
काठमाडौँ – कांग्रेसको १३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सम्बन्धमा तिक्तता मात्रै छैन, पानी बाराबार छ । महाधिवेशनयता दुई नेताबीच औपचारिक बोलचालसमेत हुन सकेको छैन ।
पौडेलले केही दिनअघि पत्रकार हरिहर विरहीको पुस्तक विमोचनमा सिटौलाप्रति लक्षित गर्दै ‘बागी’ लाई समाप्त पार्नुपर्ने धारणा राखेपछि सिटौला झनै चिढिएका छन् । कार्यक्रममा पौडेलले परम्परागत गुट अन्त्य गरी ‘बागी’ ले खेल्न नपाउने गरी अघि बढ्न सभापति देउवासँग आग्रह गरेका थिए । पार्टी्भित्र अरूका सोच हावी गराउने पात्रका रूपमा सिटौलालाई चित्रित गर्दै उनले भनेका थिए, ‘हामी दुई पक्ष समझदारी गरेर अघि बढे बागीहरू समाप्त हुन्छन् ।’
कार्यक्रममा सँगै रहेका सिटौलाले भने आफूप्रति लक्षित पौडेल बाणलाई हाँसेरै टारे, अर्थात् तत्काल कुनै प्रतिक्रियात्मक जवाफ दिएनन् । अन्तर्मनको आक्रोश भने उनले आफ्ना निकटवर्तीसँग पोख्ने गरेका छन् । यी दुई नेताबीचको सम्बन्ध कतिसम्म चिसिएको छ भन्ने बुझ्न शुक्रबारको चियापान काफी छ । पौडेलले विजयादशमीको उपलक्ष्यमा सञ्चारकर्मीका लागि भन्दै चियापान आयोजना गरे । लगत्तै सिटौलाले त्यसै दिन एउटै समय पारेर मिडियाका प्रमुखहरूका लागि भन्दै छुट्टै चियापान गरे ।
‘पौडेलले चियापान गरेपछि पुरानो संस्थापनभित्र आफ्नो पनि छुट्टै अस्तित्व देखाउन सिटौलाले पनि आयोजना गरेका हुन्,’ यी दुई नेताबीचको केमेस्ट्री बुझेका एक कांग्रेस नेताले भने, ‘अहिले यी दुवै नेता एकअर्काको अस्तित्व समाप्त पार्ने रणनीतिमा उत्रिएका छन् ।’
१३ औं महाधिवेशनमा आफूलाई हराउनकै लागि सिटौलाले सभापतिमा उम्मेदवारी दिएको ठम्याइमा पौडेल पुगेका छन् । त्यही आक्रोश पोख्दै पौडेल सिटौलाप्रति अनुदार देखिएका हुन् । उनले सिटौलालाई कहिले ‘बागी’ त कहिले ‘धोकेबाज’ भन्दै सार्वजनिक रूपमै प्रहार गर्दै आएका छन् ।
पार्टीका भ्रातृसंस्था नेविसंघ र महिला संघको महाधिवेशनमा दुवै पक्षका केही नेता र कार्यकर्ताले पुरानो संस्थापनलाई एक बनाउने प्रयास पनि गरे । पौडेल र सिटौलालाई मिलाउन केही नेता तथा कार्यकर्ता जुटे पनि । तर, पौडेल सिटौलासँग कुनै पनि हालतमा ‘घुँडा नटेक्ने’ निचोडमा पुगेपछि सम्बन्ध निकट हुन सकेन ।
सिटौला पार्टी सभापति शेरबहादुर देउवासँग सम्झौता गर्दै आफ्नो समूह आकार बढाउने रणनीतिमा लागे । त्यही रणनीतिअन्तर्गत नेविसंघ र महिला संघमा पौडेल समूहको भन्दा बढी हिस्सा सिटौलाले लिन सके ।
१३ औं महाधिवेशनअघि पनि पौडेल र सिटौलाबीचको सम्बन्ध त्यति न्यानो थिएन । दुवै नेताबीच सम्बन्ध चिसो भए पनि औपचारिक हार्दिकता थियो । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको छत्रछायाबाटै सिटौलाले राजनीतिक उचाइ प्राप्त गरेका हुन् । गिरिजाप्रसादसँग उनको सीधै सम्बन्ध र सम्पर्क थियो । गिरिजाप्रसादको निधनपछि सुशीलसँग पनि त्यस्तै सम्बन्ध स्थापित भयो ।
कोइरालाहरूको सहयोगीका रूपमा काम गरेकै कारण पौडेलले सिटौलालाई कहिल्यै निकट राख्न चाहेनन् । सुशीलको निधनपछि पौडेल कार्यवाहक सभापति भए । आफूलाई किनारामा धकेलेर उम्मेदवार छनोट गर्न लागिएको भन्दै सिटौला चिढिए । ‘त्यसैको प्रतिक्रिया नै १३ औं महाधिवेशनमा सिटौलाको उम्मेदवारी थियो,’ पुरानो संस्थापन पक्षकै एक केन्द्रीय सदस्य भन्छन, ‘त्यतिबेला व्यवस्थापन गर्न नसक्दा कांग्रेसको मूलधार कमजोर बन्न पुग्यो ।’
पौडेल सिटौला समूहलाई कमजोर बनाउन लागेका त छन्, तर उनीसँग आक्रोशबाहेक कुनै रणनीतिक योजना छैन । तर, पौडेल पक्षीय नेताहरू सिटौला समूह आफंै समाप्त हुने दाबी गर्छन् । ‘उनीहरूको उद्देश्य पुरानो संस्थापनलाई कमजोर बनाउने मात्रै हो,’ पौडेलनिकट एक केन्द्रीय सदस्यले भने, ‘तेस्रो धार भने पनि सिटौला पूर्णतस् सभापति देउवा समूहमै गइसकेका छन् ।’
सिटौलाको पौडेलप्रति अन्तर्मनमा आक्रोश त छ तर सार्वजनिक रूपमा देखाउन चाहँदैनन, बरु रणनीतिक योजनाका साथ पौडेललाई कमजोर बनाउन उद्यत छन् । पौडेलले पुरानो संस्थापनलाई नेतृत्व दिएर सबैलाई अडयाउन नसक्ने निष्कर्षमा सिटौला पुगेका छन् ।पार्टी सभापति र पौडेल दुवै पक्षबाट असन्तुष्ट कार्यकर्तालाई आफ्नो समूहमा हुल्न सकिने योजनाका साथ उनले काम गरिरहेका छन् । पौडेल समूहमा कोइराला परिवारका सदस्य हावी हुने भएकाले भावी दिनमा गणेशमान पुत्र प्रकाशमान सिंहसमेत रहन नसक्ने अनुमान सिटौलाको छ । त्यस्तो अवस्था आए नेता सिंह आफूसँगै सहकार्य गर्न आउने अनुमान सिटौलाले गरेका छन् ।
उनले भ्रातृ संस्थाभित्र पनि पौडेलभन्दा आफ्नो समूह बलियो बनाउँदै लगेका छन् । ‘पुरानो संस्थापनलाई धराशायी बनाएर आफ्नो समूहलाई बलियो बनाउन सकिने आत्मविश्वास सिटौलाले लिएका छन्,’ उनी निकट एक नेताको दाबी छ, ‘कुर्सीको लडाइँमा आ–आफने अस्तित्वका लागि जोसुकैलाई पनि नेता मान्न सकिने अवस्था आउन सक्छ ।’
कांग्रेस सभापति देउवा पुरानो संस्थापन पक्षको दुइटा पोललाई कायमै राख्न सके आफूलाई सहज हुने ठम्याइमा छन् । तेस्रो धारका रूपमा सिटौलालाई उभ्याइराख्दा पौडेल पक्षसँग सम्झौता गर्दै अघि बढ्न सहज हुने उनको बुझाइ छ ।
‘कांग्रेसभित्र समकालीन नेताहरू धेरै भएकाले भविष्यमा कस्तो खाले समीकरण बन्छ भन्ने अवस्था अहिल्यै अनुमान लगाउन सकिन्न,’ पछिल्लो समय सिटौला निकट पुगेका केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, ‘यतिबेला पार्टी्भित्रका सबै समूह आ–आफ्नो अस्तित्व देखाउने अभियानमा छन् ।’
- कान्तिपुरबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्