काठमाडौँ – माओवादीमा दुई नेता प्रचण्ड र बाबुराम भट्टराईबीचको सम्बन्ध कहिले अति निकट त कहिले अति तिक्त रह्यो । मिले भने पार्टी विधि र प्रक्रियाभन्दा माथि रहेर निर्णय गर्ने, नमिल्दा पार्टी संगठन नै हल न चल पार्ने गरी गतिविधि गर्ने । यो प्रवृत्तिलाई नेता पोष्टबहादुर बोगटीले दुई हात्ति बीचको लडाइ र मिलनका रुपमा अर्थाइदिए । र, केन्द्रीय समितिको बैठकमा संश्लेषण गरे, ‘दुई हात्ति मिलेपनि र लडेपनि बारी फाँडिने हो । त्यसैले नेता मिले भनेर दंग नपरुँ ।’ बोगटीसँग औपचारिक अध्ययनको कुनै प्रमाणपत्र तथा लब्धाङ्कपत्र थिएन । अनुभव र अनौपचारिक अध्ययनले संर्घषको भट्टीमा उनी खारिएका थिए । त्यसैले, उनी लेनिनकै शब्दमा ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्थे । जटिल कुरालाई पनि सामान्य शैलीमा बुझाउँने सामर्थ्य राख्दथे ।
माओवादी पार्टीको केन्द्रीकृत कमाण्ड प्रचण्डले सम्हाल्दै आएका छन् । प्रचण्डसँग नतमस्तक रहेर वा प्रचण्डसँग बार्गेनिङ गरेरै अधिकाँश नेताले आफ्नो दुनो सोझाएका छन् । प्रचण्डसँग सम्बन्ध बिग्रिएपछि पार्टी नै छाडेर जाने प्रवृत्ति छ । तर, बोगटी निरन्तर प्रचण्डका निकटवर्ती रहे । अचम्म, उनै बोगटी प्रचण्डका सामू प्रचण्डको आलोचना गर्ने सतिसाल थिए । बोगटी भन्थे, ‘नेतृत्वलाई बाह्य आक्रमणबाट जोगाउँनैपर्छ । संरक्षण गर्नैपर्छ । तर बिग्रनबाट जोगाउँन आन्तरिकरुपमा रचनात्मक दृष्टिले आलोचना गर्न सक्नुपर्छ ।’
माओवादी नेताहरुका बीचमा पानी बाराबारको स्थिति बन्थ्यो । एकले अर्कोसँग सम्बाद गर्नै नसक्ने वा नमान्ने परिस्थिति अनेक पटक सृजना भयो । तर, बोगटी अपवाद थिए जोसँग जहिले पनि जुनसुकै गुटका नेताको सहज संवाद हुन सक्थ्यो । उनी आफैँ पनि सबैसँग संवाद गर्न अघि बढ्थे । माओवादीका नेताहरुको व्यक्तित्व टकराउँदा मिलाइदिने माध्यम बन्थे बोगटी । रामबहादुर थापा, मातृका यादव, मणि थापासहितको एकीकरणका लागि बोगटी बिउँ रोपेका थिए । भलै, सो एकीकरण उनको आफ्नै आँखाले देख्न पाएन ।
माओवादी नेतृ सत्य पहाडी भन्छिन्, ‘दिवाकर (पार्टीको नाम) दाइ सबैभन्दा बढी सहजता भएको नेता हो । उहाँ नेता कार्यकर्तालाई गाली र माया दुबै गर्न सक्नुहुन्थ्यो । हामी आफ्नो समस्या उहाँसँग सहजै बुबासँग राखेझैँ भन्न सक्थ्यौँ ।’ बोगटीलाई देशैभरिका नेता कार्यकताले सहजै भेट्न सक्थे । आफ्नो कथाव्यथा भन्न सक्थे । अन्यायमा परेकालाई बोगटी साथ दिन्थे । चाकडी गर्न र अवसर खोज्न आएकालाई सम्झाएर पठाइदिन्थे । अर्थात उनी नेताकार्यकर्ताका लागि बह पोख्ने मनका विसौनी थिए । बोगटीसँग लामो संगत गरेका नुवाकोटका नेता विवेक शर्मा भन्छन्, ‘उहाँको निष्ठा अतुलनीय थियो । उहाँलाई सम्झनु भनेको निष्ठावान हुंन प्रण गर्नु हो । पद र पहुँचभन्दा इमान्दारिता र देशलाई ठूलो ठान्नु हो ।’
माओवादी युद्धका हाइकमाण्ड बोगटी आर्दश नेता थिए । नुवाकोटको तुप्चेमा २०१० सालमा जन्मिएका बोगटी साधरण लेखपढ र सामान्य जागिर हुँदै संर्घषबाटै माथिल्लो तहमा पुगेका थिए । एकमात्र छोरा रबिलाई युद्धमा गुमाएका बोगटी लाभका लागि तछाडमछाड नगर्ने स्वभावका थिए । जीबनसंगिनी राममाया बोगटी भन्छिन्, ‘उहाँले चाहेको भए युद्धमा रबिलाई सँगै राख्न सक्नुहुन्थ्यो । नेताको सुरक्षा घेराभित्र छोरालाई राख्न वहाँले चाहनुभएन । हाम्रालागि सबै कार्यकर्ता छोरा बराबर भन्नुहुन्थ्यो ।’ युद्धकालमा सबैजसो ठूला नेताले यात छोराछोरी आफैँसँग राखेका थिए वा नाम फेरेर सुरक्षितरुपमा पढाएका थिए । अपवादमध्येका थिए बोगटी जसका कारण अनेकथरी माओवादीका पनि साझा आर्दश नेता बन्न सके ।
बोगटी पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री भए । उर्जामन्त्री पनि भए । छोटो कार्यकालमा उनले लिएका नीतिगत निर्णय अहिले पनि मन्त्रालयका लागि काम देखाउने माध्यम बनेका छन् । ठूला बिमान किन्ने र वायुसेवा निगमको क्षमता अभिवृद्धि गर्ने कुरा होस् वा झोलामा खोला राखेर नदी ओगट्ने जलमाफियाको लाइसेन्स खोस्ने सन्दर्भ होस्, बोगटीले प्रक्रिया र विधि स्थापित गरे ।
पोष्टबहादुर चमकदार भाषण गर्न जान्दैनथे । नत शब्दजाल बुनेर अभिव्यक्ति दिन्थे । तरपनि उनका शब्दशब्द पार्टीमा सुनिन्थे । किनकी उनी जे बोल्थे, त्यही थिए । बोगटी समकालिन नेपाली राजनीतिमा सबैभन्दा सरल र इमान्दार नेता थिए भन्दा अतिसयोक्ति नहोला । पार्टीको महासचिव भएकै बखत बोगटी बिते । सक्रिय राजनीतिमा रहेका बोगटीको हृदयघात र ब्रेन ह्यामरेजका कारण २०७१ भदौ ३० गते निधन भयो ।
निष्ठा र समर्पणका प्राय बनेका पोष्टबहादुर बोगटीको निधनपछि बोगटी परिवार सोकमा छ । पछिल्लो समय बोगटीपत्नी सभासद् राममायासहित माओवादीका आठ सभासद्लाई ‘मानव तस्करी’ को गम्भीर आरोप लाग्यो । साधरण स्वभावकी राममायाको पनि नाम मुझिएपछि दुनियाँ छक्क परेको थियो । पतिको स्मृति दिवसको अघिल्लो दिन राममायाले सन्तोषको सास फेर्न पाइन् । उनी निरपराध रहेको पुष्टि भएको छ । त्यसलगत्तै उनले फेसबुकमा भावपूर्ण स्टाटस लेखिन्, ‘सत्य सधै जीवित रहन्छ । त्यसैले त सत्यको सधै जीत हुन्छ । यसबीचमा सांसद भएर सोझो हुन पाइन्न भनेर अर्ति उपदेश दिने आफ्नै भनिने केही कमरेडहरुलाई विशेष धन्यवाद । तपाईहरु जस्तो बठ्याई र चलाखि गर्नु छैन । मलाई मेरै सोझोपन, इमान्दारिता र कामप्रति विस्वास छ ।’
बोगटी बितेको दुई बर्षमा नेपालको राजनीतिमा धेरै परिवर्तन आइसकेको छ । संघीय संविधान बनेको छ । माओवादी सिंहासनमा आसिन छ । माओवादी एक हदसम्म एकीकृत भएको छ । तर, माओवादीको निष्ठा ओरालोलाग्दो छ । नेता कार्यकर्तालाई कुनै न कुनै नियुक्ति चाहिएको छ । छोराछोरीको सेटिङ धेरैका लागि सबैभन्दा प्रथामिक बिषय बनेको छ । भोको बाघ झैं अवसर झम्टनका लागि सबैजसो माओवादीजन नेताको घरदैलो र सिंहदरबारको वरिपरि घुमिरहेका छन् । यस्तो सन्दर्भमा आम माओवादी र राजनीतिकर्मीलाई निष्ठावान नेता बोगटीलाई सम्झने फुर्सद सायदै होला । उनलाई फूलमाला र अबिर अर्पण गर्नु त औपचारिक विधि न हो ।
- नेपाल आज