा एसएलसी पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र लिएका हुन् ।
p3पत्रकार विद्रोही (भण्डारी)ले २०४० सालमा भद्रपुर माविबाट एसएलसी परीक्षा दिएका थिए । परीक्षामा अनुत्तीर्ण भएपछि उनले पुनः २०४१ सालमा एसलसी परीक्षा दिएका थिए । २०४१ सालमा परीक्षामा सहभागी भएका भण्डारीले गणित विषयमा १२ र व्यावसायिक तेस्रोमा १३ अंक मात्र प्राप्त गरी अनुत्तीर्ण भएका थिए । भण्डारीको सिम्वोल नम्वर ०७०८५६ एफ हो । भद्रपुर माविबाट पटक–पटक एसएलसी परीक्षामा सहभागी हुँदा पनि एसएलसी परीक्षा उत्तीर्ण हुन नसकेपछि उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाएका हुन् ।
भण्डारीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी त्रिभुवन विश्व विद्यालयलाई समेत गुमराहमा राखेका छन् । उनले विहार संस्कृत शिक्षा वोर्डको नक्कली सर्टिफिकेटलाई सक्कली भन्दै त्रिभुवन विश्व विद्यालयबाट इक्यूभ्यालेन्स समेत गराएका छन् । नेपाल पत्रकार महासंघको संशोधित विधान अनुसार प्रवेशिका परीक्षा उत्तीर्ण नगरेको व्यक्ति सदस्यता लिन अयोग्य ठहरिन्छन् । त्यस्तै सूचना विभागले प्रदान गर्ने पत्रकार प्रेस पास लिन र कुनै पनि पत्रिकाको सम्पादक हुन न्यूनतम् शैक्षिक योग्यता प्रवेशिका परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने कानूनी व्यवस्था छ ।
२०२२ साल जेठ १५ गते जन्मिएका भण्डारी भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र लिएर २०४८ सालमा कनकाई क्याम्पस सुरुङ्गामा उच्च शिक्षा अध्ययनका लागि भर्ना भएका थिए । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर कलेज अध्ययन गरेपनि उनले सो क्याम्पसबाट उत्तीर्ण गर्न नसकेको क्याम्पसको रेकर्डमा उल्लेख छ । भण्डारीले आइए प्रथम वर्षमा अंग्रेजी र नेपाली विषयको मात्रै परीक्षा दिएका छन् । जस अनुसार अंग्रेजी विषयमा ८ र नेपालीमा ३३ अंक प्राप्त गरेका छन् । त्यस्तै दोस्रो वर्षमा अंग्रेजी विषयको मात्रै परीक्षा दिएर १२ अंक प्राप्त गरेका छन् ।२०५६ सालमा पत्रकार महासंघको सदस्यता लिएका उनी २०६० सालमा नेपाल पत्रकार महासंघ झापाको अध्यक्ष बने । सूचना विभागबाट समेत प्रेस प्रतिनिधि प्रमाणपत्र लिए ।
उनले बिर्तामोडमा रहेको रेडियो भिजनको कागजात पेश गरेर छापाखाना र प्रकाशन सम्वन्धी नियमावली, २०४९ अनुसूची ११ नियम ९ को उपनियम ५सँग सम्वन्धित सूचना विभागले प्रदान गरेको प्रेस प्रतिनिधि प्रमाणपत्र लिएका छन् । भण्डारीले लिएको प्रेस प्रतिनिधि प्रमाणपत्रको नम्वर १९२२८ हो । उनले नक्कली प्रमाणपत्रको प्रतिलिपि पेश गरेर रेडियो नेपालमा समेत काम गरेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सुविधा उपभोग गर्नु कानूनतः दण्डनीय अपराध हो ।हरिचरण बानियाको नाममा दर्ता रहेको स्वाधीन सम्वाद साप्ताहिक जिल्ला प्रशासन कार्यालय झापाको पत्रपत्रिका दर्ता कितावमा २०५४ साल भदौ २को निर्णण अनुसार भण्डारीको नाममा स्वामित्व हस्तान्तरण गरिएको छ ।
स्वाधीन सम्वाद साप्ताहिक प्रेस काउन्सिल नेपालको वर्गीकरणमा परेको पत्रिका हो । यो स्थानीय स्तरमा वर्गीकृत पत्रिका हो । उनी सम्पादक रहेको पत्रिका वर्गीकृत भई वर्षौदेखि सरकारी सुविधा उपभोग गर्दै आएका छन् । उनको नक्कली शैक्षिक प्रमाणपत्रमा विहार संस्कृत शिक्षा वोर्ड, पटनाको पूर्णियाँ परीक्षा केन्द्रमा उनी महामाया संस्कृत उच्च विद्यालय ढंगरी (पूर्णिाया) विद्यालयका विद्यार्थी भएर परीक्षा दिएको उल्लेख छ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएपछि अरुले थाहा पाउने डरले भण्डारीले घर छेउमै रहेको मेची वहुमुखी क्याम्पसमा नपढी सुरुङ्गामा रहेको कनकाई क्याम्पसमा अध्ययनका लागि भर्ना भएका थिए ।
यता प्रेस काउन्सिल नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता वोर्णवहादुर कार्कीले नक्कली प्रमाणपत्र पेश गरेर सरकारी सेवा लिएको पाइए कानून बमोजिम कारवाही हुने बताए । उनले छानविनका क्रममा सम्पादकको प्रमाणपत्र नक्कली ठहरिए पत्रिकाको दर्ता खारेजी गर्दै सूचना विभागबाट लिएको सेवा समेत रद्द गरिने बताए ।
नक्कली कागजात देखाएर गरिने पेशा र व्यवसाय समेत अवैध हुने भई राज्यले प्रचलित कानून बमोजिम त्यस्तो पेशा तथा व्यवसाय गर्ने व्यक्तिलाई ठगी तथा भ्रष्टाचार ऐन अन्तर्गत सजाय गर्ने व्यवस्था छ ।
मुलुकी ऐन ठगीको महलको १ नं. मा आफूसँग नभएको कुरा आफूसँग छ भनी झुक्याई वा झुठो कुरालाई सद्दे हो भनी झुक्याई वा अरु जुनसुकै व्यहोरासँग धोका दिई गफलतमा पारी व्यवहार गरेमा ठगी गरेको ठहर्छ भनी ठगीको परिभाषा गरेको छ । यो परिभाषा विशेष गरी चल अचल धनमालमा हुने ठगीलाई लक्षित गरी बिधायिकाले बनाएको भए पनि यसले जुनसुकै कुरामा हुने ठगीलाई समेत आफ्नो दायरामा ल्याउने भन्दै राज्य पक्षले अभियोजन गरी मुद्दा चलाउँदै आएको छ । कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झुठो विवरण दिएमा वा सो सम्बन्धी झुठा प्रमाणपत्र पेश गरेमा भ्रष्टाचार गरेको मानिने व्यवस्था ऐनले गरेको छ ।
यस्तो कार्य गर्नेलाई कसुरको मात्रा अनुसार ६ महिनादेखि १ बर्ष सम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने सजायको व्यवस्था छ । ऐनको दफा ५१मा यस्तो अपराधको अनुसन्धान र तहकिकात सम्बन्धी काम करबाहीमा कसैले बाधा बिरोध गरेमा निजलाई ६ महिनासम्म कैद र पाँचहजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय गर्न सक्ने ब्यवस्था समेत गरिएको छ । पत्रकारितालाई राष्ट्रको चौथो अंग तथा वौद्धिक पेशा मानिन्छ ।
यता पत्रकार भण्डारीसँग यस विषयमा जिज्ञासा राख्दा आफूले जहाँपढे पनि कसैलाई सरोकार नभएको भन्दै सक्कली नक्कलीका विषयमा त्रिभुवन विश्व विद्यालयलाई सोध्न आग्रह गरेका छन् । उनले हामीसंगको  टेलिफोन सम्पर्कमा आफूले आफ्नो सर्टिफिकेट त्रिभुवन विश्व विद्यालयबाट इक्यूभ्यालेन्स गरिसकेको भन्दै आफ्नो बचाउ गरेका छन् । पूवेली न्यूज डटकममा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: