
काठमाडौं – बिपी कोइरालाले स्थापना गरेको विरासतको राजनीतिमा नेपाली कांग्रेस अहिले विलीन भएको जस्तो देखिन्छ । महामन्त्रीमा बिपी पुत्र शशांक कोइराला निर्वाचित भए पनि सुशील कोइरालाको निधनपछि कोइराला विरासतबाट कांग्रेस उम्किएपछि कोइरालावादी निकै चिन्तित् छन् । त्यहीमाथि कोइराला परिवारका सुजाता, शशांक र शेखरको तालमेल नहुँदा विरासतको राजनीति चिप्लिन्छ कि भन्ने पीर अर्कातिर छ ।
अहिले कोइरालानिकट कांग्रेसी सुजाता कोइरालालाई कोइरालाको मुखौटा बन्न आग्रह गरिरहेका छन् । उनीहरूले नेपाल महिला संघको अध्यक्ष बन्न सुजातालाई दबाब र सुझाव दिएका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको हालको केन्द्रीय कार्य समितिका कोही पनि उम्मेदवार बन्न नपाउने भएपछि महिला संघ अध्यक्षमा उनलाई उम्मेदवार बन्न दबाब आएको हो ।
आफू निकटका लागि आइतबार अनुपम पार्टी प्यालेसमा आयोजना गरिएको चियापान कार्यक्रममा भेला भएक कांग्रेसका नेताहरूले नेत्री सुजातालाई कोइराला परिवारका तीन सदस्यहरू महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइरालासँगै मिलेर अघि बढे आगामी महाधिवेशनमा पार्टी नेतृत्वको तयार गर्न मेत सुझाव दिएका छन् ।
स्रोतका अनुसार पार्टी नेतृत्वको लागि तयारी गर्दै गर्दा उनीहरूले महिला संघलाई पनि कुशल नेतृत्वको खाँचो रहेको बताएका थिए । केन्द्रीय सदस्यहरू बलबहादुर केसी, गुरुराज घिमिरे, कल्याण गुरुङ, नेविसंघ पूर्वअध्यक्ष केशव सिंह, महेन्द्र शर्मा, रञ्जित कर्णका साथै महासमिति र महाधिवेशन प्रतिनिधि तीन दर्जन बढीको सहभागिता थियो ।
पछिल्लो समयमा गिरिजापुत्री सुजातालाई एमाले संसदीय दलका नेतासमेत रहेका केपी शर्मा ओलीको बोलीमा लोली मिलाइरहेको भन्ने आरोप पनि छ । भारतीय सरकार र भारतसँगको मित्रतापूर्ण वा कूटनीतिक सम्बन्धका विषयमा समेत नकारात्मक टिप्पणी गर्ने र चिनियाँ कूटनीतिज्ञसँग बाक्लो भेटघाटमा व्यस्त भएकी सुजाता यतिबेला पार्टीभित्र आफू तेस्रो धारको नेतृत्व लिन तयार भएको भन्दै आइरहेकी छन् ।
नेतृ सुजातालाई तेस्रो धारको नेतृत्व त पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लिन खोजिरहेकाले उनीसँग पनि सहमति गर्न सुझाएका थिए । जवाफमा सुजाताले आफूलाई सिटौलाले समर्थन गरे सर्वसम्मत रूपमा महिला संघको अध्यक्ष हुने तर निर्वाचन लडेर भने नेतृत्व लिन नचाहने बताएकी थिइन् ।
रामचन्द्र पौडेलले आफूलाई मन्त्री नबनाएपछि नेविसंघका पूर्वअध्यक्षसमेत रहेका केसी पौडेलसँग क्रुद्ध बनेकी छन्, सुजाता । त्यस्तै, अन्तिम समयमा आएर मन्त्रीबाट नाम काटिएपछि आनन्दप्रसाद ढुंगाना र केसी भने पौडेलसँग रुष्ट बनेका थिए । नेविसंघको महाधिवेशनमा प्रतिनिधिको भागबन्डालाई लिएर अनावश्यक बखेडा झिकेपछि डा. शेखर कोइराला पौडेलसँग बिच्किएका मात्र होइन, विरोध नै गरेका थिए ।
कोइराला परिवारकै विश्वास पात्र भनेर चिनिएका दिलबहादुर घर्ती पनि मन्त्री नबनाइएपछि पौडेलसँग चिडिएका छन् । नेविसंघ भागबन्डामा चिडिएका रोमी गौचन थकालीलाई भने पौडेलले मन्त्री पद दिएर थुमथुम्याउने प्रयास गरेका छन् । नेविसंघ महाधिवेशनमा प्रकाशमान सिंहको पूरै सल्लाहमा चलेका पौडेलले मन्त्रिपरिषद्मा आफ्नो तर्फबाट नाम पठाउँदा सिंहको कसैलाई पनि नपारेपछि सिंह पनि पौडेलसँग असन्तुष्ट बनेका छन् ।
- जनप्रहार साप्ताहिक
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्