काठमाडौँ – नेपालमा उच्चपदस्थ व्यक्तिहरू बिरामी पर्दा उपचारका लागि विदेश जानैपर्छ भन्ने नराम्रो परम्परा बसेको छ । कतिपय दुर्गम जिल्लाका सर्वसाधारणले सामान्य उपचारसमेत नपाएर अकालमा ज्यान गुमाइरहे पनि उच्चपदस्थ व्यक्तिहरु भने राज्यकोषलाई दुहेर विदेशमा गई महँगोमा उपचार गर्न लालायित रहन्छन् ।
जो व्यक्ति उपचारका लागि आफै पर्याप्त खर्च गर्न सक्छन्, किन उसले नै राज्यकोषबाट करोडाँै राशी उपचार खर्च लिन चाहन्छन् ? मुलुकका प्रमुख राजनीतिक दलका अधिकांश शीर्ष नेताहरुमा यस्तो मनोविज्ञान देखिने गरेको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि अमेरिका जाँदैछन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली केही दिनअघि उपचारकै लागि थाइल्यान्ड गएर फर्केका छन् । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि उपचारकै लागि सिंगापुर गएका थिए ।
पूर्वराष्ट्रपति यादव, ओली, देउवा त केही प्रतिनिधि उदाहरण मात्रैै हुन् । राजनीतिक दलका अधिकांश प्रभावशाली नेताहरु उपचारका लागि विदेश जाने गरेको घटनाले मुलुकको स्वास्थ्य सेवाप्रति उनीहरुलाई भरोसा नभएको स्पष्ट देखिन्छ ।
पूर्वराष्ट्रपति यादवको उपचार प्रसंग
पूर्वराष्ट्रपति डा. यादव यही असोज १ गते उपचारका लागि अमेरिका जाँदैछन् । उनलाई सरकारले उपचारका लागि तीन करोड रुपियाँ खर्च बेहोर्दै छ । उपचार खर्च मात्र होइन, यादवले दैनिक तीन सय अमेरिकी डलर भत्ता पनि पाउनेछन् । उनका तीनजना सहयोगीले दैनिक एक सय ५० अमेरिकी डलर भत्ता पाउनेछन् । उनी आफ्नो उपचार खर्च बेहोर्न असक्षम भएर राज्यले सहयोग गरेको भने होइन । आफू सक्षम हुँदाहुँदै पनि किन उनले राज्यको ढुकुटी दोहन गर्न खोज्दैछन् ? प्रश्न उठेको छ ।
यो पहिलो पटक होइन
पूर्वराष्ट्रपति डा. यादव पहिलो पटक यति धेरै सरकारी रकम खर्चेर विदेश जान लागेका होइनन् । ०७३ साउनमा पनि यादव उपचारका लागि भारतको चण्डिगढ गएका थिए । भारतमा उपचार गराउन जाने क्रममा सरकारले १० लाख रुपियाँ दिएको थियो । तीन वर्षअघि राष्ट्रपतिमा बहाल रहँदै ठूलो आन्द्रामा घाउ देखिएपछि उपचारका लागि उनी जापान गएका थिए । त्यतिबेला पनि सरकारले सबै खर्च बेहोरेको थियो । त्यतिबेला सरकारले उनलाई ६० लाख रुपियाँ पेस्की दिएको थियो । उपचार टोलीमा गएका उनका नातेदार, कर्मचारी र सुरक्षाकर्मीको भत्ता र भैपरी आउने अन्य खर्च सबै सरकारले व्यहोरेको थियो ।
के यादव आफै उपचार गर्न सक्दैनन् ?
त्यस्ता बिरामीलाई राज्यले सहयोग गर्नुपर्छ, जसले उपचारका लागि पैसा जोहो गर्न सक्दैनन् । जनकपुरका डा. यादव नाम चलेकै डाक्टर हुन् । आफैँ लामो समयसम्म चिकित्सा पेसामा रहेका यादवसँग राष्ट्रपति छँदा तलब–भत्ता र अन्य मसलन्दबाट जोगाएको पैसा पनि प्रशस्तै होला । यादवका एक छोरा डाक्टर र अर्का ईन्जिनियर छन् । डाक्टर छोरा चन्द्रमोहन भने अहिले सांसद समेत छन् । बुहारी पनि डाक्टर छिन् । उनी आफ्नै सम्पत्तिले राम्रोसँग उपचार गर्न सक्ने हैसियत राख्छन् । तर, किन आफै उपचारका लागि सक्षम हुँदाहुँदै हाम्रो जस्तो विपन्न मुलुकको राज्यकोषबाट करोडाँै राशी उपचार खर्च लिन चाहन्छन् डा. यादव ?
यादवमात्रै अपवाद हुन् ?
नेपालको दुर्गम जिल्लाहरुमा सामान्य औषधि नपाएर सामान्य रोगबाट आम मानिसको मृत्यु हुने गरेको छ । तर, उच्चपदस्थ व्यक्तिहरू भने नेपालमा नै उपचार हुने रोगको समेत उपचार नगराई राज्यकोष दोहन गरेर उपचार गर्न विदेश जाने गर्दछन् । यसरी उपचार खर्च लिने पूर्वराष्ट्रपति डा. यादव मात्रै होइनन् ।
पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि केही समयअघि बैंकक गएर फर्केका छन् । यद्यपि ओली निजी खर्चमा नियमित स्वास्थ्य जाँचका लागि थाईल्याण्ड गएको एमालेले जनाएको छ । ओली राज्यको खर्चमा उपचार गर्न विदेश गएको भनी प्रचार भएपछि एमालेले ओलीले राज्यकोषबाट एक पैसा पनि नलिएको दाबी गरेको थियो ।
यसअघि ०७१ असोजमा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उपचार खर्च र आतेजातेका लागि न्यूनतम एक करोड रुपियाँ राज्यकोषबाट उपचार खर्च लिएर अमेरिका गई उपचार गराएका थिए । कांग्रेसका तत्कालीन सभापति दिवंगत सुशील कोइरालाले पनि अमेरिकामा उपचारका लागि लाखौं रकम बुझेका थिए । तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेशमै सम्भव हुने घाँटीको हड्डीसम्बन्धी (सर्भाइकल स्पोन्डिलाइटिस) उपचारका लागि जापान गएका थिए । नेपालमा उपचार हुन नसक्ने भनी मेडिकल बोर्डले सिफारिस गरे मात्र प्रधानमन्त्री र मन्त्रीलगायत अन्य भिआइपीले वैदेशिक स्वास्थ्य सुविधा पाउँछन् । तर तत्कालीन मन्त्री श्रेष्ठ भने बोर्डको सिफारिस बिनै मन्त्रिपरिषद्बाट निर्णय गराएर दुई सहयोगीसहित उपचारका लागि जापान गएपछि उनी आलोचनाको घेरामा परेका थिए ।
- पहिलो न्युज