
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – विहाहको मौसम सुरु भएको छ । विशेषगरी बैशाख र मङ्सिरलाई विवाह गर्ने राम्रो समयका रुपमा लिइने गरिन्छ । तर त्यहि विवाहको समयमा थुप्रै ठाउँमा बेहुला बेहुलीहरु ठगिने गरेका छन् । खर्च गर्नेनै समयको रुपमा लिइने गरेको भएपनि विवाहको मौसममा किनमेल गर्न जाँदा ग्राहकहरु ठगिने गरेका छन् । कपडादेखि पार्टी प्यालेससम्म ग्राहकहरु ठगिनेगरेका छन् ।
कपडामा धेरै ठगिन्छन् ग्राहक
विवाहको खर्च सूची लामै भएपनि किनमेल, पार्टी प्यालेस र सुनमा सबैभन्दा बढी खर्च हुन्छ । यही ग्राहक ठगिन्छन् । त्यसबाहेक ग्राहक कपडामा पनि उत्तिकै ठगिन्छन् हुन्छ । विशेषगरी बेहुलीका लागि किनिने सारी, ब्लाउज, भित्री कपडा, र बेहुलाका लागि किनिने दौरा सुरुवाल, वा सुट पाइन्टको मूल्य व्यापारी मनलाग्दी लिन्छन्। विवाहको मौसममा ग्राहक त्यति धेरै मोलमोलाईतिर पनि लाग्दैनन् ।
काठमाडौँका विभिन्न पसलहरुमा राखिएका उही प्रकृतिका सामानहरुमा पनि मूल्यको भिन्नता निकै हुने गरेको छ । आफ्नी छोरीको विवाहका लागि न्युरोडमा किनमेलका लागि पुगेकी काभ्रेपलाञ्चोककी सुमित्रा सत्यालले फरक फरक पसलमा फरक–फरक मुख्य माइन । भन्छिन्, ‘भाउमा मनलाग्दी छ । उही सामानको पनि पसलै पिच्छे फरक–फरक भाउ छ । विवाह भन्ने बित्तिकै महँगो लिइन्छ ।’ उनका अनुसार न्युरोडका फरक–फरक पसलमा सारी, ब्लाउज र महिलाले प्रयोग गर्ने भित्री कपडाको भाउ फरक–फरक छ ।
उनी तीन पसल गइन् । एउटै सारीको ३ मूल्य पाइन् । भनिन्, ‘एउटा पसलमा २२ हजार भनेको त्यही सारी दोश्रो पसलमा २९ हजार र तेश्रो पसलमा १६ हजार भनियो । व्यापारीको मनोमानी रहेछ । शुल्कमा एकरुपता देखिएन।’ सुमित्राको कुरा सन्दा ‘बार्गेनिङ’ गर्नेले सस्तोमा समान पाउँछन्, नसक्नेको ढाड सेकिन्छ ।
आफनै विवाहको किनमेलमा आफ्नी आमासँगै न्युरोडमा भेटिएकी सृजना सत्यालले कम बोल्ने वा बार्गेनिङ गर्न नसक्नेलाई व्यापरीले महँगो शुल्क लिने गरेको सुनाइन् । ‘२६ हजार भनेको सारी एकछिन् बार्गेनिङ गर्दा १८ हजारमा दिए’ उनले भनिन्, ‘नबोल्ने हो भने त यही नै ठगिने रहेछ । मूल्यमा एकरुपता भए पो जहाँ किने पनि हुने थियो ।’ विवाहमा धेरै खपत हुने कपडा हो सुट पाइण्ट । अहिले काठमाडौँका विभिन्न स्थानमा उही कपडापनि फरक–फरक मूल्यमा विक्री हुने गरेका छन् । जसको असर, सोझा ग्राहक ठगिने गरेका छन् ।
कोटेश्वरस्थित एक टेलरिङ हाउस संचालन गरेका सुजन परियारले सुटको एउटै कपडामा पनि फरक–फरक मूल्य हुनु काठमाडौँमा सामान्य जस्तो भइसकेको बताए । बार्गेनिङ गर्न सक्नेले सस्तोमा पाउने र अरु ठगिने गरेको कुरा धेरै हदसम्म सत्य भएको उनले बताए । ‘एउटा पसलमा ८ हजार मा पाइने उही कपडाको तयारी सुट कुनै पसलमा १६ हजारसम्म पनि पर्छ । यही तयारी सुटको भन्ने भाउ पनि झन्डै १० हजार हो ।’ उनले भने, ‘अव ग्राहकले कति बार्गेनिङ गर्छ, त्यही कुरामा भर पर्छ ।’
विवाहका लागि भनेपछि व्यापारीले केहि महँगो दर राख्नु सामान्य हो । विवाह खर्चनै गर्ने अवसर मानिन्छ, जसको लाभ व्यपारी मंहगो मूल्यमा समान बेचेर लिन्छन् ।
पार्टी प्यालेसमा उस्तै
विवाहका लागि अर्को आवश्यक कुरा हो भोज । धेरै सुविधा हुने र चलनचल्तीमा पनि रहेकाले विवाहका लागि पार्टी प्यालेस सजिलो र उत्तम विकल्प मानिन्छ । तर, काठमाडौँका पार्टी प्यालेसमा पनि मनलाग्दी शुल्क छ । सामान्यता : काठमाडौँमा खानाको सूची हेरेर प्रति प्लेट ३०० रुपैयाँदेखि प्रति प्लेट ४५ सय रुपैयाँ सम्मको खानाका विकल्प छन् । तर, एउटै मेनुका खाने कुरा पनि ठाउँ हेरेर फरक हुन्छ । यही हो ग्राहक ठगिने ।
कतिपय पार्टी प्यालेसले खानामा सामान्य मूल्य सूची राखेपनि आफ्नो पार्र्टी प्यालेसको ठाउँको भाडा निकै महँगो राख्ने गरेका छन् । यता यी पार्टी प्यालेसमा खुवाइने खाना सम्बन्धि खास मापदण्ड नहुँदा र भएको मापदण्डको समेत अनुगमन नहुँदा ग्राहक मर्कामा पर्ने गरेका छन् । कतिपय पार्टी प्यालेसमा बढी भएका खानेकुरा काठमाडौँका विभिन्न रेस्टुराँमा समेत खपत हुने गरेका छन् । काठमाडौँ नक्सालमा एक पार्टी प्यालेस संचालन गरिरहेका बुद्धकुमार तामाङ भन्छन्, ‘सबै ठाउँमा एउटै मूल्यसूची हुन्छ भन्ने त छैन । तर कतिपय पार्टी प्यालेसले अलि मंहगो नै शुल्क लिएको पक्कै हो ।’
तामाङ विवाहमा खर्च गर्नु पर्ने भन्ने मानसिकतामा हुन्छन ग्राहक ।सजिलो र राम्रो ठाउँ भएपछि शुल्कमा ग्राहकले खासै ध्यान नदिने र यसैका फाइदा पार्टी प्यालेस संचालकले उठाउने गरेको उनी बताउँछन् । उनका अनुसार खाना बाहेक काठमाडौँका पार्टी प्यालेसमा ठाउँको शुल्क भनेर ८ हजार देखि २५ हजार रुपैयाँ सम्म अतिरिक्त लिने गरिन्छ । अझ पार्किङ्ग गर्ने ठाउँ बढी भएका पार्र्टी प्यालेसले त अझ् बढी शुल्क लिने गरेका छन् ।
फोटो र भिडियोको आ–आफ्नै रेट
पछिल्लो समय विवाहमा अनिवार्यजस्तै मानिएको फोटो र भिडियो खिचाईको पनि बजारमा आ–आफ्नै दर छन् । प्रतिदिन ३ हजार देखि २० हजार लिने गरिएको छ । प्याकेजमा पूरै विवाहको १० हजारदेखि ६० हजारसम्म लिएर भिडियो खिच्ने बजारमा पाइन्छन् । यता विवाहमा फोटो खिच्नेको दर पनि आ–आफ्नै छ । बजारमा दिनको २ हजार देखि २५ हजारसम्म लिएर फोटो खिच्ने ‘फोटोग्राफर’ पाइन्छन् । फोटो वा भिडियो खिचेको कति पैसा लिने भन्ने कुनै निश्चित मापदण्ड छैन । तर, कतिपयले ग्राहकको ढाडनै सेकिने गरी महँगो शुल्क लिने गरेका छन् । बजारमा विशेष त फोटो स्टुडियोले महँगोमा काम लिने र सस्तोमा खिच्ने मान्छे खोजेर काम लगाउने हुनाले पैसा तिरे अनुसारको गुणस्तर भने पाउने गरेका छैनन् ।
बेहुली सिंगार्ने ब्युटिसियनपनि महँगा
विवाहका लागि बेहुली सिंगार्ने ब्युटीसियनको दर पनि महँगो नै छ । काठमाडौँमा स्थान हेरेर प्रतिदिन ३५ सय देखि १ लाख रुपैयाँ लिएर बेहुली सिन्गारिदिने ब्युटीसियन पाइने गरेको छन् । आफ्नो कला वा माग अनुसार विभिन्न ब्युटिशियनले आफ्नो दर राखेका छन् । कतिपय ब्युटी पार्लरहरुले एकै दिन बढी विवाहमा जानु परेको खण्डमा सिकारुलाई पठाउने गरेका छन् । तर, पैसा भने बढीनै लिने गरेको समेत पाइएको छ । यसरी बढी पैसा लिने तर कम गुणस्तरको सेवा दिएर कतिपय ब्युटिसियन वा ब्युटी पार्लरले समेत सेवाग्राहीलाई ठग्ने गरेको गुनासो सेवाग्राहीको छ ।
बाजाको पनि मापदण्ड छैन
विवाहका लागि धेरैले आवश्यक ठान्ने अर्को चिज हो, बाजा । पन्चेबाजा, ब्याण्ड बाजा लगायतका विभिन्न बाजाको आ–आफ्नै दर छ । बजारमा २० हजारदेखि १ लाख रुपैयाँ सम्ममा बाजाको टोलीले काम गर्ने गरेको बताइएको छ । तर, एउटै टोलीले पनि कम वा बढी शुल्कमा काम गर्ने गरेको पाइएको छ । केहि समयअगाडि मात्र आफ्नो विवाह गरेका रितेश पौडेलले भने, ‘बाजामा पनि मनलाग्दी शुल्क रहेछ । गत माघमा मेरो विवाहभन्दा २ साता पछाडी मात्र विवाह गरेको मेरो साथीले मेरो विवाहमै आएको टोलीलाई मैले दिएकोभन्दा १४ हजार बढी दिएको रहेछ । व्यापार मौसमी व्यापार हुने गरेकाले बाजामा निश्चित मुल्य छैन । वाध्यबाधकहरुले भने फरक–फरक शुल्क हुनु सामान्य कुरा भएको बताउँछन् । कोटेश्वरमा एक ब्याण्ड बाजा टोलीको नेतृत्वकर्ता आदित्य परियार भन्छन्, ‘धेरै ठाउँबाट कुरा आएको छ भने महँगो भनिन्छ, खाली भइयो भने सस्तोमा पनि बजाइन्छ । यो काठमाडौँमा सामान्य हो ।’
भाडाका गाडीमा पनि ठगी
विवाहमा आफ्नै गाडी नहुनेले भाडामै भएपनि गाडी लाने गरेका छन् । यसरी भाडाका गाडीको पनि आ–आफ्नै शुल्क छ । बजारमा दिनको ५हजार देखि २० हजार सम्ममा कार भाडामा पाइन्छन् । जन्ती लैजाले गाडी १५ हजार देखि ५० हजारसम्म वा दुरी हेरेर गाडीको भाडा तोकिने गरेका छन् । पछिल्लो समय तेल अभावलाई कारण देखाएर बढी शुल्क पनि लिइने गरेको पाइएको छ । यसरी विवाहमा ‘रिजर्भ’ गरिने गाडीको भाडामा यातयात व्यवसायी संघले पनि कुनै हस्तक्षेप गर्दैन । नगर्ने हुनाले कतिपय ग्राहकहरु गाडि वा बसको भाडामा पनि ठगिने गरेका छन् ।
पुरोहितको माग ‘इच्छा’
हिन्दु परम्परामा पुरोहित विना विवाह सम्पन्न हुँदैन । पुरोहितको पनि विवाहमा दर राम्रै हुन्छ । तर, विवाह कतिमा गर्ने भन्ने उनीहरुको रेट भने हुँदैन । आफ्ना चलन चल्तीमा आएका वा सबैखाले काम गरिदिने पुरोहित विवाहका लागि रोजिन्छ । पुरोहितलाई दिइने पैसामा खासै ‘बार्गे्निङ’ हुँदैन । तर, एकभन्दा बढी जजमानकहाँ एकै पटक विवाह परेको खण्डमा एक पुरोहितले अर्को पुरोहितलाइ ‘खेताला’ को रुपमा पठाउँदा भने पैसाको मोलतोल हुने गरेको छ । यस्तो अवस्थामा भने कतिपय पुरोहितले दर नै तोकेर काम गर्ने समेत गरेको पाइएको छ ।
जताततै दलाल
बजारमा विवाहका लागि चाहिने विभिन्न सामानका लागि पनि दलाल सक्रिय छन् । विवाहमा प्रयोग हुने विभिन्न चीजमध्ये भिडियो खिचाउने र बाजाको टोली खोज्ने कुरामा बढी दलालको सक्रियता हुने गरेको छ । कतिपय पार्टी प्यालेसले प्याकेजमै यी कार्य गर्ने र काम गर्नेलाई मर्कामा पारेर सेवाग्राहीबाट भने राम्रो पैसा असुल्ने गरेको पाइएको छ । यस्ता कामको अनुगमन नहुँदा मौसमी रुपमा सेवाग्राही ठगिने गरेका छन् । विवाह खर्च गर्ने उत्सवकै रुपमा लिइने हुनाले यस्तो कुरामा धेरैले चासो राखेको पाइदैन । तर, ऋण नै गरेर विवाह गर्नेहरुलाई भने दलालको फन्दामा पर्दा अफ्ट्यारो हुने गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्