×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले नेताका छोरा भन्छन्– ‘राजनीति फेल हुनेले होइन, प्रथम हुनेले गर्नुपर्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमाले नेताका छोरा भन्छन्– ‘राजनीति फेल हुनेले होइन, प्रथम हुनेले गर्नुपर्छ’

Artha Sarokar

२९ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम


काठमाडौँ – नेताका छोराछोरीले सरकारी विद्यालय वा विश्वविद्यालयमा अध्ययन गर्ने कुरालाई अनौठो मानिन्छ । अझ, नेपालकै सरकारी विश्वविद्यालयमा अध्ययन गर्ने कुरालाई त झनै अपवाद मानिन्छ । सरकारी विश्वविद्यालयमा अध्ययन गरेर सक्रिय राजनीति गर्नु र पढाइमा समेत सर्वोत्कृष्ट हुने घटना त विरलै पाइन्छन् । त्यस्ता विरलै पात्रमध्ये एक हुन्, नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वमन्त्री युवराज ज्ञवालीका छोरा, विकास ज्ञवाली । त्रिचन्द्र कलेजबाट स्नातक तह पूरा गरेका ज्ञवालीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्दा उत्कृष्ट भई विद्याभूषण प्राप्त गरेका छन् ।
उनी राजनीतिमा पनि सक्रिय छन् । एमालेको भातृ संगठन युवा संघ नेपालको प्रशिक्षण विभागको सचिव समेत रहेका ज्ञवालीले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट विद्याभूषण प्राप्त गरे ।
राजनीतिक सक्रियतासँगै पढाइमा पनि अब्बल रहेका उनले डाक्टर, इन्जिनियर्स, पाइलट वा विदेशमा अध्ययन गर्नुपर्छ भन्ने प्रवृत्तिलाई गतिलो जवाफ दिएका छन् । उनी स्नातक र स्नातकोत्तरमा मात्र होइन, एसएलसीका पनि उत्कृष्ट विद्यार्थी हुन् । उनले विदेशबाट उच्च शिक्षा गर्छु भनेका भए पनि असम्भव थिएन । अझ सक्रिय राजनीति गर्दिनँ भनेका भए पनि उनलाई कुनै करकाप थिएन । तर, उनले रोजे– स्वदेशमै अध्ययन र सक्रिय राजनीति । अहिले उनी दुवैमा सफल भएका छन् ।
हल्काफुल्का राजनीति गर्ने, उट्पट्याङ् गफ लगाउने र नेताका वरिपरि घुमेर पद प्राप्ति गर्ने फोहोरी संस्कारमा डुब्नेहरुका लागि पनि उनी उदाहरण बनेका छन् । तिनै ज्ञवालीले पहिलो न्युजका कार्यकारी सम्पादक मोहन बास्तोलासँग राजनीतिज्ञको छोरा, सक्रिय राजनीति, अध्ययनमा उत्कृष्टता र आफ्नो अध्ययनबारे यसरी बेलिविस्तार लगाएः
विश्वविद्यालय छिरेसँगै सक्रिय राजनीतिमा
मैले विद्यालय तहको अध्ययन राजधानीबाटै पूरा गरेको हुँ । प्लस टुसम्मको अध्ययन पूरा गरेपछि मनोविज्ञानको अध्ययन गर्ने रुचिले ०६१ सालमा त्रिचन्द्र कलेजमा भर्ना भएँ । त्यतिबेला ज्ञानेन्द्र शाहको निरंकुशतन्त्रको अन्त्य गरेर नेपालमा लोकतन्त्रको स्थापनाका लागि अन्तिम लडाइँ चल्दै थियो । वैचारिक रुपमा दुई धार मानिने अनेरास्ववियु र नेविसंघ सामूहिक रुपमा लोकतन्त्रप्राप्ति र ज्ञानेन्द्रको प्रत्यक्ष शासनको विरुद्धमा लडिरहेका थिए । भूमिगत राजनीतिबाट भर्खर खुला भएको अखिल क्रान्तिकारीले पनि त्यो आन्दोलनमा सहयोग गरेको थियो ।
मलाई त्यतिबेला तात्तिएको राजनीतिक माहोल छोयो । लोकतन्त्रप्राप्तिको अभियानमा लाग्नुपर्छ भनेर म अनेरास्ववियुको सम्पर्कमा पुगेँ । स्नातक अध्ययनकै क्रममा अनेरास्ववियुको सिफ्ट कमिटीमा बसेर काम गर्न थालेँ ।

विस्तारै म अनेरास्ववियु त्रिचन्द्र कलेजको प्रारम्भिक कमिटी सदस्य हुँदै नेकपा (एमाले) दाङ–काठमाडौँ सम्पर्क मञ्चको सदस्य भएँ । अनेरास्ववियुको चितवनमा सम्पन्न सम्मेलनका बेला मैले काठमाडौँ विश्वविद्यालयको तर्फबाट प्रतिनिधित्व गरेको थिएँ । बीचमा केही समय म सामाजिक रुपान्तरणको आन्दोलनमा सक्रिय भएँ र फेरि युवा संघको राजनीतिमा प्रवेश गरेँ । अहिले म युवा संघको प्रशिक्षण विभागको सचिवका रुपमा कार्यरत छु ।

राजनीतिमा मेरो रुचि किन ?
पछिल्लो समय राजनीति विकृत भयो भन्नेहरु मात्रै छन् । तर, त्यो विकृत राजनीतिलाई कसरी सुधार गर्ने भन्नेतर्फ कसैले पनि ध्यान दिएको जस्तो लाग्दैन । मैले धेरै समय सोचेपछि राजनीति साँच्चै विकृत नै हो भने त्यसलाई सुधार गर्न त्यसै भित्र सक्रिय बन्नुपर्छ भन्ने लाग्यो र केही वर्षको अन्तरालपछि फेरि युवा संघबाट सक्रिय राजनीति सुरु गरेको हुँ । देश बाहिर गएर र आलोचना मात्र गरेर बिग्रिएको राजनीतिमा सुधार आउन सक्दैन भन्ने निष्कर्षसहित म राजनीतिको अभिन्न अङ्ग बनेको हुँ ।
समाज रुपान्तरण गर्ने र आफ्नो व्यक्तित्व विकास गर्ने माध्यम राजनीति नै हो भनेर मैले यो मेसो समातेको हुँ ।  धेरैले राजनीति बुझेका हुँदैनन् । कतिपय राजनीति बुझेकाहरुको राजनीतिसँग जोडिने माध्यम हुँदैन । मेरो राजनीतिसँग जोडिने माध्यम र राजनीति पनि बुझेको भएकाले राजनीतिलाई मैले अभिन्न अङ्ग बनाउन सहज बनेको हो ।
अध्ययन र राजनीति   
अहिले कतिपयले अध्ययन गर्नेले राजनीति र राजनीति गर्नेले अध्ययनलाई सफल बनाउन सक्दैनन् भन्ने तर्क गर्ने गरेका छन् । त्यो तर्कमा सत्यता छैन । राजनीति र अध्ययनको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ । समाजको विकास गर्ने हो, मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने हो भने त्यहाँ अध्ययन अनिवार्य मानिन्छ । अध्ययन बिनाको राजनीति गफ मात्रै हुन्छ ।
त्रिचन्द्रमा अध्ययन गर्दा नै मैले अध्ययन र राजनीतिलाई सँगै लैजाने अठोट गरेको थिएँ र म सफल पनि भएँ । लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको थियो– ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ । हरेक कुरामा लक्ष्य लिएर अघि बढ्यो भने सफलता प्राप्त गर्न कुनै मुस्किल पर्दैन । मेरो अध्ययनलाई राजनीतिले र राजनीतिलाई अध्ययनले बलियो बनाएको हो । मैले राजनीति नगरेको भए अध्ययनमा सफलता प्राप्त गर्न सक्ने थिइनँ । मैले स्नातक तहमै त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्कृष्ट भएर विद्याभूषण पदक प्राप्त गरेको थिएँ । त्यो सफलता प्राप्त गर्नुमा राजनीतिको पनि ठूलो योगदान छ ।
मैले बुझेको के हो भने राजनीति र अध्ययन दुवैलाई सँगै लैजाने हो भने समय व्यवस्थापन अत्यावश्यक हुन्छ । मैले स्नातकोत्तरमा मानवशास्त्र विषय लिएर अध्ययन गरेँ । स्नातकोत्तरमा पनि मैले सर्वोत्कृष्ट अंक प्राप्त गरेँ । त्यसैले म सबैलाई भन्न चाहन्छु, राजनीतिले अध्ययनलाई बिगार्छ भन्ने कुरा तर्कसम्मत छैनन् ।
विद्याभूषण प्राप्त गर्दा…
हरेक मानिसका आफ्नै स्वभाव हुन्छन् । कोही धनतिर आकर्षित हुन्छन्, कोही विद्यातिर आकर्षित हुन्छन् । कोही शक्तितिर त कोही रसरङतिर आकर्षित भएका हुन्छन् । मनोविज्ञानले पनि त्यही भन्छ । म शैक्षिक र राजनीतिक वातावरणमा हुर्किएँ । अध्ययन गर्दा मैले सर्वोत्कृष्ट विद्यार्थी बन्नुपर्छ भन्ने सधैँ सोचिरहेँ । राजनीतिमा पनि त्यही हो । मैले आफूलाई अध्ययनशील विद्यार्थीकै रुपमा परिचित गराउन चाहेँ । त्यही संघर्षले मलाई विद्याभूषण प्राप्त भयो ।
मैले राजनीति नगरेको भए म अहिले विदेशमा अध्ययन गर्थेँ हुँला वा घर–व्यवहार सम्हालेर बसेको पनि हुन सक्थेँ । मैले ती कुनै पनि बाटाहरु रोजिनँ । मैले अध्ययन र राजनीतिको बाटो समातेकाले नै यो सफलता प्राप्त गरेको हुँ ।
नेताका छोरा–छोरीले राजनीति गर्नुहुँदैन ?
ज्ञानको देश हुँदैन, ज्ञानको क्षेत्र हुँदैन । उत्कृष्ट ज्ञान प्राप्त गर्नका लागि मानिस विश्वका जुनसुकै देशमा पनि जान सक्छन् । तर, उत्कृष्ट ज्ञान प्राप्त गर्न विदेश नै जानुपर्छ, नेपालमा सम्भव छैन भन्ने तर्क भने सर्वथा गलत र भ्रामक छ । म त्यस्ता तर्कको विरोधी हुँ । गौतमबुद्ध नेपाल जन्मिएका हुन् । अहिले विश्वका धेरै देशमा सेवा गर्ने नेपाली पनि नेपालकै उत्पादन हुन् । देशको नेतृत्व गरेका नेता, डाक्टर, पाइलट र ईन्जिनियर पनि धेरै नेपालका उत्पादन छन् । त्यसैले अध्ययन कहाँ गरेको ? होइन सेवा नेपालमा छ कि छैन ? त्यो हेर्नुपर्छ । ज्ञान विश्वको लिऊँ, सेवा नेपालमा गरौँ ।
नेताका छोरो–छोरीले विदेशमा अध्ययन नै गर्नुहुँदैन भन्ने तर्क त म गर्दिनँ । तर, पदको दुरुपयोग गरेर नेताले आफ्ना छोराछोरीलाई विदेश अध्ययनको अवसर दिलाउँछन् भने त्यो गलत हो । देशको नेता बन्ने हुँ भनेर हिँडेकाहरुले परिवारको मोहमा फस्नु हुँदैन । मलाई पनि नेताको छोरा भन्छन् । म नेताका छोरा होइन । मेरो बुबा देशको नेता हो । म नेताको छोरा भएँ भने उहाँले मलाई मात्र हेर्न सक्नुहुन्छ । त्यसैले उहाँ देशको नेता हो । उहाँ मेरो बुबा मात्र नबन्नुहोस् । मेरो आग्रह छ । म बुबाको पदको दुरुपयोग गरेर छात्रवृत्तिमा विदेशमा अध्ययन गर्ने पक्षमा छैन ।
राजनीतिबाट नभागौं
नेपालको राजनीति बिग्रिएको छ । बिग्रिएका व्यक्तिले मात्र राजनीति गर्नुपर्छ भन्ने मान्यताले राजनीति बिग्रिएको हो । यो दुश्चक्रबाट राजनीतिलाई मुक्त गर्न हामी जस्ता युवाले राजनीतिबाट भाग्ने होइन, राजनीति गर्नुपर्छ ।
मेरो बुबा

मेरो बुबाले राजनीतिलाई शक्तिको साधन बनाएको जस्तो मलाई लाग्दैन । उहाँले राजनीतिलाई साधना मान्नुभएको छ । कतिपय परिवारका इच्छा–आकांक्षालाई पनि थाँती राखेर हामीले पनि उहाँलाई राजनीति गर्ने वातावरण प्रदान गरेका छौँ ।  उहाँ परिवारप्रति त जिम्मेवार हुनुहुन्छ नै त्योसँगै राजनीति र देशप्रति पनि त्यत्तिकै जिम्मेवार बन्नुपर्छ भन्ने हाम्रो पनि सुझाव छ । उहाँले त्यसै गर्नुभएको छ । उहाँ राजनीतिमा आउनुअघि शिक्षक हुनुहुन्थ्यो । अहिले सबै त्याग गरेर राजनीतिमा लाग्नुभएको छ । उहाँको निष्ठाको राजनीतिले मलाई र परिवारलाई प्रेरणा मिलेको छ ।
  • पहिलो न्युज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी