×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यस्तो बन्दैछ भव्य धरहरा !

काठमाडौँ – वि.सं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ । अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सोमबार यहाँ भएको कार्यक्रममा धरहराको प्राविधिक प्रस्तावलाई सार्वजनिक गरियो । तीन अर्बको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको सो प्रस्ताव अनुसार अब धरहरा क्षेत्रमा अहिले रहेको गोश्वारा हुलाक र टक्सार कार्यालय समेत गाभिनेछ ।
उक्त प्रस्ताव तयार पार्नुहुने वास्तुकार विष्णु पन्थीले पुरानो धरहराकै स्वरुपमा नयाँ धरहरा निर्माण गरिने बताए । भित्री भागमा केही व्यापारिक केन्द्र हुने भए पनि बाहिरी स्वरुप पुरानै धरहराको रहनेछ । पुरानो धरहराको अवशेषलाई नछोइकन त्यसैको अगाडिपट्टि नयाँ धरहरा बनाइने छ ।
नयाँ धरहरा क्षेत्रमा छिर्ने बित्तिकै बगैँचा देख्न सकिनेछ । बगैँचा वरिपरि बस्न मिल्ने र पानी परेका बेला ओत लाग्ने ठाउँ समेत राखिएको छ ।
नयाँ धरहरा क्षेत्रमा सुन्धारा समेत पर्ने भएकाले यसलाई पनि आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
सुन्धाराको धाराबाट पानी बग्नेछ र अहिले रहेकै ठाउँ पानीले भरिनेछ भने सुन्धाराको तीनतिरको छेउछेउ भ¥याङ राखी अवलोकनकर्तालाई फोटो खिच्ने ठाउँ छाडिनेछ । यसले त्यस क्षेत्रमा पर्यटकको आकर्षण अझ बढी रहने विश्वास गर्न सकिन्छ ।
धरहरा छिर्ने बाटो हुँदै अगाडि बढ्दा छेउमा ५० फिटको पानीको फोहरा पनि देख्न सकिन्छ, जसबाट २४ घन्टा पानी प्रवाह हुन्छ । द्वारबाट भित्र छिरेपछि ‘अन्डरग्राउन्ड’ मा इलेक्ट्रिक भ¥याङ् हुँदै तल झर्नुपर्ने हुन्छ । तल रहेको लिफ्टबाट सिधँै धरहराको टुप्पोमा पुग्न सकिन्छ ।
पहिलेकै स्वरुपमा तयार पारिएकाले अहिले निर्माण गर्न लागिएको धरहरामा पनि ११ तला रहेको छ । धरहराबाट ८० प्रतिशत ‘भ्यू’ देखिने ‘ग्लास’ समेत राखिनेछ । धरहरामा प्रकाशको राम्रो व्यवस्था गरिने भएकाले साँझ यहाँ झलमल्ल हुन्छ ।
धरहराको उत्तरपट्टि तीन तले अत्याधुनिक ‘अन्डरग्राउन्ड पार्किङ’ को निर्माण गरिने छ । एकसय ३४ वटा गाडी अट्ने उक्त पार्किङ् क्षेत्रमा छिर्ने र निस्कने बाटो समेत छुट्टै तयार पारिएको छ ।
धरहरा चढ्न ‘लिफ्ट’
वास्तुकार पन्थीका अनुसार नयाँ धरहरा अपाङ्गता भएकालाई समेत ध्यानमा राखेर निर्माण गरिएकाले कसैले पनि धरहरा चढ्न पाइँन भनेर गुनासो गर्नुपर्ने छैन । दुई वटा लिफ्टको व्यवस्था गरिएकाले १०र१० जनाले एकै पटक धरहरा चढ्न सक्नेछन् ।
धरहराभित्रै थियटर
पुरानो धरहराको इतिहास र अहिलेसम्मको अवस्थाबारे अवलोकनकर्तालाई जानकारी दिन नयाँ धरहराभित्रै ‘मिनी थियटर’ को व्यवस्था गरिने छ । उक्त मिनी थियटरमा भीमसेन थापा, महारानी त्रिपुरासुन्दरीले निर्माण गराएको धरहरा, धरहरा निर्माणको इतिहास, भत्किएपछिको अवस्थालगायतको १५ मिनेटको वृत्तचित्र समेत देखाइने छ । थियटरको २० जनासम्म अट्ने क्षमता छ ।
धरहरा क्षेत्रमा सङ्ग्रहालय
इतिहासलाई जीवन्त राख्ने र नयाँ पिँढीलाई यसबारे जानकारी दिने उद्देश्यले टक्सार कार्यालयमा रहेका पुराना मेसिन, मुद्रालाई सङ्ग्रहालय निर्माण गरी व्यवस्थित गरिनेछ ।
पचास वर्ग फिटको क्षेत्रमा निर्माण गरिने उक्त सङ्ग्रहालयमा नेपालमा मुद्रा बनाउन प्रयोग गरिएका विभिन्न मेसिन प्रदर्शनीमा राखिनेछ । धरहरामा छिर्ने बित्तिकै सङ्ग्रहालय नदेखिने भएकाले उक्त सङ्ग्रहालय हेर्न अवलोकनकर्ताले एकछिन भए पनि चारैतिर खोज्नैपर्ने छ ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले वि.सं १८८१ मा आफ्नो दरबार लगनटोलमा पहिलो पटक धरहरा बनाउन लगाएका थिए ।
यो धरहरा बनाएको अर्को वर्ष अर्थात् वि.सं १८८२ मा महारानी त्रिपुरासुन्दरीले अहिले धरहरा रहेको स्थानमा धरहरा बनाउन लगाइन् । वि.सं १८९० को भूकम्पले भीमसेन थापाले बनाएको धरहरा चर्किएको भए पनि रानीले बनाउन लगाएको धरहरामा भने केही भएको थिएन ।
वि.सं १९१२/१३ तिर धरहरामा बज्र परेर चर्किएपछि अहिलेको धरहराको पुनःनिर्माण गरिएको थियो । वि.सं १९९० सालको भूकम्पमा भने भीमसेन थापाले बनाउन लगाएको धरहरा पूर्णरुपमा भत्कियो भने सुन्धारास्थित धरहरा दुईदेखि चार तला मात्र बाँकी रह्यो ।
त्यसअघि धरहरा ११ तल्ले थियो । विसं १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेरले ११ तलालाई ९ तला बनाएर पुनःनिर्माण गराए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले नयाँ धरहरा आठ रेक्टर स्केलसम्मको भूकम्पले समेत नहल्लाउने गरी बनाइने बताए ।
‘मेरो धरहरा म आफैँ बनाउँछु’ भन्ने अभियानअन्तर्गत एक करोड ९५ लाख सङ्कलन भइसकेको जानकारी दिँदै मन्त्री पोखरेलले भने, ‘धरहरा निर्माणका लागि लाग्ने तीन अर्बमध्ये सर्वसाधारणबाट सङ्कलन भएर पनि नपुगे जति रकम नेपाल टेलिकमले बेहोर्ने छ ।’ उनका अनुसार निर्माणपछि धरहरा क्षेत्र पशुपतिपछिको सबैभन्दा आकर्षक पर्यटकीय ठाउँ बन्नेछ ।
  • काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: