प्रधानमन्त्री पुष्पकमल दाहाल राजकीय भ्रमण गरेर भारतबाट फर्केपछि उनले भारतमा केके गरे भन्ने लेखाजोखा भइरहेको छ । भारत जानुअघि आफूले कुनै विवादास्पद विषयमा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका दाहालले त्यस्तो लेनदेनका विषयमा त कुनै सम्झौता गरेनन् तर उनको भ्रमणमा देखिएको भद्रगोलले देशको इज्जत घटाएको टिप्पणी नजिकबाट नियालिरहेकाहरुले गरेका छन् ।
उदाहरणका लागि उनको भ्रमणमा केही यस्ता दृष्य देखिएः
१. नेपाल आएर भ्रमण सफल रहेको प्रचार गरिए पनि दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि प्रधानमन्त्री दाहालले आफ्नो टोलीका सदस्यहरुसँग कुराकानी सोचे जति राम्रो नभएको अनुभव सुनाएका थिए । स्रोत भन्छ, भ्रमण बाहिर भनिएजस्तो सफल होइन । मोदी र प्रचण्डबीचको भेटवार्तामा खास सहमति भएन भनिएको थियो । तर, नेपालमा आएर चाहिँ निकै सफलता प्राप्त भएझैँ प्रचार गरियो ।
२. प्रधानमन्त्री दाहालसँग भारतीय पक्ष त्यति खुसी रहेनछ भन्ने त्यहाँ देखिएका क्रियाकलापबाट बुझ्न सकिन्थ्यो । जस्तो, भारतले दाहाललाई समर्थन गरेको आफ्ना एजेन्डाका लागि थियो र ती एजेन्डा संविधान संशोधनबिना पूरा हुन सक्दैनन् । दाहालले भारत आउनुअघि कम्तीमा संविधान संशोधन प्रस्ताव दर्ता गराउँछु भन्ने बचन दिएका रहेछन् । त्यो पनि नभएपछि भारतीय पक्षले आफ्नो बेखुसी प्रकट गरेको थियो । भारतीय प्रधानमन्त्री मोदी स्वयम्ले आफ्ना सहयोगीसँगको प्रचण्डले जे गर्छु भनेर कमिटमेन्ट गरेका थिए, त्यो गर्न सकेनन् भनेको चर्चा नेपाली प्रतितिधिमण्डलसमक्ष नै आइपुगेको र्छु भनेका थिए काठमाडौंमा त्यो गरेनन् ।
३. प्रधानमन्त्री दाहाललाई सुशील कोइराला र केपी ओलीले गराउन नसकेको एउटा काम भारतबाट आफूले गराउँछु भन्ने परेको थियो । त्यो थियो, संविधानको स्वागत । तर, भारतले त्यस्तो गर्न नचाहेपछि संयुक्त प्रेस बक्तव्य निकाल्ने कि ननिकाल्ने भन्ने दोधार भएको थियो । नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुलाई वक्तव्य आउँदैन होला भनिएको थियो । तर, भ्रमण नै नसकी वक्तव्य आउँदा उनीहरुले छक्क परे । दिल्लीमा वक्तव्य निकालेर दाहालको टोली झाँक्री आयोजना हेर्न हिँडेको थियो ।
४. संयुक्त वक्तव्यमा भारतीय परियोजनामा अनुगमनका लागि नेपाल सरकार र नेपालस्थित भारतीय दूताबासको संलग्नतामा संयन्त्र निर्माण गर्ने उल्लेख छ, जुन अनुपयुक्त छ । दुबै देशका सरकारले भन्नुपर्नेमा नेपाल सरकार र भारतीय दूताबासलाई समकक्षमा राखिएको छ । यसो गर्नु हुँदैनथ्यो भनेर प्रधानमन्त्रीकै टोलीका सदस्यहरुले दिल्लीमै टिप्पणी गरेका थिए ।
५. संयुक्त पत्रकार सम्मेलनमा विगतमा केपी ओलीसँगको पत्रकार सम्मेलनमा जति पनि मोदी खुसी देखिँदैनथे । त्यहाँ उनले विगतमा झैँ संविधानको स्वागत नगरेर प्रक्रियाको स्वागत हो भनेपछि प्रधानमन्त्री दाहाल निराश देखिएका थिए ।
६. नेपाली दूताबासमा राजदूत नहुदा भद्रगोल थियो । कसैले कसैको आदेश मान्दैनथे । यसअघि कार्यबाहक राजदूत कृष्ण ढकाललाई कुर्सीले हान्ने उपसचिव हरि ओडारी त्यहीँ थिए, जोसँग कार्यबाहक राजदूत ढकालको कुरा मिल्ने कुरै भएन । निजी खर्चमा त्यहाँ पुगेका केही पत्रकार दूताबासमै बसेका थिए । दूताबास यतिसम्म अव्यवस्थित थियो कि त्यहाँ पानी चलाइदिने मानिस पनि थिएन । अझ दूताबासकी प्रथम सचिव सिर्जना अधिकारीले आफ्नै घरजस्तो व्यवहार गर्थिन् र दूताबासमा छिर्ने मानिसलाई राम्रो व्यवहार नै गर्दिनथिन् ।
७. दिल्ली पुगेर दूताबासमा बसेका पत्रकारले यस भ्रमणलाई आफ्ना परिवारलाई भोजभतेर खाने मेलो बनाएका थिए । दूताबासका गाडी बेलुका भएपछि आफ्ना परिवारलाई होटलमा ओसार्ने काममा प्रयोग गर्दथे ।
८. नेपाली प्रवासीहरुले दूताबासभित्र नै कार्यक्रम आयोजना गरेका थिए । रातो टिसर्टमा वाइसिएलजस्ता देखिने कार्यकर्ताले दूतावास नै घेरा हालेका थिए, जुन दृश्य राजकीय भ्रमणमा आएका प्रधानमन्त्रीका लागि सुहाउने खालको थिएन, त्यो पनि कुटनीतिक नियोगमा ।
९. प्रधानमन्त्री दाहाललाई भारतीय कांग्रेस, कम्युनिस्ट र साना समावादी दलका कार्यकर्ताले भेटे पनि सत्तारुढ भारतीय जनता पार्टीका कुनै नेताले भेटेनन् । गृहमन्त्री राजनाथ सिंह त कार्यक्रम अनुसार शिष्टाचार भेटमा नै थिए । अरु नआएको देख्दा सत्तारुढ दल नै यो भ्रमणमा सन्तुष्ट नभएको प्रस्ट हुन्थ्यो ।
१०. प्रतिनिधिमण्डलका केही सदस्य राष्ट्रपति भवन त कोही होटलमा बस्दा समन्वयमा निकै अप्ठेरो भएको थियो । पत्रकारले कसैले पनि समाचार पठाउन नेटको सुविधा पाएनन् । सबैले आफैले नै डाटा किनेर हाल्नुपर्यो ।
११. प्रधानमन्त्री पत्नी सीता दाहालको जताततैको उपस्थिति अत्यन्तै असहज थियो । उनलाई परराष्ट्रका कर्मचारीले सिकाउने प्रयत्न नै गरेनन् ।
१२. नेपाली पक्ष कतिसम्म भद्रगोल पारामा चलेको थियो भने दूतावासले छापेको कार्यक्रम पुस्तिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको नामै थिएन । मर्यादाक्रम पनि मिलाइएको थिएन ।
- पहिलो न्युज