काठमाण्डौ – युवा स्वरोजगार कार्यक्रमअन्तर्गत अछाम जिल्लामा लगानी गरिएको एक करोड रुपैयाँ जोखिममा परेको छ । कृषि विकास बैंक मंगलसेन शाखा कार्यालयले ७४ जनालाई दिएको रकम जोखिममा परेको हो । सरकारी योजनाअनुसार कृषि कार्यालयले न्यूनतम एक लाखदेखि तीन लाखसम्म विना धितो दिएको थियो ।
२०६९ देखि २०७० असारसम्ममा खुद्रा व्यापार, कुखुरा, गाई, भैंसीलगायत आयमूलक कार्यक्रमका लागि उनीहरुले रकम लगेका थिए । ऋण लिएका कसैले पनि व्यवसाय गरेका छैनन् । मासिक १२ प्रतिशत ब्याजमा विना धितो नागरिकता र तमसुकमात्र गराएर दिएको रकम डुब्ने खतरा बढेको कृषि विकास बैंकले जनाएको छ । कतिपय ऋणीहरु व्यवसाय बन्द गरेर भारत पलायन भइसकेका छन् ।
रकम लगेका केही व्यक्तिबाहेक अधिकांशले ब्याजसमेत नबुझाएको कृषि विकास बैंक मंगलसेन शाखाका प्रबन्धक ९म्यानेजर० दीपक कुँवरले जानकारी दिए । ऋणीमध्ये पाँच प्रतिशतले मात्रै रकम सदुपयोग गरेको र बाँकी सबै रकम दुरुपयोग भएको अनुगमन बैंकको छ । ‘लगानीको खासै उपलब्धि देखिएको छैन, रकम लगेकामध्ये कतिपयले व्यवसायसमेत गरेका छैनन्’, कुँवरले भने, ‘फिर्ता आउला भन्ने छाँट देखिँदैन, लगानी डुब्ने देखिन्छ ।’
जिल्लाको चण्डिका गाविस ३ का रतन नगारजीले बैँकबाट ऋण लिएको केही दिनमा फेन्सी पसल खोले पनि अहिले बन्द अवस्थामा छन् । पसल बन्द भएको कारण ऋण तिर्न समस्या परेको उनको भनाइ छ । जनालिकोट गाविस– ५ का सुरत सुनारले पनि युवा स्वरोजगार कोषबाट लिएको पैसा सदुपयोग भएको देखिएको छैन । ‘पहिला पनि मंलगसेनमा सुनचाँदी पसल थियो, ऋण लिएपछि फेरि सुनचाँदी पसल खोलेँ’, सुनारले भने, ‘पछि युवा स्वरोजगार कोषबाट थप ऋण लिएर सञ्चालन गरेको नचलेर अहिले बन्द छ ।’
मंगलसेन नगरपालिका ५ स्थित सरस्वती नेपाली पनि स्वरोजगार कोषबाट ऋण पाउने भाग्यमानीमध्येकी हुन् । उनले आफूले चलाइरहेको सिलाइकटाइ पसल देखाएर ऋण लिए पनि अहिले त्यो पसल बन्द छ । चण्डिका गाविस वडा नं। ५ का एदिन मियाले पनि कुखुरा पोल्टीफार्मका लागि ऋण लिएका थिए । अहिले मिया मासु खानुपर्दा पसलमा पुगेर कुखुराको मासु खरिद गर्छन् । किनकि ऋण लिएर उनले कुखुरा पालन नै गरेका छैनन् ।
षोडषा गाविस ४ का हिरा बहादुर कडायतले पनि ऋण लिँदा गरेको कबुलअनुसार व्यवसाय सञ्चालन गरेका छैनन् । बाख्रापालनका लागि बैंकबाट ऋण लिएका कडायतको घरमा एउटा पनि बाख्रा छैन । बर्दादेवी गाविस ८ का रामबहादुर साउदलगायतका सबै ऋणीले जुन काम गर्न युवा स्वरोजगार कोषबाट पैसा लिएका थिए, त्यो कुनै पनि काम गरेको छैन । बैँकका प्रबन्धक कुँवरका अनुसार स्वरोजगार बन्न ऋण लिने कैैयौँ ऋणी अहिले भारतमा रोजगारीका लागि पुगेका छन् । ‘कैयौं ऋणी अहिले नेपालमा नभाएको नेपाल टेलिकममा नभएको नम्बर समेत बैँकमा दिएको पनि पाइयो’, कुँवरले भने, ‘बैँकबाट कर्जा लिने ऋणीले गलत फोन नम्बर दिएको ऋणीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क गर्न सकिएको छैन ।’
२०६५ सालमा नेकपा ९माओवादी० नेतृत्वको सरकारले बेरोजगार युवालाई विना धितो सस्तो ब्याजदरमा दुई लाखसम्म ऋण उपलब्ध गराउन ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष २०६५’ कार्यक्रम घोषणा ग(यो । कार्यक्रमको उद्देश्य सीप र जाँगर भएका तर पैसा नभएका युवालाई रोजगारीको अवसर सिर्जना गर्नु थियो । तर, कार्यक्रम सञ्चालनको तरिका र त्यसको प्रतिफल उद्देश्यभन्दा फरक पाइएको छ ।
आर्थिक दैनिकबाट