×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कसरी हुँदै छ नेपालीसँग रहेका भारु नोटको व्यवस्थापन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कसरी हुँदै छ नेपालीसँग रहेका भारु नोटको व्यवस्थापन ?

२६ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

बैंकिङ प्रणालीभन्दा बाहिर रहेका पाँच सय र हजार दरका भारतीय नोटको व्यवस्थापन अन्योलमा छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग रहेको भारु व्यवस्थापनका लागि भारतसमक्ष अनुरोध गरेको भए पनि जनतासँग भएको रकम के गर्ने भन्ने विषय छलफलमै आउन सकेको छैन । ‘बैंकिङ प्रणालीमा रहेको भारु व्यवस्थापनका लागि भारतीय रिजर्व बैंक (आरबिआई) सँग अनुरोध गरिएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘वित्तीय संस्थाभन्दा बाहिर रहेका नोटको व्यवस्थापन कसरी गर्ने भन्ने अझै टुंगो लागेको छैन ।’ 
भारतले यी दुई दरका नोटमाथि प्रतिबन्ध लगाएको तीन दिन बित्दा पनि नेपाली जनतासँग भएको पैसा व्यवस्थापन कसरी गर्ने भन्ने कुै टुंगो लाग्न नसकेको हो । नेपालका बैंक तथा वित्तीय संस्थासँग यी दुई दरका तीन करोड ३६ लाख भारु छ । त्यसबाहेक जनतासँग भएको रकमको अहिलेसम्म कुनै टुंगो लागेको छैन । ‘बैंकसँग भन्दा जनतासग भारु धेरै छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘वित्तीय प्रणालीमा भएको भारु त साटिन्छ ,तर हामीलाई समस्या भनेकै त्यही रकमको व्यवस्थापन गर्नु हुनेछ ।’ 
भारतीय बजारमा प्रतिबन्ध लागेकै भोलिपल्ट अर्थात बुधबारबाट नेपाल राष्ट्र बैंकले यी दुई दरका नोट नलिन बैंकलाई निर्देशन दिइसकेको छ । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले कारोबार रोकिसकेका छन् । ‘जनतासँग रहेको २५ हजार रुपैयाँसम्म साटिदिन त अनुरोध गरेका छौं, तर उनीहरुको केही जवाफ आएको छैन,’ ढुंगानाले भने, ‘भारतीय रिजर्ब बैंकसँग पनि कुरा भएको छ, तर उनीहरु एक्लैको निर्णयले नहुने भएकाले केही प्रतिक्रिया आएको छैन ।’ 
अर्थमन्त्री र गभर्नरबीच छलफल 
भारतले ठुला दरका नोटमा प्रतिबन्ध लगाएपछि अर्थमन्त्री कृष्णबहादुर महरा र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालबीच विहीबार छलफल भएको छ । अर्थमन्त्रीले गभर्नरलाई कार्यकक्षमा नै बोलाएर छलफल गरेका हुन् । राष्ट्र बैंकले अर्थ मन्त्रालयसँगकै सल्लाहमा भारुको सटही रोकेको भन्दै अर्थमन्त्री महराले भारतसग पनि कुटनीतिक पहलमै यो विषय टुंगो लगाने बताए । ‘भारतले यी दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा भएका रकम कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल कुराकानी भएको हो,’ उनले भने, ‘वित्तीय प्रणालीभन्दा बाहिर रहेका रकम कसरी व्यवस्थापन गर्ने, कुटनीतिक हिसाबबाट कुरा अगाडि बढाउनुस् भनेको छु ।’ 
राष्ट्र बैंकको छुट्टै पहल
 भारु व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले विहीबार भारतीय समकक्षी डा. उर्जित पटेललाई पत्राचार गरेका छन् । नेपालमा रहेका यी दुई दरका भारु व्यवस्थापनका लागि गभर्नर नेपालले आफ्ना समकक्षीलाई पत्राचार गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । पत्रमार्फत गभर्नर नेपालले नेपालमा उत्पन्न भएको अन्यौल अवस्थाको अन्त्य गरिदिन वित्त मन्त्रालयमार्फत पहल थाल्न भारतीय रिजर्ब बैंकलाई आग्रह गरेका छन् । दुई दिनको अन्तरमा राष्ट्र बैंकले आरबिआईलाई दोस्रो पत्र पठाएको हो । राष्ट्र बैंकको चिठी परराष्ट्र हुँदै आरबिआईसम्म नेपाल राष्ट्र बैंकले परराष्ट्र मन्त्रालयमार्फत भारतीय रिजर्भ बैंक (आरबिआई) समक्ष पत्राचार गरेको छ । राष्ट्र बैंकले अर्थ मन्त्रालयमार्फत पठाएको पत्र अर्थले परराष्ट्रलाई पठाएको थियो । परराष्ट्रले पत्र आरबिआईलाई पठाएको भए पनि जवाफ भने आइनसकेको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु देवकोटाले बताए । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्म ढुंगानाले आफ्ना भारतीय समकक्षीलाई लेखेको पत्र भने आरबिआई पुगेको छ । 
छलफल गर्दै छौँ रुबी जसप्रित शर्मा, प्रवक्ता, भारतीय दूतावास काठमाडौं
 पाँच सय र हजार दरका भारतीय रुपैयाँको प्रतिबन्धपछि नेपाल राष्ट्र बैंकका अधिकारीहरूसँग हामीले छलफल गरेका छौँ । २५ हजार रुपैयाँसम्म ल्याउन पाइने यसअघिको व्यवस्थाका कारण नेपालीसँग केही पैसा हुन सक्छ । त्यसको व्यवस्थापनका विषयमा हामीले छलफल गरेको भए पनि कुनै निष्कर्ष भने निस्किएको छैन । यो निर्णय भारत सरकारको निर्णय भएकाले हामीले मात्रै भनेर हुँदैन । भारत सरकार र आरबिआईबाट नै यस विषयमा आधिकारिक निर्णय आएपछि हामी सार्वजनिक गर्छौँ । अर्कोतर्फ दुई देशका सीमावर्ती बजारमा पनि ठूलो कारोबार हुने गरेको छ । त्यसका माध्यमबाट पनि भारु भित्रिएको हुन सक्छ । यसबारे माथिल्लो निकायले निर्णय गरेपछि मात्रै हामी थप कुरा सार्वजनिक गर्छौँ । -नयाँ पत्रिका 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी